Logo

खेलकुद

आईपीएल : मुम्बईले दिल्लीलाई ४० रनले हरायो



जारी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहिबार बेलुकी भएको खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ४० रनले पराजित गरेको छ । यो जितसँगै मुम्बई अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

१ सय ६९ रनको विजयी लक्ष्य पछ्पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २८ रन मात्र जोड्न सक्यो । ओपनर शिखर धवनले ३५ रन बनाएपनि अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

धवनलाई सातौ ओभरको तेस्रो बलमा राहुल चाहरले बोल्ड आउट गरे । नवौं ओभरको तेस्रो बलमा चाहरलेनै अर्का ओपनर पृथ्वी शालाई हार्दिक पान्ड्याबाट क्याच गराउँदै २० रनमा पेभिलिएन फर्काए । १० औं ओभरको चौथो बलमा कु्रनाल पान्ड्याले कोलिन मुनरोलाई ३ रनमा बोल्ड आउट गरे । ११ ओभरको दोस्रो बलमा चाहरले कप्तान श्रेयस ऐरलाई ३ रनमा बोल्ड आउट गरे ।

ऋषभ पन्तलाई जसप्रित बुमराहले ७ रनमा बोल्ड आउट गरेपछि दिल्लीको जित कठिन बनेको थियो । तल्लोक्रमका अक्षर पटेलले २६,क्रिस मोरिस ११,किमो पल शुन्य र कागिसो रबडा ९ रनमा आउट भए । अमित मिश्रा ६ रनमा अविजित रहे ।

मुम्बईका लागि युवा लेग स्पिनर राहुल चाहरले ४ ओभरमा १९ रन खर्चेर ३,जसप्रित बुमराह २,लाथिस मलिङ्गा,कु्रनाल पान्डया र हार्दिक पान्ड्याले समान १ विकेट लिए ।

त्यस अघि दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६८ रन बनायो ।मुम्बईका लागि ओपनर क्विन्टन डी ककले ३५ रन बनाए । १० औं ओभरको पाँचौ बलमा रन आउट हुनुअघि डी ककले २७ बलमा समान २ चौका र छक्का प्रहार गरे । त्यस्तै कप्तान रोहित शर्माले २२ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३० रनमा आउट भए ।

ओपनर शर्मा र डी ककले पहिलो विकेटका लागि ७ ओभर सम्म ५७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । यी दुई बीचको साझेदारी साँतौ ओभरको पहिलो बलमा अमित मिश्राले रोहितलाई बोल्ड आउट गर्दै तोडे । त्यस्तै बेन कटिङ्ग २ र सुर्य कुमार यादव २६ रनमा आउट भए ।

तल्लो क्रममा हार्दिक पान्ड्याले १५ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ३२ रनमा आउट भए । कु्रनाल पान्ड्याले २६ बलमा ५ चौका सहित ३७ रनमा अविजित रहे । यी दुई जादुभाईले ४।२ ओभरभित्र ५४ रनको साझेदारी गर्दै मुम्बईको इनिङ उकासे ।दिल्लीका लागि कागिसो रबडाले २,अमित मिश्रा र अक्षर पटेल समान १ विकेट लिए ।

यो जितसँगै मुम्बई ९ खेलमा ६ मा जित र ३ मा हारका साथ १२ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीमा ९ खेलमा ५ मा जित र ४ मा हारका साथ १० अंक जोड्दै तेस्रो स्थानमा झरेको छ । चेन्नई सुपर किंग्स ९ खेलमा ७ मा जित र २ मा हारका साथ १४ अंक सहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार ०१:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।