Logo

प्रमुख समाचार

नयाँ विश्वविद्यालय सञ्चालनमा किन राेक लगाउने ? : नेपाली कांग्रेस



संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आवश्यकता अनुसार विश्वविद्यालय खोल्न दिइनुपर्ने बताएको छ ।विकास र सम्मृद्धिका लागि दक्ष जनशक्ति अपरिहार्य रहेको भन्दै कांग्रेसले विकास र सम्मृद्धिको नारा लगाएको सरकारले नयाँ विश्वविद्यालय सञ्चालनका लागि रोक लगाउन नमिल्ने तर्क गरेको छ ।

शंकरदेव क्याम्पस नेविसंघ इकाइले शनिबार राजधानीमा गरेको संघियतामा शिक्षा विषयक अन्तरक्रियामा काँग्रेस सभापति शेरबहादुर देउवाले धेरै विश्वविद्यालयहरु खोल्न दिइनुपर्ने धारणा राखेका हुन् ।

सभापति देउवाले धेरै विश्वविद्यालय सञ्चालनमा ल्याउनका लागि उपयुक्त र प्रभावकारी व्यवस्थापनको आवश्कता औँल्याए । काँग्रेसका उपसभापति बिमलेन्द्र निधीले नयाँ विश्वविद्यालय स्थापनाका लागि सरकारले यस सम्बन्धी कानुनी प्रक्रियालाई सहज बनाउनुपर्ने धारणा राखे ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कतिपय क्याम्पसहरु विश्वविद्यालय हुन सक्ने क्षमता राख्ने भन्दै उनले दर्जन बढीलाई सम्बन्धन दिन सक्ने गरी त्रिविको क्षमता विस्तार गरिनुपर्नेमा जोड दिए ।

धेरै विश्वविद्यालय खोल्दा गुणस्तरीयता कायम हुन सक्दैन भनेर नयाँ विश्वविद्यालयको अनुमति दिने सवालमा अनुदार हुन भन्दा सम्बन्धित र नियामक निकायबाट अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिए ।

विश्वभरका विकसित देशले दक्ष जनशक्ति उत्पादनलाई नै मुख्य प्राथमिकता दिने गरेको भन्दै उनले विषयगत विश्वविद्यालय नखुलेसम्म विकासले फड्को मार्न नसक्ने दावी गरे ।उनले व्यावहारिक र विषयगत विश्वविद्यालय सञ्चालनलाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार १४:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।