Logo

सुरक्षा / अपराध

अवैध लागूऔषध सहित ४ जना पक्राउ



भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका-१० कमलबिनायकस्थित पाइपलाईनबाट १ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका-६ भोलाछेँ बस्ने २४ वर्षीय कान्छा सिजखुलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले कान्छालाई उक्त परिमाणको लागूऔषध गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै कैलालीको लम्कीचुहा नगरपालिका-१० सुतैयाबाट ८ ग्राम ३ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित भजनी नगरपालिका-५ लालबोझी बस्ने ३५ वर्षीय धनिराम चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले धनिरामलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

उता बारामा पनि  कोल्हबी नगरपालिका-६ प्रसौना बजारबाट २ किलो ७ सय ग्राम अवैध लागूऔषध अफिम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जितपुर सिमरा उपमहानगरपालिका-१६ बस्ने ४५ वर्षीय दुर्गा बहादुर मोक्तान र ४५ वर्षीय रबि बहादुर सिजाली मगर रहेका छन् । बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बीरगञ्जबाट खटिएको प्रहरीले हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्नेक्रममा मोटरसाइकलको सिटमा लुकाई राखेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  १ : ४२ बजे