Logo

अन्तर्वार्ता

देशको आर्थिक विकासका लागि १५ लाख युवाहरुको विकास सैनिक दल : युवा विश्लेशक ओली



अनलाइनपाना डटकमको आर्थिक विशेष सम्वादमा कुराकानी गर्दै युवा आर्थिक विश्लेशक सुदन कुमार ओलीले देशको विकासका लागि १५ लाख युवाहरुको विकास सैनिक दलको स्थापना गर्नु पर्ने बेला आएको बताएका छन् । अनलाइनपाना डटकमले उनै ओलीसँग गरेको कुराकानीको पूर्णपाठ तलदिएको छ ।

 अर्थ विशेष सम्वादमा यहाँलाई स्वागत छ, केमा वेस्त हुनुहुन्छ ?

धन्यवाद । मेरो नियमित काममा नै सयम गइरहेको छ । अलि समय पाएमा देशको अर्थ व्यवस्थाको अध्ययन गर्छु ।

नेपाल लगानी सम्मेलन २०१९ भर्खरै सकिएको छ । यसलाई कसरी समिक्षा गर्नु हुन्छ ?

सरकारले गत मार्च २९ र ३० गते आयोजना गरेको नेपाल लगानी सम्मेलन २०१९ सरकारको तर्फबाट गरिएको त्यो सकारात्मक प्रयास थियो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ब्यवसायिक जगतलाई हामी नेपालको विकास र अर्थतन्त्रको सुधारका लागि तत्पर छौ भन्ने जवर्जस्त सन्देश दिन खोजेको देखिन्छ । केहि हदसम्म त्यो सफल पनि भएको छ । तर सम्मेलन मात्र सफल भएर भएन आगामी दिनहरुमा सम्मेलनको प्रभाव कस्तो पर्छ त्यसले महत्व राख्दछ । लगानी सम्मेलनमा १५ वटा विभिन्न परियोजनाहरुको एमओयु पनि भएका छन । आयोजकहरुको भनाइ अनुसार १७ वटा आयोजनाहरुमा लगानीका लागि आवेदनहरु पनि परेका छन । यो कम्तीमा सकारात्मक कुरा हो ।

सरकारको यस्ता खालका सम्मेलन तथा कार्यक्रमहरुले व्यवसायिक लगानीकर्ताहरुलाई प्रोत्साहन गर्छ हैन र ?

हेर्नुस, यसलाई आआफ्नै दृष्टिकोणबाट हेर्न सकिन्छ । पहिलो त लगानीकर्ताहरु आफ्नो लगानी कहाँ गर्दा फाइदा हुन्छ ? लगानीले दिने प्रतिफल कस्तो हुन्छ ? ब्यवसायिक सुरक्षाको अवस्था कस्तो छ र बजारको अवस्था कस्तो छ भनेर आफै अध्ययन गरिरहेका हुन्छन र सरकारले जवर्जस्ती लगानी गर गर भनेर कुनै पनि ब्यवसायीले लगानी गर्न आउँदैन । दोस्रो, विगतको लामो इतिहास हेर्ने हो भने पनि नेपालमा सरकारले कुनै पनि विदेशी लगानी प्रभावकारी ढङ्गले भित्रायको छैन। जे जति वैदेशीक लगानी नेपालमा आएको छ त्यो सबै ब्यवसायिक र ब्यक्तिगत सम्बन्धका कारण आएको छ ।

गत लगानी सम्मेलनमा पनि हेर्न सक्नुहुन्छ । क्यानाडियन ब्यवसायिले सोलार पावर निर्माण चौधरीग्रुपको अगुवाइमा गर्दैछ । तेस्रो कुरा, सरकारले लगानीमैत्री वातावरणको निर्माण गर्नका लागि ब्यवसायिक सुरक्षाको ब्यवस्था गर्ने, एकिकृत ब्यवसायिक नितीको निर्माण गर्ने, कानुनी र प्रशासनिक ढिलासुस्ती हताउने, ब्यवसायका लागि आवश्यक भौतिकपूर्वाधारहरु जस्तै सडक, उर्जा र सञ्चार लगाएतका सुविधाको उपलब्ध गराउनेमा ध्यान दिनु पर्छ । त्यसैले मलाई लाग्छ सरकारले यस्ता सम्मेलनको भन्दा पनि ब्यवसायिक वातावरण निर्माणमा लाग्नु जरुरी छ । मार्केटले भन्दा पनि लगानीले मार्केट आफै खोज्छ ।

नेपालमा वैदेशिक लगानी भित्राउनको लागि सरकारले के गर्नु पर्छ ?

सबैभन्दा पहिले सरकारले (Integrated Investment and Business Policy) बनाउनु पर्छ । यो भनेको के भने, अहिले सरकारको ब्यावसायिक नीति छरिएको छ । जस्तो, जलविद्युत उत्पादन गर्नको लागि एउटा व्यवसायिले कति ठाँउमा धाउनु पर्छ ? कति जनालाई रिजाउनु पर्छ ? उर्जा मन्त्रालयले स्वीकृत गरेको फाइल उद्योगले रोक्छ ।

उद्योग र उर्जाले सदर गरेको फाइल बन तथा वातावरण मन्त्रालयले रोक्छ । यसरी हरेक ठाउँमा अड्चनहरु छन। ब्यवसायिहरुलाई माछालाई जसरी पासो थापेर बसेका छन । तसर्थ, यस्ताखालका झनझतहरुको समाधानको लागि र लगानी प्रबर्धनको लागि सरकारले एकिकृत लगानी निति बनाउनु पर्छ । त्यसै गरि सरकारले स्वदेशी होस वा विदेशी लगानीकर्ताको लगानी होस त्यसको सुरक्षाको प्रबन्ध गर्नु पर्छ ।

अहिले उत्पादनमुलक युवाहरु विदेश पलायन भइरहेका छन त्यसमा तपाइको धारणा के छ ?

यसले हरेक दिन मेरो मुटु पोल्छ । म आफ्नो देशको आर्थिक बरवादी देखिरहेको छु । नेपालमा रहेको कुल जनसङ्ख्याको करि ५७ प्रतिशत उत्पादन योग्य युवाहरु हुनुहुन्छ । उहाँहरु रोजगारीको लागि विदेश पलायन भइरहनु भएको छ । अलि पढेलेखेका शिक्षित र योग्य युवाहरु विकसित मुलुकमा र कम पढेलेखेका युवाहरु खाडी राष्ट्रहरुमा आफ्नो श्रम बेचिराख्नु भएको छ ।

एकातिर सरकारले युवालाई देश फिर्ता गर्नु पर्छ भनिरहेको छ अर्को तर्फ वैदेशिक रोजगारीको लागि हाम्रा श्रम तथा रोजगार मन्त्रीज्यू दैनिक वार्ता र विन्तिपत्र चाढाइ राख्नु भएको छ । यो आफैँमा विरोधाभास छ । यसले नत अर्थतन्त्रको दिगो विकास हुन्छ न सरकारले भनेको जस्तो समृद्ध नेपाल सुखी नेपाली नै भइन्छ । तसर्थ सरकारले सबै भन्दा पहिले श्रमयोग्य युवा जनशक्तिलाई पालायन हुनबाट रोक्नु पर्छ ।

युवाहरुलाई स्वदेशमा रोक्न कस्ले के गर्नु पर्ला ?

सबै भन्दा पहिले युवाहरुका अत्मविश्वास जगाउन जरुरी छ । हामीले स्वदेशमै केहि गर्न सक्छौ भन्ने आत्मविश्वास । त्यो आत्म विश्वासलाई जोगाइराख्न श्रमप्रतिको सम्मान जरुरी छ । काम पूजा हो म यसको पूर्ण श्रदा गर्नु पर्छ भन्ने भावनाको विकास जगाउन जरुरी छ । कृषिक्षेत्रको आधुनिकरण र उत्पादनमुखी उद्योगको विकासमा जोड दिनु पर्छ ।

शैक्षिक प्रणालीमा सुधारगरी ब्यवसायिक र प्रयोगात्मक शिक्षा प्रणालीको विकास गर्नु पर्छ । सुचना प्रविधिमा लगानी र १५ लाख शिक्षित वेरोजगार युवाहरुको एक आर्थिक विकास दलको स्थापना गरि भौतिकपूर्वाधार विकासमा लगातार खटाउन सकियो भने युवाहरु स्वेदेशमा रहने कुरामा शंका छैन । तर फेरी मैले विदेश जानु नराम्रो भने होइन । जानुपर्छ तर उत्पादनमुलक प्रविधिको सिकाइ र स्थानान्तरणको लागि मात्र । यो विश्वव्याविकरणको युग हो यसमा कसैलाई रोकेर रोकिदैन तर बाध्यात्मक पलायनलाई भने अवश्य रोक्नु पर्छ ।

नेपालमा व्यवसायिक वातावरण नहुनुको पछाडीको कारण के होला ?

नेपालको व्यवसायिक वातावरणको ठूलो सत्रु भनेको प्रशासनिक झनझत र नीति हो । मैले पहिले नै भने की नेपालमा एकिकृत लगानी नीति छैन । सरकारी कर्मचारीहरु जो सम्बन्धित निकायमा हुनुहुन्छ, उहाँ माछामार्न बसे झै जाल समाएर बस्नु भएको हुन्छ । मैले देखेको छु थुप्रै निकायहरुमा । अर्को ब्यवसायको लागि आवश्यक पर्ने उर्जा, सडक, सुचना तथा प्रविधि आदिको प्रयाप्ता छैन । नेतृत्वमा इच्छाशक्ति छैन । दिर्धकालिन विकासको भिजन भएको नेतृत्व छैन । योग्य र दक्ष जनशक्ति पलायन भएको छ ।

अचम्म त के छ भने हाम्रो देशमा रोजगार छैन भनेर युवाहरु विदेशीएका छन भने अर्को तर्फ नेपालमा कामदारको अभावले गर्दा भारत, भुटान लगाएतका छिमेकी देशहरुबाट ल्याउनु परेको छ । हामीले काठ्माडौका हरेक निर्माण कार्यमा भारतीय कामदारहरु काम गरिरहेका छन । नेपालीहरुले खाडी मुलुकहरुमा जे काम गरिरहनु भएको छ त्यो काम नेपालमा भने विदेशीहरु लिएर गर्नु परेको छ । त्यसैले नेपालको व्यवासायिक वातावरण स्थिर र उत्पादनमुलक बनाउनको लागि युवाहरुलाई कर्मप्रतिको सम्मान जगाइ राख्नु जरुरी छ । त्यसै गरि सरकारले लगानी कर्ताहरुलाई ब्यवसायको र लगानीको पूर्ण सुरक्षको ज्ञारेन्टी गर्नु जरुरी छ ।

हाम्रो अर्थतन्त्रमा ठूलोमात्रमा कालोधन छ भनिन्छ यसमा के भन्नुहुन्छ ?

नेपालको अर्थ ब्यवस्था ब्यवसायिक भइ सकेको छैन । योजना तर्जुमा गर्ने र त्यसको कार्यान्वयन पक्ष फितलो छ । भारतसँगको खुला सिमाना छ । साथै सरोकारवाला निकायहरुको कमजोर उपस्थिती वा मिलेमतोका कारण कालोधन अर्थान बजारी र अनौपचारीक अर्थतन्त्रले प्रसय पाएको देखिन्छ । यसलाई तत्कालै निर्क्योल र निर्मुल गर्न त गारो नै पर्छ तर पनि इच्क्षा शक्ति हुने हो भने त्यसलाई रोक्न सकिन्छ । सबै भन्दा पहिने नेपालमा कालोबजारी र अनौपचारीक अर्थतन्त्रको अन्त्य गर्नको लागि भारतसँगको खुला सिमाना पूर्णरुपले बन्द गर्नुपर्छ ।

भारतसँगको सिमाना बन्द गराउँदा नेपालको जनजिवनमा असर पर्लानी हैन ?

हेर्नुस, भारतले हामीलाई सित्तैमा दिने होइन । उसले पैसा लिएर नै लिने हो । बरु कतिपय चिजहरु नेपालमा भारत भन्दा सस्तो पर्छ । उनिहरुले तस्करी गर्छन । नेपाल र भारत विचको जुन सम्बन्ध छ त्यसमा खुला सिमानाले झन समस्या पैदा गरेको छ । यसले दुवै देशलाई घाटा छ । हामीले खुला सिमाना बन्द गर्न सक्यौ भने आर्थिक कालोबजारी मात्र नभएर आतंककारी गतिविधिहरुको पनि अन्त्य हुन्छ । समय समयमा सिमानाको विवाद पनि कम हुन्छ ।

अन्त्यमा देशको अर्थ व्यवस्थामा युवाहरुको भूमिका कस्तो हुनु पर्छ ?

युवा शक्ति परिवर्तनको सम्वाहक हो । यसको सकारात्पक प्रयोग गर्न सकेमा अर्थतन्त्रमात्र होइन सिंगो ब्यवस्था पनि परिवर्तन गर्ने ताकत राख्दछ । हरेक युवाले काम प्रतिको आत्मसम्मान जगाउनु पर्छ । परमपरागत ब्यवसायिक प्रणालीलाई आधुनिक प्रविधिको समायोजन गरि विस्तार गर्नु पर्द्छ । राम्रोसँग मार्केटको अध्ययन गरि ब्यवसायमा हात बढाउनु पर्छ ।

प्राविधिक र ब्यवसायिक शिक्षा प्राप्ति र खोजमुलक शिक्षामा जोड दिनु पर्छ । युवाहरु राजनैतिक अनुयायी मात्र नभएर एक जिम्मेवार नागरिकको रुपमा इमान्दारीपूर्वक आफ्नो ब्यवसायमा लाग्नु पर्छ । जवसम्म भोक लाग्दैन तवसम्म खाना पकाउन मन लाग्दैन । तसर्थ युवाहरुले अव आर्थिक समृद्धिको भोक जगाउनु जरुछ । समृद्धि हाम्रै पालामा सम्भव छ र सम्पूर्ण युवाहरु एक ढिक्का भएर देशको आर्थिक विकासमा हातेमालो गर्नु पर्छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आईतवार १७:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।