Logo

राजनीति

कांग्रेसको बोल्ड निर्णयले अन्तरघातीहरूलाई तनाव, निर्णयको प्रशंसा



नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले निर्वाचनका बेला पार्टीका उम्मेदवारविरुद्ध अन्तरघात गर्ने अन्तरघातीहरूको सूची मागेको छ ।ललितपुरको सानेपास्थिट पार्टी मुख्यालयमा आइतबार बसेको अनुशासन समितिको बैठकले सबै जिल्लाहरू अन्तरघातीहरूको नाम माग्ने निर्णय गरेको हो ।

सात दिनभित्र ७७ वटै जिल्ला कार्यसमितिले पार्टीविरुद्ध अन्तरघात गर्नेहरूको नाम पठाउन समितिले निर्देशन दिएको छ । त्यस्ता अन्तरघातीको नाम सिधै केन्द्रीय कार्यालयमा अनुशासन समितिलाई पठाउनुपर्नेछ ।

‘गत स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक र समर्थकका साथै नेपाली कांग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका व्यक्तिहरूको नामावली सबै जिल्लाबाट ७ दिनभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरियो’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका बेला आफ्नै पार्टीका उम्मेदवारहरूलाई हराउन कांग्रेसका केही नेता तथा कार्यकर्ताहरू लागेका थिए । उनीहरू कै कारण कांग्रेस बलियो रहेका स्थानहरूमा समेत पराजित भएको थियो ।

त्यस्ता अन्तरघातीहरूलाई कारबाही गरेर पार्टीबाट निस्काशन गर्न माग गर्दै केन्द्रीय कार्यसमितिलाई दवाव पर्दै आएको थियो । अनुशासन समितिको आइतबारको निर्णयले अन्तरघातीहरूको मुटुले ठाउँ छाडेको छ ।

कांग्रेसलाई कमजोर बनाएर आफ्नै पार्टीका उम्मेदवार हराउनेमा केही केन्द्रीयस्तरका नेताहरू समेत छन् । उनीहरूलाई कस्ता खालको कारबाही हुने हो हेर्न बाँकी छ ।कांग्रेसका कार्यकर्ताहरूले पार्टीविरुद्ध अन्तरघात र गतिविधि गर्नेलाई हदैसम्मको कारबाही गर्नुपर्ने दवाव दिँदै आएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार ०२:५१   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।