Logo

टिप्पणी

ओली सरकार इतिहासकै सबैभन्दा ‘चुत्थो’ र ‘प्रतिगामी’ सरकार



(नेपालमा नेपालीको अवस्था,  रोगको डरले भारतबाट पाँचलाख आए भोकको डरले भारत तर्फ पाँचलाख जाँदै । 

खाडीमा झन कन्तविजोक – आफूलेपनि ल्याइएन, ल्याइदिन्छु भन्नेलाई आउनै दिइएन  

देशको संकटपूर्ण परिस्थिति हेरेर विश्लेषकहरु निश्कर्षमा पुगे – यो सरकार हरेक कुरामा चुत्थो सावित भयो, यस अघि देश दुनियाका मामिलामा यस्तो बेखवर रहने सरकार बनेकै थिएनन, निर्दलीय कालमा समेत । अव त श्रमिक र मजदूरहरुले पनि त्यस्तै बोल्न थाले – संसारकै नायालयक सरकार । 

एक : ‘जनताको जीवनप्रति यति अनुत्तरदायी र यति चुत्थो सरकार त निर्दलीय पन्चायतकालमा पनि बनेको थिएन । यसैले प्रधानमन्त्री खडगप्रसाद शर्मा ओलीको सरकार प्रतिगामी हो’ –पत्राकर किशोर नेपाल भदौ १९ । 

दूई : ‘संसार कै सबैभन्दा नालायक र असफल प्रधानमन्त्री केपी ओली । षड्यन्त्र, जालझेल, पैसा, गुण्डा, उखान टुक्का, नक्कली राष्ट्रबाद, जातिय सुप्रीमेसीले पदमा पुग्न त सकियो तर काम गरेर देखाउन त बुद्धि बिबेक, योजना, जाँगर, परिश्रम, बलिदानी, एक्सन नै चाहिने रहेछ । म पनि परदेशबाट केपी ओलीको दिनदिनै पतन नियालीरहेको छु’ –चन्द्र, परदेशमा कामदार भदौ २४ सन्र्दभ साउउदी अरवमा सरकार छोड भन्ने नारा लागेको  । 
खान बोलाउँदै लाठी वर्साउउँदै 

अग्रज पत्रकार नेपालले ओली सरकार बारेका यी शव्द लेखेर पाठक समक्ष ल्याइरहेका बेला कोरोना कहरले थलापरेका एउटा बिरगञ्जमा एउटा बीभत्स खालको घटना प्रकट भयो यो सरकार कस्तो हो भन्ने थप परिचय दिनका लागि । नेपालको आँखा त्यो ठाउँमा परेर विझाएछन् । 

भदौ १८ मा  बिरगन्जमा केन्द्रीय सरकारका प्रतिनिधि सीडीओको कार्यालयले १५ सयको सख्याका जनतालाई राहत पाउनका लागि आफ्नो कार्यालय अगाडि फारम भरेर निवेदन दिन  बोलायो । यो शहरपनि लामो समय देखि लकडाउन निषेध आदिका कारण भोकमरी ब्यापक भएकोमा पर्छ ।  त्यसबाट मुक्ति पाउनका लागि फारम भर्नुपर्ने यो बिडम्बना यहाँका जनताले पहिलो पल्ट भोगे । 

स्वभाविक छ सरकारले राहत दिन्छु भनेपछि त्यो पाउनका लागि भोकाहरुको केही भिड बढने नै भयो, राहतको अपेक्षा गर्नेहरु यो कार्यालय अगाडि लामवद्ध भएर उभिए । तीन जनता माथि कोरोनाका नियम नमानेको भनी त्यो कार्यालयले अश्रुग्यास हान्यो, लाठी बर्साइयो । लामवद्ध राहतका आकांक्षी कतिपयका टाउको फोरिएर र कतिपय लडदैपढडदै ज्यान जोगाउँदै भागे ।

स्वभविक छ राहतको आवश्यकता भएकाहरुको हज्जारौंको सख्या रहेका ठाउँमा केही सयको सख्या तोकेर निवेदन मागेपछि त्यसभित्र पर्ने क्रममा भिड त लाग्छ नै । एउटा त भोक जस्तो कुरो सख्यामा सीमित गर्नु हुने थिएन । त्यसो गरियो । दोस्रो, सख्या जति ठूलो भएपनि मात्रा जेजति होस्, राहत पाइने भन्ने विश्वासका साथ त्यहाँ आइसकेकालाई उपलव्ध गराइनु पथ्र्यो । भोका नागरिकलाई यसरी लखेटेपछि थन्क्याइएको त्यो १५ सयको सख्यालाई पुग्ने राहत त्यसपछि गोदाममै थन्किएकोमा अहिलेसम्म निस्किएन । 

भोका जनतालाई खानादिने भन्दै आफ्नो घरआगनमा बोलाएर तीनका टाउका माथि लाठी वर्षाएको यो घटना कतै केही भएकै छैन जसरी सामसुम पारियो । 

आफैले बोलाएर आएको हो भने पशुलाई पनि जे जस्तो हो खान दिइन्छ । भोकको भीड जहाँ पनि हुन्छ । काठमाण्डौको टुडीखेलमा हेरियो भने दिनैपिच्छे हजारबाह्रसय जनाले कुनै मनकारीबाट छाक पाइरहेका छन्  । सरकारले आफैले बोलाएको मान्छेलाई व्यवस्था गर्न सक्तैन भने त्यो सरकार के सरकार !

 यही दिनको वरीपरी प्रधानमन्त्री ओली आफ्नो सुरक्षित निवास बालुवाटारबाट फर्मान जारी गरिरहेका थिए –सरकारले जनतालाई भोकै बस्न नपर्ने बन्दोवस्त गरिरहेको छ । देशका उद्योगपति सामु उनले दिएको जानकारी हो यो र  सरकारले नै देशै ठप्प पारेको सातमहिना वरपरको कुरा । 

माथिको त्यो विवरण र प्रधानमन्त्रीको यो भोकै बस्न नपर्ने व्यवस्था गर्न लागेको  भन्ने कुरा कसले पत्याउने ?  

विदेशमा देश छोड

विदेशमा पहिलो पटक आफ्नो देशको सरकार विरुद्ध  ‘देश छोड’ भन्ने नारा लाग्यो  । यो विभिन्न देशमा कोरोनाले प्रभवित  आठ १० लाख नेपाली प्रवासी श्रमिकहरुको मुखरित क्रन्दन हो, जो वितेको आधावर्षबढी समयदेखि आफ्नो घर आउन चाहन्छन् तर सरकारले विभिन्न बहानामा रोकेको राकेकै छ । त्यसैबाट होला परदेशमा श्रम गरिरहेका नेपालीले केपी ओलीको दिन दिनै पतनको कामना गरिरहनु पर्ने अवस्था आएको पनि । मानव अधिाकार आयोगको स्थलगत अध्ययन अनुसार विदेशबाट उद्धार गनुृपर्नेहरुको सख्या १० लाखभन्दा बढी छ । 

ती नेपाली श्रमिकका नोपलमा परिवार छन् । एकवरावर पाँच जनाको परिवार मान्ने हो भने यो देशछाड भन्ने आवाज भनेको करिव पचासलाखको हो । 

यो अवस्थाले नै वताउँछ जसरी देश भित्र नागरिकले सरकार छ भन्ने अनुभुति गर्न पाएका छैनन, अव त सरकारको त्यस्तो अभाव देशबाहिर पनि खड्किन थालेछ । ओलीको सरकालार्ई विदेशमा रहेका नेपालीहरुले ठाँउ ओगटेर दुनियाँलाई दुख दिएको ठानेका रहेछन् । त्यसकारण प्रधानमन्त्री केपी ओली विरुद्ध नारा नै लाग्यो –  ‘देश छोड्’ भन्दै र यो सरकारको पतनको पर्खाइ पनि भैरह्हयो । 

यो भदौं चौथो हप्ता (२३ गते) को कुरा हो । खासगरी कामका सन्दर्भमा विदेशमा गएकाहरु कामकाज रोकिएर अलपत्र परी देश फर्कन पाउभनी पुकारा गरेको सातौ महिना लाग्दापनि सरकाले कुनै पहल नगरेपछि ती नेपाली प्रवासीमा धैर्र्य टुटनु स्वाभाविक थियो । 

आफूपनि नगर्ने अरुलाइ पनि नदिने 

यो बीचमा ती कम्पनीले आफै पैसा तिरेर नेपाल झारिदिने भए । तर सरकारले अनुमति दिएन । आफू पनि अनेक बहानाले त्यस्ता अलपत्र परेकालाई आफ्नो देश ल्याउने उतसाहमा देखिएन । यस्तै घटना बढदै जाँदाको परिणाम हो सरकार कति नाकामी रहेछ भन्ने ती नागरिकलाई भित्रै देखि अनुभूति भएको । 

यो हद बढेपछि नै हो साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीको आवास गृह परिसरमा नेपाली श्रमिकले आफ्ना देशको सरकारको विरोधमा नाराबाजी गरेका  । उनीहरुले विदेशबाटै प्रधानमन्त्री ओलीलाई ‘देश छोड्’ भन्दै गाली समेत गरेका विवरण आएका छन् । विदेशमा रहेका श्रमजीवी जनताले यसरी मुखै छाडेर गाली गर्नुपरेको अवस्थाको कारण पनि होला  ओली नेपालकै पहिलो चुत्थो सरकार भनी नामाकरण भएको । 

समाचारमा वताए अनुसार कम्पनीबाट काम गुमाएर नेपाल फर्किन विमान कुरिरहेका ती श्रमिक स्वदेश फर्किन नपाएपछि आफ्नै सरकारविरुद्ध आक्रोशित बनेका हुन् । उनीहरुले त्यहाँ नेपालका सडकमा हुने शैलीमै प्रदर्शन गरे । नेपाली कामदारले सुरुमा कम्पनीका अधिकारीसँग आफ्ना समस्या राखे । कम्पनीले नेपालकै दूतावासका कारण तत्काल श्रमिकलाई पठाउन नसकेको जानकारी दियो ।

महिनौंदेखि विमान कुरिरहेका उनीहरु नेपाल उड्ने मिति तय भएको अवस्थामा पनि आफूहरु स्वदेश जान नपाउने अवस्था देखेपछि उनीहरु थप आक्रोशित हुन पुगे । त्यसपछि लाग्यो, ‘केपी .., देश छोड’ देखि ‘नेपाली दूतावास खारेज गर’ को नारा । उनीहरुले सरकार र दूतावासलाई नाराबाटै ‘मूर्दावाद’सम्म भने । कम्पनीबाटकाम छुटेको र नेपाल फर्किने प्रतिक्षामा रहेको करिब ७ महिना समयको कुराहो यो । 

विदेशी आफ्ना आफ्नो पराई  

संसारभरीका देशले कोराना फैलिएको र लकडाउन लाग ेलगत्तै आफ्ना गरिकलाई  संसारभरीबाटै आफ्नो देश लगिसकेका छन् महिनौं अघिनै  ।  

 नेपाल पनि त्यसको उदाहरण छ । नेपालमा उनका आफ्नै इच्छाले बाहेक एकजनापनि विदेशी छैनन । एउटा छिमेकी देश भूटानले त  नेपालमा रहेका एकजना भूटानीलाई लान एउटा जेट विमाननै पठाएको थियो । 

पीडितले जानकारी दिए अनुसार कतिपय कम्पनीले श्रमिकलाई नेपालबाट जाने चार्टर्ड उडानकै टिकट काटिदिएका छन्, कतिपयले आफैंले चार्टर्ड उडान गर्न नेपालसँग अनुमति मागिरहेका छन् । कति नेपाली श्रमिक टिकट खर्च नभएर अलपत्र छन् । नाराबाजी भएको साउदीको यो सेमास्को कम्पनीमा करिब १० हजार नेपाली काम गर्छन् । यो पछिल्लो उडान कम्पनी आफैले पैसा तिरेर हुन लागेको थियो जो नेपालले अनुमति नदिएका कारण रोकियो र फेरी उनीहरु त्यहाँ त्यही महामारीको बीचमा ठूलो जोखिममा बस्न वाध्य भैरहे । 

अरु जे भएपनि कूनै एउटा देशमा श्रम गर्न गएको नेपालीको यतिठूलो सख्या वितेका सात महिनादेखि बेरोजगार छ भने तिनको अवस्था कस्तो होला ? आफ्नोे देशसंग उनका माग पनि धेरै ठूला र सरकारले गर्न नसकने खालका छैनन । बेरोजगारीले बेहाल बनायो आफ्नो घर जान पाउँ भन्ने मात्रै हो उनको माग । त्यति पनि नगर्ने हो भने कोही किन सरकारमा बस्ने ? तर बसिरहिएको छ त्यसैकारण त्यसलाई इतिहासकै चुत्थो भनिएको होला । 

धेरै ठाउँमा कम्पनीले आफैंले खर्च गरेर फर्किने व्यवस्था गरिरिदन आग्रह गर्दा समेत बेवास्ता गरिएको अवस्था त यी श्रमिकहरुका लागि यो सरकारले गरेको अक्षम्य अपराधनै हो । उनका लागि विदेशी कम्पनी आफ्नाभए, आफ्नो सरकार पराई । 

घाइतेपनि अलपत्र 

लेबनानमा अलपत्र परेका नेपालीको दुःख झनै डरलाग्दो छ र उनीहरु पनि अब सरकार विरुद्ध यसै गरी आक्रोस पोखिरहेका नै देखियो । सवैतिर यस्तै हो तर यो ठाउँमा बढी के भयो भने घाइते समेतको उद्धार भएन । 

जानकारीमा आउँ अनुसार लेवनानमा नेपाली कोरोना संकटमात्र होइन अर्को पनि पीडा छ लेबनानको बेरुतमा केही पहिले भएको विष्फोटपछि घाइते भएकाहरुको दुखद अवस्था । विस्फोटको घटनामा परेर घाइते भएका नेपालीहरु र नेपाल फर्किन खोजिरहेका छन् । तर, त्यहाँ नेपाल सरकारले जहाज पठाउने व्यवस्थै गरेको छैन  । 

लेवनान कोरोनाको कहर बढेको देशमध्येमा पर्छ । त्यहाँका पीडित अनुसार लेबनानबाट कतार एयरवेजले चार्टर्ड उडानको प्रयास गरेको थियो केही अघि । तर, नेपाल सरकारले अनुमति नदिएपछि नेपाली श्रमिकहरु अलपत्र परेका हुन् । उनीहरुको अनुभव छ– यहाँ श्रमिकहरु सरकार नै नभएको देशको मान्छे जस्ता भइसके, अरु देशले यहाँ विस्फोटपछि आफ्ना प्रभावित नागरिक लिएर गइसके, हाम्रो सरकारसँग गुहार माग्दा माग्दै थाक्ने अवस्था आयो । 

कतार, यूएई र कुवेतमा रहेकाहरुको पनि कथा उस्तैछ । यी ठाउँबाट पनि समस्यामा परेकाहरुलाई कम्पनी आफैं श्रमिक फर्काउन विमान चार्टर्ड गर्न तयार छन् । तर सरकारले यो बेलासम्म त्यस्तो नेपाली कामदारलाई नेपाल ल्याइदिने कामको अनुमति दिएको छैन ।

रोगको डरले पाँचलाख आए भोकको डरले पाँचलाख गए 

गएको चैत्र ताकाको अबस्था याद गरौं । त्यसबेला नेपाली जनता आफ्नो घर आउदा सीमा कटन दिइएन र रोए । अहिले आफ्नो देशको सरकारले भोकको कुनै व्यवस्था नगरेपछि रुदै रुदै भारत जानेको लर्को बढी रहेको छ । 

आएको पाँचलाख निश्चित नै भयो । गएकाहरुको अहिलेसम्म त्यसको आधा, दुइलाख पचास हजार पुगेको छ तर जानेका रप्तार जसरी बढी रहेको छ त्यसले छिटै आएजतिकै सख्या हुने देखिन्छ । सरकराले पहिले आफ्नै नागरिकलाई आफ्नै देश प्रवेशमा प्रतिवन्ध लगायो । यस्तो गर्ने देश संसारकै एक्लो होला र पहिलो पनि । 

त्यसबेला कतिसम्म गरियो भने बाबुआमा मर्दा किर्यागर्न समेत देशभित्र आउन दिइएन । रोकियो । आफ्नो घर आउन लागेका आफ्ना नागरिकमाथि लाठीचार्ज अश्रुग्यास र पानीका फोहोरा प्रहार भएका दृश्य सबैका सम्झनामा छन् । नेपाली नागरिक नेपाल प्रवेश गर्छ भनेर सीमा नदीको पुलमा ढोका लगाइदिएका र नदी पौडेर आउँदापनि नांगै समातरेर बजार घुमाएका ती दृश्यहरुले यस्तो पनि सरकार हुन्छ भन्ने प्रश्न जन्माएको थियो त्यसै बेला । 

यतिबेला नेपालीको घरमा दशैको चचाडपर्वको बेला हो । तर यो भेगका मान्छे दशै छाडेर भोकको उपचारमा त्यस्तो देश जादै छन् जो ज्यान र जोखिमका हिसावले अग्निकुण्डमा हामफाल्नु जस्तै हो । त्यतिखेर यता आउन रोक्ने सरकरले यतिबेला उता जन रोक्नुपर्ने थियो । 

वितेको महिना दुइमहिनादेखि भारत जानेका लर्को दिनको दुइतीन हजारको दर कायम छ । उता भारतमा अहिले कोरोना भाइरसका कारण प्रत्येक दिन एक हजारभन्दा माथिको सङ्यामा मानिसको मृत्यु भइरहेको छ । दिनहुँ ७० हजारभन्दा माथि सङ्क्रमित भेटिइरहेको देशभन्दा आफ्नो देश नेपाल अहिलेसम्म सुरक्षित छ । तर नेपाली किन देश छाडिरहेका छन् भन्ने सरकार चलाउनेहरुलाई बुझ्ने फूर्सद पनि भएको छैन । 

कोरोनाबाट सुरक्षाभन्दा भोक ठुलो रहेछ । आफ्नो देशमा, गाउँ–ठाउँमा गरी खाने कुनै उपाय नभएपछि फेरि उनीहरू जुन बाटो आएका थिए त्यही बाटो फर्किइरहेका अवस्था आफै सरकार भएनभएको उदाहरण हुनुपर्छ । आरोप जस्तो लाग्छ भने समाचारको पछिल्ला समय दिनैपिच्छे जस्तो आइरहने गरेका समाचारको एउटा  अँश –

कोरोना संक्रमणको डरले भारतबाट घर आएका नेपाली जोखिम मोल्दै फेरि फर्किन थालेका छन् । स्वदेश आउँदाजस्तै फर्किनेहरूको सीमामा लस्कर लागेको छ  । सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको तथ्यांकअनुसार पछिल्लो समय दैनिक औसत एक हजार नेपाली भारत गइरहेका छन्  । लकडाउन यताको पाँच महिनाको अवधिमा भारतबाट नेपाल फर्किनेको संख्या पाँच लाख रहेको सुरक्षा निकायको तथ्यांक छ  । यही अवधिमा दुई लाख २५ हजारभन्दा बढी नेपालबाट भारत गएको सशस्त्र प्रहरीले जनाएको छ । 

उनीहरूमध्ये भारतीय पनि छन् । लकडाउनयता भारतीय नागरिकलाई मात्रै भारत प्रवेशको अनुमति छ  । भारतीय आधार कार्ड भएका नेपाली सहजै गइरहेका छन् भने नभएका विभिन्न उपाय निकालेर नाका कट्ने प्रयास गरिरहेका छन् ।  पश्चिमी नाकाहरूबाट फर्किनेहरूको संख्या धेरै छ  । गाउँमा पाँच महिना बेरोजगार बस्दा पेट पाल्न नै समस्या हुन थालेपछि रोजगारीका लागि भारत फर्किनेहरू बढेका हुन् । 

विश्वमा दोस्रो नम्बरमा रहेको भारतमा आजभोलि दैनिक ९० हजारका दरले संक्रमितको संख्या बढिरहेको छ । तर, कोभिड हटस्पट भारत छिर्न विपन्न र बेरोजगार नेपालीको हुल सिमाना पुगेको छ । तर, कहिले रासन कार्ड त कहिले आधार कार्ड मागेर भारतीय सुरक्षाकर्मीले रोकिरहेका छन् । सीमाबाट फर्काइए पनि नेपाली गाउँ फर्कन तयार छैनन् । बरु अर्को दिन छिर्ने प्रयास गरिरहेका छन् । कोही तीन दिन भयो, कसैको चार दिन । यसरी विपन्न र बेरोजगार नेपाली भारत छिर्ने महाभारतमा छन् । 

नेपालगन्जको जमुनाहा नाकामा भेटिए दैलेखेको गुराँस गाउँपालिका गोगनपानीका सन्तोष विक । भारत छिर्न तीन दिनदेखि जमुनाहा प्रयास गरिरहेका उनले नयाँ पत्रिकासँग भने, ‘जनताबाट उठेको कर छ, त्यो जनताको पैसा हो । त्यसको सदुपयोग भइदिएको भए नेपालमा असम्भव केही थिएन । 

हामीले यही देशमा रोजगारी पाउने थियौँ, विदेशीको गुलामी गर्न धाउनुपर्ने थिएन । घरमा बुढाबुढी बाबु आमा र सानो बच्चा छ । यो महामारीको वेला मलाई बिदा गर्दा ती आमा र त्यो बच्चाको आँखाबाट आँसु झरेको छ ।’ यति भनेर उनी धेरैबेरसम्म निःशब्द भए ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  १० : ३९ बजे