काठमाडौं ।नबिल बैंक लिमिटेडले तीनधारास्थित आफ्नो केन्द्रीय कार्यालयमा ‘नबिल नर्सिङ रुम’ सञ्चालनमा ल्याएको छ।
बिहीबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी र प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थितिमा सञ्चालक समितिकी सदस्य सरिता भट्ट अधिकारीले रिबन काटेर कक्ष उद्घाटन गरिन्।
उद्घाटन कार्यक्रममा सञ्चालक समितिका सदस्यहरू अन्नत पौड्याल, प्रविन टिबडेवाला र अनिल केशरी शाहसहित नायब प्रमुख कार्यकारी अधिकृतहरू आदर्श बजगाईं र भुपेन्द्र पाण्डेलगायत उच्चपदस्थ कर्मचारीको उपस्थिति रहेको थियो।
कर्मचारी हितलाई प्राथमिकतामा राख्दै बैंकले स्तनपान गराउने आमाहरूलाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले नर्सिङ रुम स्थापना गरेको जनाएको छ। बैंकका अनुसार यस कक्षले कार्यालय समयमा सुरक्षित, गोपनीय र आरामदायी रूपमा स्तनपान गराउने सुविधा प्रदान गर्नेछ।
उद्घाटनपछि बोल्दै सञ्चालक सदस्य अधिकारीले यस्तो व्यवस्था कर्मचारीप्रतिको जिम्मेवारीको अभिव्यक्ति भएको बताइन्। “यसले कर्मचारी आमाहरूलाई कार्यालयमै बच्चासँग सुरक्षित भएको महसुस गराउनेछ,” उनले भनिन्।
कार्यक्रममा अध्यक्ष चौधरीले नर्सिङ रुमलाई सकारात्मक सुरुवातका रूपमा उल्लेख गर्दै लैङ्गिक समानता र कर्मचारी कल्याण बैंकका प्रमुख मूल्य रहेको बताए।
“यो कक्षले ती मूल्यलाई व्यवहारमा उतार्ने काम गरेको छ,” उनले भने। हाल केन्द्रीय कार्यालयमा सुरु गरिएको सेवा आगामी दिनमा अन्य शाखाहरूमा पनि विस्तार गरिने उनले जानकारी दिए।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीका अनुसार यस्ता पहलहरूले कर्मचारीमैत्री वातावरण सुदृढ बनाउन सहयोग पुग्नेछ।
नबिल बैंकले देशभर २६८ शाखा र ३१८ एटिएममार्फत सेवा दिँदै आएको छ। बैंकका २५ लाखभन्दा बढी ग्राहक रहेका छन्।
चार दशकभन्दा बढी समयदेखि बैंकिङ सेवा दिँदै आएको बैंकले पछिल्लो समय दिगो बैंकिङ र डिजिटल सेवामा जोड दिँदै ‘एनबैंक’ सञ्चालनमा ल्याएको छ।





















प्रतिक्रिया