Logo

अर्थ

नबिल बैंकले मोरङको २ बिघा १० कठ्ठा जग्गा स्विस च्यालेन्जमार्फत लिलामी गर्दै, मूल प्रस्ताव १ करोड ५३ लाख



काठमाडौं । नबिल बैंक लिमिटेडले कर्जा असुलीका लागि मोरङमा रहेको करिब २ बिघा १० कठ्ठा जग्गा लिलामी गर्ने भएको छ। बैंकले स्विस च्यालेन्ज (Swiss Challenge Auction Model) प्रक्रियामार्फत उक्त जग्गा बिक्री गर्न सातदिने गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको छ।
बैंकले मंसिर ८ गते प्रकाशित गरेको सार्वजनिक सूचनाअनुसार उक्त जग्गा खरिदका लागि एक मूल प्रस्तावकर्ताले १ करोड ५३ लाख रुपैयाँ कबोल गरेका छन्। अब सो रकमभन्दा बढी मूल्य प्रस्ताव गर्ने इच्छुक व्यक्ति, कम्पनी तथा संस्थाले प्रतिस्पर्धी बोलपत्र पेस गर्न सक्नेछन्।
बैंकका अनुसार ऋणीले विभिन्न शीर्षकमा लिएको कर्जाको साँवा, ब्याज तथा हर्जाना तोकिएको समयभित्र भुक्तानी नगरेपछि धितोमा रहेको सम्पत्ति लिलामी गर्न लागिएको हो। बैंकले यसअघि पटक–पटक मौखिक तथा लिखित ताकेता गर्नुका साथै २०८३ साउन २८ गते नेपाल समाचारपत्रमा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरी कर्जा चुक्ता गर्न अवसर दिएको थियो। तर, उक्त अवधिमा समेत ऋण भुक्तानी नभएपछि धितो लिलामी प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ।
लिलामीमा राखिएको जग्गा मोरङ जिल्लाको साविक जुतबा कठकुप्पा गाविस वडा नम्बर १, नक्सा सिट नम्बर १क मा रहेको छ। विवेश कार्कीको नाममा दर्ता रहेको उक्त जग्गा बैंकको पक्षमा दृष्टिबन्धक पारित भई रोक्का रहेको सूचनामा उल्लेख छ।
बैंकले कित्ता नम्बर १६९५, १६९१, २२९७, २२९८, १३४५, १०५०, १०५१, १०५२ र १०५३ का जग्गा लिलामी गर्न लागेको हो। उक्त जग्गामा जडित सम्पूर्ण लिगलगापातसमेत बिक्रीमा समावेश हुने बैंकले जनाएको छ।
प्रतिस्पर्धी बोलपत्रदाताले मूल प्रस्तावकर्ताले कबोल गरेको १ करोड ५३ लाख रुपैयाँभन्दा बढी रकम प्रस्ताव गर्नुपर्नेछ। आफूले कबोल गरेको रकमको कम्तीमा १० प्रतिशत बराबरको रकम धरौटी राखेर मात्र बोलपत्र पेस गर्न सकिने व्यवस्था गरिएको छ। धरौटीका लागि अन्य बैंक तथा वित्तीय संस्थाको ड्राफ्ट, म्यानेजर चेक, बैंकर्स चेक, बैंक जमानत वा नबिल बैंकको नाममा जारी गरिएको ‘गुड फर पेमेन्ट’ चेक प्रयोग गर्न सकिनेछ।
बोलपत्र फाराम बैंकको केन्द्रीय कार्यालयस्थित कर्जा असुली विभाग, बिजुलीबजार काठमाडौं वा विराटनगर रंगेली रोड शाखा, मोरङबाट १ हजार रुपैयाँ शुल्क तिरेर प्राप्त गर्न सकिनेछ। प्रतिस्पर्धी प्रस्ताव २०८३ मंसिर १४ गते दिउँसो ४ बजेसम्म बुझाइसक्नुपर्नेछ। प्राप्त प्रस्ताव मंसिर १५ गते दिउँसो ३ बजे विराटनगर रंगेली रोड शाखामा खोलिने बैंकले जनाएको छ।
स्विस च्यालेन्ज प्रक्रियाअन्तर्गत प्रतिस्पर्धीले मूल प्रस्तावभन्दा बढी रकम कबोल गरेमा बैंकले उक्त प्रस्तावको जानकारी मूल प्रस्तावकर्तालाई दिनेछ। त्यसपछि मूल प्रस्तावकर्ताले प्रतिस्पर्धीले कबोल गरेको रकमभन्दा बढी मूल्य प्रस्ताव गरी सम्पत्ति खरिद गर्न चाहेमा उसलाई प्राथमिकता दिइनेछ। मूल प्रस्तावकर्ताले बढी रकम कबोल नगर्ने जानकारी दिएपछि दोस्रो प्रतिस्पर्धी बोलपत्रदातालाई सम्पत्ति खरिदको अवसर प्रदान गरिने व्यवस्था छ।
यद्यपि, कुनै प्रस्ताव स्वीकार गर्ने, अस्वीकार गर्ने वा आंशिक रूपमा स्वीकार गर्ने अन्तिम अधिकार बैंकमै रहनेछ। बैंकलाई प्रस्ताव चित्त नबुझेमा वा लिलामी प्रक्रिया उपयुक्त नलागेमा बोलपत्र रद्द गर्न सक्ने व्यवस्था पनि सूचनामा राखिएको छ।
बोलपत्र स्वीकृत भएको जानकारी प्राप्त गरेको मितिले १५ दिनभित्र खरिदकर्ताले धरौटी कट्टा गरी बाँकी सम्पूर्ण रकम बैंकमा बुझाउनुपर्नेछ। तोकिएको अवधिमा रकम भुक्तानी नगरेमा धरौटी रकम जफत गरिने बैंकले जनाएको छ। जग्गा नामसारी गर्दा लाग्ने सरकारी राजस्व, कर, पुँजीगत लाभकर, दस्तुर तथा अन्य सम्पूर्ण खर्च खरिदकर्ता आफैँले व्यहोर्नुपर्नेछ।
लिलामीमा राखिएको जग्गामा आवतजावत गर्ने बाटो अवरुद्ध हुने गरी प्रस्ताव पेस गर्न नपाइने सर्तसमेत बैंकले राखेको छ। बैंकले आवश्यकताअनुसार सम्पूर्ण वा आंशिक जग्गा मात्र सकार गर्न सक्नेछ।
बैंकले ऋणी तथा जमानीकर्तालाई लिलामी प्रक्रिया अन्तिम हुनुअघि नै सम्पूर्ण बाँकी कर्जा चुक्ता गर्ने अवसरसमेत दिएको छ। ऋणीले बोलपत्रसम्बन्धी प्रस्ताव सदर वा बदर हुनुअघि नै सम्पूर्ण बक्यौता भुक्तानी गरेमा लिलामी प्रक्रिया रद्द गरी बोलपत्रदाताको धरौटी रकम फिर्ता गरिने सूचनामा उल्लेख छ।
लिलामीबाट बैंकको सम्पूर्ण ऋण असुल हुन नसकेमा ऋणी तथा जमानीकर्ताको अन्य चल-अचल सम्पत्तिबाट समेत बाँकी रकम असुल गरिने बैंकले जनाएको छ। त्यस्तै, अदालत वा सम्बन्धित निकायबाट लिलामी रोक्का वा बदर गर्ने आदेश आएमा प्रक्रिया रोक्न सकिनेछ।
लिलामी प्रक्रिया सफल नभएमा वा कुनै बोलपत्रदाताले सम्पत्ति सकार नगरेमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार बैंक आफैँले उक्त सम्पत्ति गैरबैंकिङ सम्पत्तिका रूपमा सकार गर्न सक्ने व्यवस्था रहेको छ।
बैंकले लिलामीसम्बन्धी थप जानकारीका लागि केन्द्रीय कार्यालयको कर्जा असुली विभाग, बिजुलीबजार काठमाडौं वा विराटनगर रंगेली रोड शाखा, मोरङमा सम्पर्क गर्न इच्छुक बोलपत्रदातालाई आग्रह गरेको छ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलवार १४:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।