Logo

समाचार

ग्यासको अभाव हुन नदिन आयल निगमको निर्देशन, आयातदेखि वितरणसम्म पूर्ण क्षमतामा काम गर्न आग्रह



काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको सहज तथा नियमित आपूर्ति सुनिश्चित गर्न ग्यास उद्योगहरूलाई आयातदेखि बजार वितरणसम्मका सबै चरण पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले मंसिर ८ गते पत्र जारी गर्दै देशभर ग्यासको आपूर्ति व्यवस्था सहज, नियमित र प्रभावकारी बनाउन उद्योगहरूलाई विभिन्न निर्देशन दिएको हो।
निगमले बजारको मागअनुसार एलपी ग्यासको आयात अधिकतम रूपमा बढाउन, उद्योगहरूको भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गरी पर्याप्त मौज्दात राख्न तथा भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाएर आपूर्ति प्रणालीमा ल्याउन भनेको छ।
त्यस्तै, ग्यास विक्रेतामार्फत बजारमा रहेका सिलिन्डरहरू पूर्ण क्षमतामा भरी उपभोक्तासम्म नियमित आपूर्ति सुनिश्चित गर्न पनि उद्योगहरूलाई निर्देशन दिइएको छ।
निगमले ग्यास आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन तीनवटा पक्षमा विशेष जोड दिएको छ। जसमा बजारको मागअनुसार आयात वृद्धि गर्ने, उद्योगहरूको भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गर्ने र बजारमा सिलिन्डरको सहज उपलब्धता सुनिश्चित गर्ने रहेका छन्।
निगमका अनुसार आयात, भण्डारण र वितरणबीच प्रभावकारी समन्वय कायम गरी आपूर्ति शृङ्खलामा अवरोध आउन नदिन यस्तो निर्देशन दिइएको हो।
यसैबीच, निगमले आम उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर सञ्चिति नगर्न आग्रह गरेको छ। साथै, ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिमा संलग्न नहुन पनि उपभोक्तालाई सचेत गराएको छ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार १३:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।