Logo

टिप्पणी

प्रविधिको विकाससामु घुँडा टेकेको सरकार



सुचना प्रविधिको विकास सँग कुनैपनि मुलुकभित्रका नियमनकारी निकायहरु अपडेट भएनन् भने त्यसले समस्या उत्पन्न गर्छ । नेपालको सरकारदेखि सम्बन्धित निकायहरु आधुनिक प्रविधिको विकाससँग राम्रो जानकार हुन नसकेर समाजमा अनेकथरी बिचलनको खतरा पैदा भइरहेको छ ।

बर्षौ पत्रकारिता गरेका पत्रकार समेत आर्थिक,सामाजिक लगायतका विविध समस्यासँग जुधिरहँदा युटुव च्यानल र अनलाईन लगायतलाई प्रयोग गर्दै समाचारको स समेत नजान्ने कतिपय समुह पत्रकारको हुलमा मिसिरहेका छन् । डोमेन लिने,सर्भर लिने र सामान्य डिजाइनका भरमा कुनै कम्पनी दर्ता नभई,सुचना विभागमा दर्ता नभई चलेका झोले अनलाईन धेरै छन् ।

जसले आफूलाई न्युज पोर्टल भनेर हल्ला पिट्छन् । अर्कोतिर युटुव च्यानल खोलेर दुनियाँको क्लिकको अपेक्षामा आधारहिन,तथ्यहिन र तौलविहिन हल्ला फैलाउनेहरु पनि धेरै छन् । त्यसबाट सत्यतथ्य र निष्पक्ष समाचार र जानकारीमूलक सामग्री पाउने नागरिकको सुचनाको हकमाथी आघात पुगेको छ ।

को पत्रकार ? कुन विश्वसनीय ?

बर्षौ पत्रकारिता पढेका वा पत्रकारितासम्बन्धी लामो प्रशिक्षण लिएका र सुचना समाचारमा खेलिरहेका पत्रकार वा स्वघोषणाबाट आफूलाई पत्रकार दाबी गर्नेहरुको मापदण्ड के ? मूल्यांकन के ? सेवासुविधा र सुरक्षा के ? सरकार नाजवाफ छ । कुनै झोले अनलाईन तथा युटुव च्यानलले कुनै कुनामा बसेर अश्लिल समाचार र फोटो तथा विविध सामग्री प्रकाशन गर्‍यो भने त्यसबाट व्यक्ति,परिवार समाज र सामाजिक मूल्यमान्यता र मानिसको सोचाईमा पर्ने असरप्रति जिम्मेवार बन्ने को ?

यस्तो प्रश्नप्रति संवेदनसिल भएर आवश्यक नियम कानुन नबनाउनु र अहिलेपनि कतिपयले गरिरहेका असामाजिक हर्कतप्रति सम्बन्धित निकाय बेखबर हुनु भनेको सुचना प्रविधिसँग कुद्न नसक्नु हो । लाखौँ लगानीबाट सञ्चालित मिडियाको समाचार र यस्ता सरकारको नियन्त्रणभन्दा बाहिर देखिएका आफूलाई मिडिया बताउनेहरुले दिने समाचार भनेर स्रोता,पाठक तथा दर्शकले छुट्याउन नसक्दा कुन विश्वसनीय र तथ्यपरक हो भन्ने कुराले मानिस सोचाईको आन्तरिक द्धन्द्धमा फस्छ । जसले गर्दा स्थापित र जिम्मेवार मिडियामाथीको नागरिकको विश्वसनीयतामा खलल पु¥याएको छ ।

किन पटक पटक चुक्छन् स्थापित मिडिया ?

नेपालमा सर्वसाधारणको मन जित्न सफल दर्जन बढि सञ्चारमाध्यमहरु पनि छन् । जसले दिने सामग्री हरेक दिन नछुटाई हेर्ने,सुन्ने तथा पढ्ने दर्शक,स्रोता र पाठकहरु पनि टन्नै छन् । सर्वसाधारणको रोजाईमा आफूलाई पहिलो सावित गर्न कुनैपनि समाचार सबैभन्दा पहिले कसले दिने भन्ने होडबाजी पनि छ ।

तर, ट्विटर,फेसबुक लगायतका सामाजिक सञ्जाल ती स्थापित, कर्पोरेट मिडियाभन्दा कतिपय अवस्थामा अगाडि भइदिन्छन् । जव सामाजिक सञ्जाल वा गैरकानुनीरुपमा चलेका अनलाईन जस्ता माध्यममा आएका विषयमाथी कहिलेकाहीँ स्थापित मिडियाले विस्वास गर्दिन्छ । अनि अरुले भन्दा अगाडी त्यो सुचना संप्रेशणका लागि ऊ हतारिन्छ । जसले गर्दा स्थापित मिडियाहरु पनि पछिल्लो समय पटक पटक चुक्ने गरेका छन् ।

मिडियाको बाढी

नेपालमा ५ सय भन्दा धेरै एफएम रेडियोहरु सञ्चालित छन् । रेडियो नेपाल,नेपाल टेलिभिजन,रासस,गोरखापत्र लगायतका सञ्चारमाध्यम सरकारकै पोल्टामा छन् । दर्जनौँ राष्ट्रिय टेलिभिजन र त्यो भन्दा धेरै क्षेत्रीय टेलिभिजनहरु छन् । अर्कोतर्फ दशौँ हजार अनलाइन र हजारौँ पत्रपत्रिका प्रकाशित हुन्छन् ।

यो भनेको नेपालजस्तो सानो मुलुकका लागि छेल्लोखेल्लो हो । यो मिडियाको बाढीबाट आफूलाई उत्कृष्ट ठहर्‍याउन जति गाह्रो छ उत्कृष्ट भइसकेकाहरुलाई उत्कृष्टमै रहिरहन त्यो भन्दा धेरै गाह्रो छ । धेरै मिडिया हुँदा प्रतिस्पर्धा हुनु त राम्रो कुरा हो तर राम्रै र तथ्यभित्रै प्रतिस्पर्धा सिमित नरहनु दुर्भाग्य हो ।

अब पत्रकार पनि गरिब नहुन सक्छन्

धेरैको सोचाईमा छ कि, पत्रकारहरु आर्थिक रुपमा सन्तुष्ट हुन्नन् । मिडिया हाउसले पनि कम पारिश्रमिक दिन्छन् त्यो पनि महिना मर्नेवित्तिकै दिन्नन् भन्ने सोचाई धेरैमा छ र त्यो धेरै यथार्थ पनि थियो र केहि अझै छ । तर,धन्यवाद तिनै अनलाइन लगायतका नवप्रवेशी मिडियाहरुलाई दिनुपर्छ जसले आफूलाई टप टेनभित्र पुग्ने मेहेनतका साथ स्थापित पत्रकारहरुलाई पनि राम्रो पारिश्रमिक दिएर अनुबन्धित गरेका छन् । जसले गर्दा पहिलेदेखि उत्कृष्ट ठहरिएका मिडियाहरु हल्लिएका छन् ।

कारण : उचित पारिश्रमिक दिन सकिएन र कर्मचारी रिझाउन सकिएन भने अर्कै मिडियासँग मायाप्रेम बस्ला कि भनेर । जसले गर्दा लामो समयदेखि मिडिया बुझेका र काम गरिरहेका पत्रकारहरु अहिले आर्थिक रुपमा पनि सन्तुष्ट बन्दै गइरहेका छन् । जता राम्रो पारिश्रमिक हुन्छ त्यतै कुद्ने अवसर पनि अगाडी छ । यो अवस्थाले अहिले कतिपय सञ्चारमाध्यमले कर्मचारीलाई समयमै उचित पारिश्रमिक नदिने पहिलेको आफनै ढिलासुस्तीको रेकर्ड बिर्सिएर छिटोछिटो पारिश्रमिक दिइरहेका छन् ।

विज्ञापनको लागि बार्गेनिङ

सञ्चारमाध्यम धेरै भएपछि टिकिराख्न समेत कतिपय मिडियालाई गाह्रो छ । टिक्नका लागि आयस्रोत बलियो हुनुपर्छ । मिडियाको आयस्रोतको भरपर्दो बाटो विज्ञापन नै हो । विज्ञापन पाउने होडबाजी त छदैछ,कतिपय मिडियाले विज्ञापन पाउन सम्बन्धित संघसंस्था वा निकायको कमीकमजोरी खोजीखोजी कोट्याइदिने र बाहिर ल्याउने गरेका छन् ।

यो चलाखीबाट सधैँ सत्य र तथ्य नै समाचार आउछ भन्ने त छैन नै । यद्यपी कहिलेकाहीँ वास्तविक कुराहरु पनि बाहिर आइरहेका हुन्छन् । वास्तविक कमीकमजोरी ती निकायहरुको रहेछ भने उसले विज्ञापनको ललिपप देखाएर मिडियालाई रोकिदिन्छ र बाख्रलाई हरियो घाँस देखाएर गौडो उकालेझै त्यस्ता निकायले मिडियालाई आफ्नो बश मा राख्न सफल हुन्छन् । यसको तथ्य र प्रमाण यो र त्यो भनेर किटेरै देखाउन कम भएपनि यो यथार्थ हो भन्ने कुरा तपाई हामीले मनन् गर्दै आएको कुरा हो ।

सरकारको ललिपप

नेपालमा स्थायी सरकार नहुनुको पीडा पत्रकारिता र पत्रकारहरुलाई पनि छ । केहि महिनामै सरकार फेरिरहन्छ । सुचना तथा सञ्चारमन्त्री पनि नयाँ नयाँ आइरहन्छन् । आफ्नो केहिमहिने कार्यकालमा मन्त्रीज्यूहरुले कसैले न्युनतम पारिश्रमिक लागु गराउछु भन्छन् कतिपयले पत्रकारलाई फ्ल्याट उपलव्ध गराउछु त कतिपयले निशुल्क उपचार रे ।

कोहि कोहिले त गाडी नै चढाउने पनि भए । तर पत्रकारको पीडामाथी अहिलेसम्म कुनै पनि सरकार र मन्त्री गम्भिर भएको थियो भने आज बर्षौदेखि पत्रकारिता गरिरहेका पत्रकारहरुमा राष्ट्र र जनताप्रतिको उत्तरदायित्व अझ बढेर जाने थियो । हुन त अझैपनि धेरै पत्रकारहरु आफ्नो पीडा लुकाएर अरुको भलो र खुसीका लागि निरन्तर खटिरहेका छन्,जसरी मैनबत्तिले आफू जलेर अरुले उज्यालो दिन्छ । यो कुरा सरकार र सर्वसाधारणले बुझ्न आवश्यक छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार ०७:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।