काठमाडौं । झन्डै दुई महिनादेखि भारतीय पक्षको गुणस्तर परीक्षण प्रक्रियाका कारण रोकिएको नेपाली चिया निकासी मंगलबारदेखि पुन: सुरु भएको छ ।
सरकारको उच्च तहबाट भएको निरन्तरको कूटनीतिक पहल र भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले परीक्षण प्रणालीमा खुकुलो मापदण्ड (एसओपी) लागु गरेसँगै पूर्वी नाका काँकडभिट्टा हुँदै चियाका गाडीहरू भारततर्फ जान थालेका हुन् । नयाँ व्यवस्थाअनुसार अब नेपालबाट जाने प्रत्येक पाँच खेपमध्ये एउटा खेपको मात्रै नमुना परीक्षण गरिनेछ।
निकासी अवरुद्ध हुँदा इलामका उद्योगमा मात्रै करिब १२ लाख किलो अर्थोडक्स चिया थन्किएको थियो। यसले उद्योगी र किसान दुवैलाई आर्थिक रूपमा ठूलो असर परेको थियो। अहिले निकासी सहज भएसँगै थन्किएको चिया बजारमा पठाउने तयारी तीव्र बनेको छ।
नेपाल चिया उत्पादक संघका अनुसार सोमबारदेखि इलामको अर्थोडक्स चिया बोकेका ट्रकहरू भारत प्रवेश गर्न थालेका छन्। व्यवसायीहरूले भारतीय बजारबाट नयाँ अर्डर आउन थालेको र व्यापार विस्तार हुने संकेत देखिएको बताएका छन्।
चिया निकासी सहज बनाउन नेपाल सरकारले कूटनीतिक पहललाई तीव्र बनाएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलमा सम्बन्धित मन्त्रालय र निकाय सम्मिलित कार्यदल गठन गरी भारतीय पक्षसँग निरन्तर समन्वय गरिएको थियो। त्यसपछि भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले परीक्षण प्रणाली खुकुलो बनाउने निर्णय गरेको हो।
यद्यपि व्यवसायीहरू पूर्ण रूपमा ढुक्क भने भएका छैनन्। पानीट्यांकी भन्सारमा परीक्षण प्रयोगशाला नहुँदा नमुना परीक्षणका लागि अझै कोलकाता पठाउनुपर्ने अवस्था कायमै छ। साथै भारतीय पक्षले आवश्यकता अनुसार छड्के परीक्षण गर्न सक्ने व्यवस्था पनि यथावत् रहेको छ।





















प्रतिक्रिया