Logo

प्रमुख समाचार

ओली र विप्लवको वाक युद्ध सूरु, कसले के भने ?



नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकार आफ्नै गलत रवैयाका कारण देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको आरोप लगाएको छ। प्रधानमन्त्री केपी ओलीले नेकपा संसदीय दलको बैठकमा सोमबार मात्रै पनि चैत महिनाभित्र विप्लवको पार्टीका गतिविधि नियन्त्रणमा लिइने बताए लगत्तै विप्लवले प्रेस विज्ञप्ति जारी गरी आक्रोश पोखकोछ।

ओली र विप्लव दुवैले सोमबार नै एक अर्कामाथि चैत महिनाको समयसीमा राखेर नियन्त्रण र निषेध गर्ने चेतावनी दिएपछि मुलुक थप द्वन्द्वतिर जाने सम्भावना बढेर गएको छ।

विप्लवले ‘केपी—प्रचण्डको सामाजिक दलाल सरकार दिनप्रतिदिन नेपाली श्रमिक जनतामाझ अलोकप्रिय, असफल र सङ्कटग्रस्त बन्दै गएको,तथा ुपार्टीमाथी प्रतिबन्ध लगाएर चरम फासीवाद लाद्न खोजेको’ पनि उल्लेख गरेका छन्।

प्रेस वक्तव्यमा भनिएको छ- ‘हाम्रो पार्टी राष्ट्रघाती, जनघाती, भ्रष्ट, ठग, मानवतस्कर, मजदुरमाराहरूलाई जनताको माग र चाहनाबमोजिम जनकारबाही गर्दै जाँदा आमजनताका बीचमा लोकप्रिय हुँदै गएपछि आफ्नो असफलता, बदनामी र सङ्कटलाई छोप्न कथित अशान्ति मच्चाएको, चन्दा उठाएको हवाला दिँदै नेपाली श्रमिक जनताको प्रतिनिधि हाम्रो गौरवशाली पार्टीमाथि प्रतिबन्ध घोषणा गर्दै चरम फासिवाद लाद्न पुगेको छ्।‘

सरकारले देशभित्र द्वन्द्व लादेर विदेशी लगानी भित्र्याउने हावादारी प्रचार गरेको विप्लवको आरोप छ। ‘यो कुनै सत्य नभएर विदेशी लगानीकर्ताहरूको पैसामा दलाली गर्ने र जनतामाथि लूट थोपर्ने नाटक मात्र हो भन्ने स्पष्ट गर्दछौँ। तथापि हाम्रो बन्द हाम्रै आन्तरिक विषय र दमनकारी सरकारको प्रतिरोध मात्र भएकाले १६ गतेको बन्दप्रति कुनै पनि अन्तर्राष्ट्रिय समुदायलाई भ्रमित र तरङ्गित नहुन आग्रह गर्दछौँ।’

चैत १६ को बन्दलाई चाहना नभई बाध्यता भएको भन्दै उनले विज्ञप्तिमा भनेका छन्, ‘नेपाल बन्द हाम्रो चाहना नभई फासिवादी दमनका विरुद्ध बाध्यता भएको जानकारी आमजनतामा गराउन चाहन्छौँ। यो बन्दले कक्षा १० का विद्यार्थीहरूको एसईई परीक्षालाई बाधा नपारोस् भन्नका लागि शनिबारको दिन आयोजना गरिएको अवगत गराउँछौँ।’

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलवार ०९:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।