Logo

प्रमुख समाचार

पार्टी रित्तिय पनि अन्तरघातीलाई कार्वाही गरेरै छाड्छु : देउवा



नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गर्ने अठोट व्यत्त गरेका छन् ।पिताजी कृष्ण प्रसाद कोइराला स्मृति परिषद्द्वारा आयोजित प्रजातान्त्रिक आन्दोलनका योद्धा राजनीतिक विश्लेषक नरहरि आचार्यलाई सम्मान गर्दै उनले भने, “अन्तरघातीलाई कारवाही गर्दा पार्टी रित्तिए अथवा आगामी निर्वाचनमा पराजय भए पनि होस् तर कारवाहीबाट पछाडि हट्दिन ।”

सभापति देउवाले पार्टीभित्र अनुशासनहीनता बढ्दै गएको टिप्पणी गर्दै आन्तरिक प्रजातन्त्र भने अहिलेसम्मै सबैभन्दा बढी भएको दाबी गरे । उनले विगतमा डरले बोल्न नसक्ने आफू सभापति भइसकेपछि पार्टीभित्र र बाहिर निर्धक्क साथ बोल्न थालेको बताए। उनले गणेशमानसिंह र कृष्णप्रसाद भट्टराईले जसरी पार्टी छाडेर हिँड्नुपर्ने अवस्था आफ्नो कार्यकालमा आउन नदिने प्रष्ट पारे ।

निर्वाचनमा पार्टीकै नेतालाई हराएर आफूलाई बहादुर ठान्ने काङ्ग्रेसभित्र रहेको बताउँदै सभापति देउवाले विगतमा मोरङ क्षेत्र नं ६ अन्तर्गतका संसदीय र प्रदेशसभा निर्वाचनमा दुई विजयी सांसदले अन्तर्घात गरी संसद्का उम्मेदवारलाई पराजय भोग्न बाध्य पारेको दाबीसमेत गरे ।

केन्द्रीय सदस्य महेश आचार्यले राजनीतिक स्थिरताका लागि विधिको कायम हुनुपर्छ भने ।सम्मानित काङ्ग्रेस नेता नरहरि आचार्यले सबैको योगदानबाट मुलुकमा प्रजातन्त्र र लोकतन्त्र आएको बताउँदै यसको सफल कार्यान्वयन हुनुपर्नेमा जोड दिए।

परिषद्का अध्यक्ष अशोक कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा नेकाका प्रदेश प्रमुख सचेतक केदार कार्की, सांसद शान्ता पौडेल, केन्द्रीय सदस्य अमृत अर्याल, पार्टीका मोरङ उपाध्यक्ष शिवनारायण सिंहले काङ्ग्रेस कमजोर भएमा लोकतन्त्र कमजोर हुने धारणा व्यत्त गरे ।

आचार्यलाई सभापति देउवा, परिषद्का अध्यक्ष कोइरालालगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । परिषद्ले यसअघि रामहरि शर्मा, केवी गुरुङ, चक्रप्रसाद बाँस्तोलालाई सम्मान गरेको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७६, शनिबार १६:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।