Logo

विचार / ब्लग

नारी पितृसत्ताले ठगिएकी हुन् या प्रकृतिले ?



नेपाली नारीहरूको महान् पर्व हरितालिका तीज परापूर्वकालदेखि हिन्दू धर्मावलम्बीहरूले मनाउँदै आएका छन् । यो दिन विशेष पर्व सम्मmेर आआफ्नो जेथाअनुसार हाँसीखुसी रहेर बाबाआमा, दाजुभाइसँग रमाउँदै नाच्दै खाने दिन हो । दिनभरी मीठा मीठा परिकार बनाएर पटक पटक खाँदै गीत गाउँदै नाच्दै गर्ने अवसरको रूपमा पनि यस दिनलाई लिइन्छ ।

यो चाड महिलाहरूको सम्मानका लागि मात्र होइन, महिला अधिकारको दृष्टिकोणबाट पनि महत्त्वपूर्ण मानिन्छ । विगतमा महिलामाथि हुने विभेद, अन्याय र असमानताको विरुद्धमा बोल्ने अवसरको रूपमा पनि अभ्यास भएको पाइन्छ । खासगरी ग्रामीण संस्कृतिमा यो पर्व निकै महत्त्वपूर्ण हुन्छ । 

माइती चेलीलाई लिन जान्छन् । माइती गाउँ टाढा हुन्छ । चेलीका सासूससुरा र श्रीमान् सबैको अनुमती लिएर बल्ल बल्ल माइतीले चेलीलाई लिएर आउँछन् । यो समय चेलीलाई आफू स्वतन्त्र भएको महसुस हुन्छ । पिँजडामा थुनिएको चरीले उडन पाए जस्तो महसुस हुन्छ चेलीलाई ।  

खुल्ला आकाशमा आफ्नै दुनियामा बेग हानेर उडेको चरी जस्तै देखिन्छिन चेली । लामो हिँडाइ उकाली ओराली छिचोल्दै माइती घर आइपुग्दा थकाइले लखतरान भए पनि हाँस्दै उफ्रिँदै चुलोमा पुग्छिन् उनी । आमाले पकाइरहेको दर नजिकै बस्दा आमालाई पनि मायाको संसार भेटेजस्तो हुन्छ । आमा छोरीको माया साटासाट हुन्छ । लामो समयसम्म भेट्न नपाएकोमा एकाएक खुसीले मनमस्त हुन्छ । आमाले बनाएको दर खाँदै दुःख सुखका कुरा गर्दै समय बिताउँछन् । दरसँगै भोलि ब्रतका लागि तयार हुन्छन् । 

गाउँको जस्तो तीज सहरी परिवेशमा पाउन सकिन्न । सहरी महिलाहरूले महिनैँ दिन फरक फरक फेसनमा सजिएर क्याटरिङमा खाएको भोजनले तीजको दरभन्दा कुनै पार्टीको झझल्को बढी दिन्छ । आजकाल फरक फरक शैलीमा तीज मनाउने परम्परा दिन प्रतिदिन बढ्दै गएको छ । हाम्रा हजुरआमा, आमाहरू परम्परा धान्न, धर्मशास्त्रले पतिको आयु लामो हुने भगवान् शिव जस्तै तेजस्वी श्रीमान पाउने किंवदन्तीअनुसार परम्परालाई कायम राख्दै व्रत बस्छन् भने नवनारीहरू समाजको डरबाट वच्न व्रत बस्छन् ।

अर्कोथरी नारी देखावटी रूपमा मात्रै बस्छन् । अर्काथरी नारी हामी नारीवादी हौँ, यी पुराना रुढिवादी मान्दैनौँ भन्दै बियर र ह्विस्कीमा परिवर्तन खोजिरहेको पाइन्छ । आजभोलि चाडपर्व, रीतिरिवाज र संस्कृतिमा थुप्रै परिवर्तनहरू आउन थालको छ । सूचना प्रविधि एवं समाजिक सञ्जालले गर्दा पनि धर्म संस्कार रीति रिवाजमा फरक पन देखिन थालेको छ । यस वर्ष भने संसारभरी फैलिएको कोरोनाभाइरसको कारण चाडवाड पनि प्रविधिमा नै सीमित हुन पुगेको छ । 

आँखाले देख्न नसकिने चमत्कारी भाइरसले दुनियाँ तहसनहस बनाइरहेको छ । यो भाइरसवाट नेपाल पनि अछुतो छैन । चैतदेखि लकडाउनको चपेटामा परेका नेपाली नागरिकले निकै सास्ती भोगिरहेका छन् । चैते दशैँ, नयाँ वर्ष, असार १५, साउन १५ हँुदै नारीहरूको महान् पर्व हरितालिका तीज पनि निकै प्रभावित बनेको छ ।

परिवर्तित नारीवादी हुँ भन्नेहरू महिनौँसम्म तीजको दरखाने नाच्ने नचाउने महँगा गहना र कपडाले सजिन दिएन यस पटक कोरोनाको कहरले । सरकारले कोरोना रोकथामका लागि निषेधाज्ञा जारी गरेको थियो । अति आवश्यक कार्यबाहेक सम्पूर्ण आवात जावत गर्न रोक लगाएको थियो । तर पनि कतिपय महिलाले आआफ्नै घरमा तीज मनाए । 

साँझको बेला थियो, रोड चकमन्न थियो । म कार्यालयबाट घर फर्कंदैै गर्दा एक अधबैँसे महिला निकै पीडा लिएर पेप्सीकोला चोक नजिक रोइरहेकी थिइन् । मैले गाडीबाट नियालेँ । उनको आखाबाट बलिन्द्र आँसु झरिरहेको थियो । विरहमा छटपटिएर रोइरहेकी थिइन् । मनमनै सोचेँ आजको दिन पनि यी बैनी किन यसरी रोएकी होलिन् ? कतै कोरोना पो भएर हो कि मन डरायो । तैपनि उसको दर्दनाक रुवाइ देखेर उनको नजिकै गएर सोधेँ– के भयो बैनी ? किन रोएकी ? मैले एकाएक प्रश्न तेस्र्याएँ । उनी झन ठूलो आवाजले रोइन् । मेरो केही दोष छैन । म निर्दोष छु । म त्यस्तो मान्छे पनि हैन….। बैनी कसले के गर्यो ? मलाई झन पीडा भयो । मुटु दुखे जस्तो भयो । मैले उसको ढाडमा हात राख्दै नजिकै बसेर सोधेँ– के भयो बैनी म तिम्रो आफ्नै दिदी समान हुँ । मसँग सबै कुरा भन मन हल्का हुन्छ भन्दै सम्झाएँ । उनले भक्कानिएर भनिन् “मेरो आमाबाबा, दाजुभाउजू, भदाभदै सबै काठमाडौँमा नै छन् । दिदीहरू बाहिर छन् । सबै खुसी, सुखी र सम्पन्न परिवार छ ।” उनले अगाडि भनिन् “मेरो पनि सानो परिवार छ । हामी खुसी छौँ, स्वाभिमानी छौँ । हामीले कसैको केही पनि लिएका छैनौँ ।

हामीलाई भगवानको आशीर्वाद लागेको छ । तर दिदी आज हरितालिका तीज मलाई मेरो बुवा, आमा र भाउजूले दर खान आउनु भनेर बोलाउनु भयो । म यस्तो कोरोनाको बेला सरकारले गरेको निशेषधाज्ञा तोडेर, प्रहरीहरूको गाली खाँदै मेरो माइतीको सम्मान सम्झेर दरखान माइत गएँ । यस्तो बेलामा पनि भेट हुन पाएकोमा सबै जना हर्षविभोर हुनुभयो । सबैजना रमाइलो गर्दै सँगै बसेर दर खायाँै ।

आमाले यस पटक यस्तो महामारीमा पनि त आइस । दिदीहरू आउन पाएनन् । तँ मात्रै भए पनि आइस् सँगै दर खाना पाइयो । अर्को वर्ष जे होला… बाँचे मनाउँला मरे… त्यस्तो नभन्नु केही हुँदैन भन्दै हाँस्दै खायौ । एकाएक दाई आयो र एक्कासी कराउन थाल्यो । बुबा, आमा र म छक्क प¥यौँ । हैन यो किन कराको आजको दिन भन्दा भन्दै पनि उसले झन झन ठूलो स्वरले कराउन थाल्यो । कसको रिस पोखेको होला जस्तो लाग्दै थियो । 

उसले एक्कासि मतिर फर्किएर भन्न थाल्यो, “तँ घर भाडा होस्, मेरो सम्पत्तिमा आँखा लाउन आकि त किन आइस् ? गैहाल आफ्नै घर । मेरो घरमा एक मिनेट पनि नबस् गैहाल । …मेरो हात उठ्नुभन्दा पहिले गैहाल भन्दै कराउन थाल्यो । हैन किन कराको दरखाना आकि बहिनीलाई त्यस्तो नभन भन्दै आमा रुन थाल्नुभयो । बुवा केही बोल्न सक्नु भएन…लौ भन्नुस् दिदी दर खान बोलाएकी बैनीलाई कुनै दोष नै बिना साँझको बेलामा गैहाल भन्दा कुन चेलीको मन रुँदैन ? म पढेलेखेकी नारी हु ।

यस्ता पाखन्डी र संस्कार भुलेका पुरुषका लागि पानी नखाई व्रत बस्ने हामी नारी कस्ता हौँ ? के साँच्चै प्रकृतिले ठगिएको हुन त नारी ? कि पितृसत्ता सोच बोकेका पुरुषले ? मैले धेरै कुरा बुझेर पनि केही गर्न सकिन किनकि मलाई त मेरै बाबा आमाले र संस्कारले पराई घर पठाइसकेको छ । मेरो त केही अधिकार नै छैन नि । 

हामी स्वाभिमानी छौँ । मीठो नमीठो आफैँ गरेर खान सक्छौँ । खाना नपाएर आए जस्तै अपमान गर्न मिल्छ ? यस्ता पितृसत्ताको खास्टा ओडेका पुरुष धेरै छन् समाजमा । घरमा राणा शासन जताउने बाहिर विकासका नारा लगाउने । सत्ता र पदमा बसेर भ्रष्ट्राचार गर्ने यस्ता पुरुषलाई कस्ले पितृसत्ताको खास्टो खोल्ने हिम्मत गर्छ ?

ती बैनीको मर्मस्पर्शी रोदनसहितको बोलीले म स्तब्ध भए । मेरा आँखाबाट पनि आँसु बगिरहेको रहेछ । बिहे गरेर पराइ घर गैसकेकी बैनीलाई त यस्तो व्यवहार भनेपछि त्यो घरमा आमालाई बस्न कस्तो सास्ती होला ? श्रीमतीलाई कति पीडा दिएको होला ? छोरीलाई कस्तो भेदभाव गर्छ होला त्यो मान्छेले ? सामन्ती पाराले चलेको छ होला त्यो घर ? हे भगवान् हाम्रो संस्कार कता जाँदैछ ? संस्कार रीतिरिवाज सबै भ्रष्ट बनाइसके नियम कानुन कोही मान्दैनन् ।

यस्तै दरिद्र स्वभावका पुरुषका पञ्जाबाट कहिले मुक्ति पाउँछन् नारीले ? के समाज परिवर्तन गर्ने जिम्मा सरकारको मात्रै हो ? नागरिकको कुनै जिम्मेवारी हुँदैन र ? दाजुबाट बहिनी अपमानित हुन्छे त्यो पनि पर्वको दिन । आफू जन्मेको हुर्केको ठाउँ पराइ हुन्छ । यस्ता मान्छे सत्ता र सदनमा पुग्छन् भ्रष्ट्राचार गर्छ । आमा, दिदी, बैनी, श्रीमतीलाई पैतालाको धुलो जत्तिको मान्दैन । न्याय त अपराधीको हातमा गैसक्यो । अनि कसरी न्याय हुन्छ यो देशमा ? 

समयमै आआफ्नो ठाउँबाट सोचै सकारात्मक परिवर्तन गरौ । छोरा छोरी बराबर हुन एउटालाई काख अर्कोलाई  पाखा नगरौँ । छोरा छोरीभन्दा पनि सन्तान हुन् भन्ने कुरा मनैबाट लिऔं । सानैदेखि संस्कार सिकाऔँ । असल नागरिक बनौँ मानिसको जीवन आज छ भोलि छैन । घमण्ड र मै हँु भन्ने भ्रम त्यागौँ जवानी र पावरले सधैँ साथ दिँदैन । आमाबाबा, दिदीबैनी, श्रीमती, छोरी, दाजुभाइ सबैलाई सम्मान गरौँ इज्जत गरौँ । अरूलाई इज्जत गरेमा आफूलाई पनि इज्जत मिल्छ । पितृसत्ताको खास्टो ओड्न छाडौँ आफू बाचौँ अरूलाई पनि बाँच्न प्ररित गरौँ ।  

ती बहिनीको मर्मस्पर्शी भावनामा यो कलम चलाउन बाध्य बनायो । हे पुरुषहरू जसले ती बहिनीलाई रुवायौ । ती बहिनीको पनि तिम्रो जतिकै अधिकार छ त्यो बाबा आमाको घरमा  । 

प्रकाशित : १९ भाद्र २०७७, शुक्रबार