भारतमा लोकसभा निर्वाचन सुरु हुँदैछ । यसपटक विभिन्न ७ चरणमा हुने लोकसभा निर्वाचन बिहीबारदेखि सुरु भएर १९ मेमा सम्पन्न हुनेछ भने २३ मेमा मतगणना हुने निर्वाचन तालिका छ । पहिलो चरणको निर्वाचनबाट लोकसभाका ५४३ मध्ये ९१ स्थानका लागि मतदान हुन लागेको हो ।
बिहीबार अन्डमान एन्ड निकोबार द्वीपको १, आन्ध्र प्रदेशका २५, अरुणान्चलका २, आसामका ५, बिहारका ४, छत्तीसगढको १, जम्मू कश्मिरका २, लक्ष्यद्वीपको १, महाराष्ट्रका ७, मणिपुरको १, मेघालयका २, मिजोरमको १, नागल्यान्डको १, उडिसाका ४, सिक्किमको १, तेलंगनाका १७, त्रिपुराको १, उत्तर प्रदेशका ८, उत्तराखण्डका ५ र पश्चिम बंगालका दुई लोकसभा सिटका लागि निर्वाचन हुन लागेको हो ।
लोकसभा निर्वाचन अन्तर्गत अप्रिल १८ मा दोस्रो, २३ मा तेस्रो, २९ मा चौथो, मे ६ मा पाँचौं, १२ मा छैठौं र मे १९ मा सातौं गरी ७ चरणमा लोकसभा निर्वाचन हुनेछ ।
१) मतदाताः अमेरिकामा भन्दा चार गुणा बढी
यो वर्ष भारतमा ९० करोडभन्दा धेरै योग्य मतदाता रहेका छन् । जुन अर्को दोस्रो ठूलो प्रजातन्त्र मानिने अमेरिकाको भन्दा चार गुणा धेरै हो । भारतले पहिलो आम चुनाव ब्रिटेनबाट स्वतन्त्र भएपश्चात् सन् १९५१÷५२ मा गरेको थियो । यसपाली चुनावका लागि दश लाख मतदान केन्द्र स्थापना गरिएका छन् ।
२) चुनावी डेढ महिना
अप्रिल ११ देखि सुरु भइ मे १९ तारीखमा सम्पन्न हुने निर्वाचनमा संसारको सबैभन्दा ठूलो प्रजातन्त्र मानिने भारतमा मतदाताहरूले केन्द्रीय संसदका सदस्यका लागि भोट खसाल्नेछन् ।
भारतको निर्वाचन सात चरणमा करिब डेढ महिना लगाएर हुँदैछ किनकि त्यसमा अत्यधिक संख्यामा निर्वाचन अधिकारी तथा सुरक्षाकर्मी खटाइनेछन् ।
भिन्नाभिन्नै राज्यमा भिन्नाभिन्नै समयमा मतदान हुनेछ । सबैतिरको मतदान मे १९ मा सकिएपछि मे २३ मा मतगणना हुनेछ ।त्यसमार्फत् उनीहरूले हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीले थप पाँच वर्ष शासन गर्न पाउने वा नपाउनेबारे निर्णय दिनेछन् ।
३) कसले बनाउँछ सरकार ?
भारतीय संसदमा दुई सदन छन्– लोकसभा तथा राज्यसभा । तल्लो सदन लोकसभाका लागि भइरहेको चुनावमार्फत उसको ५४३ सदस्य छानिनेछन् ।
जसले न्यूनतम २७२ सांसद आफ्नो पक्षमा पार्न सक्छ उसैले सरकार बनाउनेछ । जुन दल वा गठबन्धनले बहुमत सिट जित्नेछ उसैको नेता प्रधानमन्त्री चुनिनेछ ।
सन् २०१४ मा भएको पछिल्लो निर्वाचनमा मोदीको दल भारतीय जनता पार्टी भाजपाले २८२ सिट जितेको थियो भने गान्धीको कांग्रेसले केवल ४४ सिट जितेको थियो ।
४) जनमत कसको पक्षमा ?
यसपटक मोदीको टक्कर विपक्षी कंग्रेस नेता राहुल गान्धीसँग भइरहेको छ ।केही महिना अगाडिसम्म मोदी तथा उनको दल भाजपाले चुनाव सहजै जित्ने ठानिन्थ्यो तर डिसेम्बरमा भएका केही महत्वपूर्ण क्षेत्रीय चुनावहरूबाट प्रतिस्पर्धा कडा हुने संकेत देखा परेका छन् ।
मोदीले फेरि सामान्य बहुमतले जित्लान् या नजित्लान् भन्नेबारे विश्लेषकहरूको मत बाझिएका छन् । हालसालै पाकिस्तानसँग चर्किएको तनावले भने भाजपालाई चुनाव प्रचारमा सघाउ पुग्ने मुद्दा मिलेको थियो ।
५) मोदीको जनमत संग्रह
यसपालीको निर्वाचन मोदीका लागि जनमत संग्रह सरह हुने ठानिएको छ । मोदीलाई भारतमा जनमत ध्रुवीकृत पार्ने नेताको रूपमा हेरिन्छ जसलाई कैयौँले मन पराउँछन् । कतिपयले चाहिँ उनले भारतका बहुसंख्यक हिन्दू तथा २० करोड मुसलमानबीच विभाजन उक्साउने गरेको आरोप लगाउँछन् ।
देशभक्तिको मुद्दा केन्द्रमा रहेकाले आफूले शक्तिशाली क्षेत्रीय दल तथा कंग्रेसको चुनौतीबाट पार पाउने भाजपाको आशा छ ।
-बीबीसी नेपाली





















प्रतिक्रिया