Logo

अन्तर्राष्ट्रिय

भारतीय लोकसभा चुनाव : गरिब परिवारलाई मासिक ६ हजार दिने कांग्रेसको घोषणा



आसन्न लोकसभा चुनावका लागि नीति सार्वजनिक गर्दै भारतीय कांग्रेसले देशका गरिब परिवारलाई मासिक ६ हजार रुपियाँ दिने घोषणा गरेको छ । यसले चुनावमा ठूलो सहयोग गर्ने कांग्रेसको अपेक्षा छ । यतिमात्र नभइ पुलवामा आक्रमणपछि भारतीय जनता पार्टीको पक्षमा देखिएको प्रशंसासमेत समाप्त हुने कांग्रेसको अपेक्षा छ ।

यो योजनाका बारेमा उठाइएको प्रश्नको जवाफ दिदैं कांग्रेस अध्यक्ष राहुल गान्धीले यसबाट देशको वित्तिय सन्तुलनमा कुनै असर नपर्ने बताएका छन् । यसलाई कांग्रेसले न्युनतम आय योजना नाम दिएको छ । कांग्रेस बिजेपी सरकारको पालामा भएको रोजगारीको कमी र खेतिको संकटका बारेमा पनि आलोचना गर्ने पक्षमा छ । तर बिजेपी राष्ट्रवादले त्यसलाई दबाउने प्रयासमा रहेको जनाइएको छ ।

राहुल गान्धीले जनवरीको एक र्यालीका क्रममा न्युनतम आयको अधिकारको पक्षमा आवाज उठाएको थियो । कांग्रेसले गरेको यो घोषणा २००४ देखि २०१४ सम्म युपिए गठबन्धनको सरकारको योजनाकै बिस्तारित रुप रहेको बताइएको छ । यस घोषणाअनुसार ६ हजारभन्दा कम आय भएकाहरुलाई कांग्रेसले सत्तामा आएपछि मासिक ६हजार दिनेछ । मासिक आय १२ हजार पुगेपछि यो घोषणाको स्कीम समाप्त हुनेछ ।

यसअनुसार कांग्रेसले यस योजनामा देशका अति गरिब २० प्रतिशत अर्थात् ५ करोड परिवार सहभागी हुने अपेक्षा गरेको छ । ५ करोड परिवार अर्थात् २५ करोड मानिस सामेल हुनेछन् । यसलाई २ चरणमा लागू गरिनेछ । पूर्व अर्थमन्त्री पि चिदम्बरम्ले यस योजनामा पहिले १.८ लाख करोड रुपियाँ लाग्ने बताएका थिए । यो रकम ती परिवारको मुख्य मानिसलाई दिइनेछ ।

अघिल्लो चुनावमा कांग्रेसले गरिब किसानको ऋणलाई मुद्दा बनाएको थियो, जसअनुसार चुनाव जित्नेबित्तिकै छत्तीसगढ, मध्यप्रदेश र राजस्थानका किसानको ऋण माफी गरेको थियो । धानको भण्डार मानिएको छत्तीसगढमा धानको मूल्य तोकेको थियो ।

प्रकाशित मिति : चैत्र १२, २०७५ मंगलबार  ६ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।