Logo

प्रमुख समाचार

पहिलो चरणमा जिल्ला अध्यक्ष–सचिवको सूची टुंगो लाग्दै, अन्तिम गृहकार्यमा नेकपाका शीर्ष नेता



दश महिनादेखि अल्झिएको एकीकरण प्रक्रियाको बाँकी काम केही दिनमै टुंगो लगाउने गरी नेकपाको शीर्ष तहमा ‘निर्णायक’ छलफल सुरु भएको छ ।प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच शीर्ष नेताले केही दिनभित्रै एकीकरण टुंगो लगाउने गरी बिहीबारबाट छलफल सुरु गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम सहभागी थिए । उनीहरूबीच अढाई घन्टा छलफल भएको हो ।

पहिलो चरणमा जिल्ला अध्यक्ष र सचिवको सूची टुंगो लगाउन सचिवालय बैठकमा अनुमोदनका लागि प्रस्ताव लैजाने गरी ‘निर्णायक छलफल’ अघि बढेको नेताहरूले बताएका छन् ।

‘एक–दुई दिनमै टुंगिन्छ कि टुंगिँदैन, तर फेरि छलफलको क्रम सुरु हुन खोजेको छ । विधि र मापदण्डका आधारमा पार्टीलाई एकताबद्ध गरेर लैजाने सोच हो भने छिट्टै टुंगिन सक्छ,’ बैठकपछि नेता नेपालले भने, ‘ढिलाइ भो, बैठक बसेन, भेटै भएन भने त हुन सक्दैन । तर, अहिले धेरै ढिलाइ भइसकेकाले दुई दिन होइन, आमचाहना एक दिनमै होस् भन्ने छ । अहिले त्यस दिशामै छलफल अघि बढ्ने सकारात्मक संकेत देखिएको छ ।’

एकीकरणको बाँकी कामसमेत टुंगो लगाउन बनेको नौ सदस्यीय कार्यदल भंग भएपछि नेकपाका शीर्ष नेताहरू छिटो एकीकरण टुंग्याउनुपर्ने दबाबमा छन् । एकीकरण अल्झिएपछि नेकपाको सांगठनिक गतिविधि ठप्प छ भने देशभरका करिब ८ लाख पार्टी सदस्य निष्क्रिय छन् ।

अध्यक्षद्वय ओली र प्रचण्डले गृहकार्य गरेर तयार पारेको जिल्ला अध्यक्ष र सचिवसहित जिल्ला कमिटीको सूचीमा शीर्ष नेताहरूले छलफल सुरु गरेका छन् । पूर्वएमाले र पूर्वमाओवादी समूहमध्ये एउटाले अध्यक्ष लिए अर्कोले सचिव लिने गरी बनेको प्रस्तावमा पालैपालो जिल्ला टुंगो लगाउँदै जाने दिशामा छलफल भइरहेको प्रधानमन्त्रीनिकट स्रोतले बतायो ।

‘दुई अध्यक्षले आ–आफ्नो समूहलाई समेटेर प्रस्ताव तयार पार्नुभएको छ । त्यही प्रस्तावमा अरू नेताहरूसँग पनि छलफल अघि बढेकाले लगातार यो क्रमले निरन्तरता पाउँदा अब दुई–तीन दिनकै बीचमा पहिलो चरणमा जिल्ला एकीकरण टुंगो लाग्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले जनायो ।

अध्यक्ष प्रचण्ड पत्नी सीताको उपचारका लागि अमेरिका जाने तयारीमा रहेकाले पनि पहिलो चरणमा केही दिनमै जिल्ला एकीकरण टुंगो लगाउने तयारी भइरहेको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार ०१:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।