काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक गतिविधिलाई सहज बनाउन समयसापेक्ष नरहेका पुराना कानुन खारेज तथा संशोधन गर्नुपर्ने बताएका छन् ।
मङ्गलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको दफावार छलफलमा बोल्दै उनले पुराना कानुनका कारण अर्थतन्त्रमा अनावश्यक नियामकीय बोझ बढेको बताएका हुन् ।
अर्थमन्त्री वाग्लेले नयाँ कानुन थप्दै जाने तर पुराना कानुन संशोधन र खारेज गर्न ढिलाइ गर्ने प्रवृत्तिले आर्थिक गतिविधिमा अवरोध सिर्जना गरेको बताए । विभिन्न अध्ययन तथा प्रतिवेदनले सिफारिस गरेका १५ वटा ऐन खारेज गर्ने प्रस्ताव अघि बढाइएको उनले जानकारी दिए ।
उनका अनुसार नयाँ आयोग गठन गरेर थप अध्ययन गर्नुभन्दा यसअघि प्राप्त सुझाव कार्यान्वयन गर्दै कानुनी सुधारलाई अघि बढाइएको हो ।
वाग्लेले नियमन आवश्यक भए पनि अत्यधिक तथा एकआपसमा बाझिने कानुनी व्यवस्थाले आर्थिक गतिविधिलाई प्रभावित पार्न सक्ने बताए । एउटा कानुनले आर्थिक गतिविधि सहज बनाउने र अर्कोले नियन्त्रण गर्ने अवस्था अन्त्य गर्न पुराना कानुनको पुनरावलोकन आवश्यक रहेको उनको भनाइ छ ।
उनले तत्कालीन परिस्थिति र आवश्यकताका आधारमा निर्माण गरिएका कानुन आधुनिक प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा सान्दर्भिक छन् कि छैनन् भन्ने विषयमा पुनर्विचार गर्नुपर्ने बताए ।
अर्थ मन्त्रालयसँग सम्बन्धित प्रादेशिक विकास योजना कार्यान्वयन ऐन, २०१३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४, आय टिकट दस्तुर ऐन, २०१९, राजस्व चुहावट ऐन, २०५२ र वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन, २०५५ लगायतका ऐन खारेज गर्ने प्रस्ताव गरिएको छ ।
त्यसैगरी मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र भन्सार ऐन, २०६२ मा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि विधेयकमा समेटिएको छ ।
टिकट टाँस्ने व्यवस्था र कालोबजारीसम्बन्धी पुराना कानुनी प्रावधानको उदाहरण दिँदै अर्थमन्त्री वाग्लेले नयाँ उपभोक्ता संरक्षणसम्बन्धी कानुन आइसकेको अवस्थामा पुराना व्यवस्थाको औचित्यसमेत पुनरावलोकन गर्नुपर्नेमा जोड दिए ।



















प्रतिक्रिया