Logo

अन्तर्राष्ट्रिय

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 



एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ कार)को विकासलाई तिब्रता दिएको छ ।

चीनका विमानन कम्पनीहरूले व्यवहारिक रूपमा प्रयोग गर्न मिल्ने उड्ने कारको विकासमा समय र स्रोतसाधनको अधिकतम प्रयोग पनि गरिरहेका छन् ।  दक्षिणपश्चिम चीनको चेङ्दु सहरस्थित एक कम्पनीले सहरी यातायातका लागि ६ सिट क्षमताको विद्युतीय उड्ने कार विकास गरेको छ ।

यसको क्याविन समायोजन गर्न मिल्ने सिटहरू तथा बहुउद्देश्यीय सवारीका अन्य सुविधाहरू समावेश गरिएको छ । हाल यो कार उडानयोग्यता एवम प्रमाणिकरण प्रक्रियामा छ ।

एरोफुगियाका प्रवक्ता ल्याङ जिओङका अनुसार आरामदायी यो कारले अधिकतम २०० किलोमिटर दूरी तय गर्न सक्छ ।

यसैबीच, दक्षिण चीनको ग्वाङ्झाउस्थित अर्को कम्पनीले विकास गरेको उड्ने कारले सार्वजनिक रूपमा आफ्नो पहिलो परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ । यो पनि हाल उडानयोग्यता प्रमाणिकरण प्रक्रियामै छ ।

९५० किलोग्राम अधिकतम टेकअफ तौल तथा ८ मिटर लामो फ्युजलाज (मुख्य शरीर) र पखेटाको फैलावट भएको यो उड्ने कार सहर, समुद्र र पहाडी क्षेत्र पार गर्दै मध्यमदेखि लामो दूरीको यात्राका लागि डिजाइन गरिएको हो ।

कम्पनीका अनुसार यसमा कारजस्तै छेउबाट खुल्ने ढोका र दुईवटा सिट छन् । यसले भवनको छतबाटै उडान भर्न र अवतरण गर्न सक्छ । आठवटा प्रोपेलरले यसलाई ठाडो रूपमा जमिनबाट उचाल्छन्, भने पछाडिको पुशर प्रोपेलरले अगाडि बढ्न आवश्यक शक्तिशाली गति प्रदान गर्छ ।

विज्ञहरूकाअनुसार आगामी करिब एक दशकभित्र उड्ने कारहरू व्यापक रूपमा प्रयोगमा आउने अपेक्षा गरिएको छ ।(सीसीटीभीप्लस)

प्रकाशित मिति : १६ असार २०८३, मंगलवार १५:५२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।