विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति दुई समूहबीच भएको झडपपछि प्रहरीले गरेको बल प्रयोगको विरोधमा सोमबार जिल्लाका विभिन्न स्थानमा प्रदर्शन भएको छ । कर्फ्यु जारी रहेकै अवस्थामा प्रदर्शन भएपछि कप्तानगन्जसहित इनरुवा र लौकही क्षेत्रमा अवस्था तनावग्रस्त बनेको छ।
आइतबार राति दुई समूहबीचको झडप रोक्ने क्रममा प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली १० जनालाई लागेको थियो । घाइते मध्ये २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । ९ जना विराटनगरको विभिन्न अस्पतालमा उपचाररत छन् ।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो । तर कर्फ्यु उल्लंघन गर्दै स्थानीयले विभिन्न स्थानमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले इनरुवा बजार क्षेत्रमा बन्द गराएर राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेको प्रहरीले जनाएको छ ।
प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्गको सुनसरी खण्ड अवरुद्ध छ । सुनसरी प्रहरी प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार प्रदर्शनकारीले राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । जसका कारण सवारी आवागमन रोकिएको छ ।
झडप र प्रहरी कारबाहीमा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् । स्थिति नियन्त्रण बाहिर जान नदिन कप्तागन्ज क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ ।




















प्रतिक्रिया