काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म वाणिज्य बैंकहरूले पर्यटन क्षेत्रमा प्रवाह गरेको कर्जा २ खर्ब ४२ अर्ब रुपैयाँ नाघेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पर्यटन क्षेत्रमा बैंकहरूको कर्जा लगानी ८.१९ प्रतिशतले बढेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार असोज मसान्तसम्म २० वटा वाणिज्य बैंकले पर्यटन सेवा क्षेत्रमा कुल २ खर्ब ४२ अर्ब ८१ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्ष २०८२/८३ को असोजसम्म यस्तो कर्जा २ खर्ब २४ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ थियो ।
२० वाणिज्य बैंकमध्ये १५ वटाको पर्यटन क्षेत्रमा कर्जा लगानी बढेको छ भने पाँचवटाको घटेको छ । कुल कर्जा रकमका आधारमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक अगाडि देखिएको छ । यद्यपि, तथ्यांकअनुसार वृद्धिदरमा कृषि विकास बैंक पहिलो स्थानमा छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले असोजसम्म पर्यटन क्षेत्रमा २४ अर्ब ७६ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । ग्लोबल आइएमई बैंकले २३ अर्ब ९७ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गर्दै दोस्रो स्थान हासिल गरेको छ । बैंकको यस्तो कर्जा गत वर्षको तुलनामा १४.०५ प्रतिशतले बढेको हो ।
त्यस्तै, प्राइम कमर्सियल बैंकले पर्यटन क्षेत्रमा २३ अर्ब १४ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा २० अर्ब ७४ करोड १६ लाख रुपैयाँ रहेको बैंकको कर्जा लगानी ११.५९ प्रतिशतले बढेको हो ।
पर्यटन क्षेत्रमा सबैभन्दा कम कर्जा प्रवाह गर्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकले समीक्षा अवधिमा ७६ करोड ८३ लाख रुपैयाँ मात्रै कर्जा लगानी गरेको छ । गत वर्षको तुलनामा बैंकको यस्तो कर्जा १०.३० प्रतिशतले घटेको हो ।
प्रतिशतका आधारमा सबैभन्दा धेरै कर्जा विस्तार गर्ने बैंक भने कृषि विकास बैंक बनेको छ । बैंकको पर्यटन क्षेत्रमा कर्जा लगानी गत वर्षको तुलनामा ५०.८९ प्रतिशतले बढेर १० अर्ब ७४ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया