मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका-८ सलकपुर चोकमा को.२१ प ५९९१ नम्बरको मोटरसाइकललाई प्र.१-०१-००१ ख ३४१० नम्बरको बसले आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-७ बस्ने ४० वर्षीय बिजेस लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका बिजेसको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै म्याग्दीमा मंगला गाउँपालिका-२ स्थित सडकमा प्र.२-०३-००१ च २५२ नम्बरको गाडी सडकबाट करिब ५० मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने ११ वर्षीया करिष्मा क्षेत्रीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका गाडी चालक लगायत ५ जनाको जिल्ला अस्पताल बेनीबजारमा उपचार भईरहेको छ ।
उता कञ्चनपुर, वेदकोट नगरपालिका-१ चम्फापुरस्थित सडकमा से.१ ख १४०६ नम्बरको ट्रकले लु. १२ प ५१५ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकलका चालक प्रहरी चौकी झोलुङ्गेमा कार्यरत प्रहरी हबल्दार राम बहादुर बिष्टको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




















प्रतिक्रिया