Logo

टिप्पणी

के केपी ओलीले प्रचण्डलाई धोका दिएकै हुन् त ?



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुका बीच असन्तुष्टि बढ्दै गएको विषय यतिबेला राजनीति वृतमा चर्चामा रहेको छ । पार्टी एकीकरण हुँदाका बखत भएका लिखित र कतिपय मौखिक सहमति कार्यान्वयनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उदासीन भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले अन्य नेताहरुसँग छलफल र भेटघाटलाई तीब्रता दिएका छन ।

पछिल्लो समय अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भए, गरेका सहमतिका विषयलाई कार्यान्वयन गर्न आलटाल गरेको, पार्टीका अन्य नेताहरुसँग छलफलनै नगरी निर्णय गर्ने गरेको तथा पार्टीमा दुई अध्यक्ष भए पनि एकलौटी ढंगले अघि बढेको जस्ता गम्भिर आरोप लाग्ने गरेको छ ।

ओलीका कतिपय अभिब्यक्तिले यी आरोपहरुमा केही सत्यता रहेको देखिन्छ । उदाहरणका लागि केहिदिन अघि काठमाडौंबाट प्रकाशित दुइ ठूला दैनिक पत्रिकामा उनले दिएको अन्तर्वार्तालाई गहन रुपले अध्ययन गर्ने हो भने माथि उल्लेखित आरोपहरुमा कही न कहीं सत्यता रहेको झल्को देखिन्छ । यद्यपि उनले यी आरोपहरुलाई गम्भिर रुपले लिएको देखिदैन । तर अर्का अध्यक्ष दाहालले शुरु गरेको नेताहरुसँगको बाक्लो भेटघाट, छलफल र गुनासोले भने ओलीमाथि लागेका आरोपहरुमा सत्यता रहेको स्पष्ट हुन्छ ।

दाहालका पछिल्ला गतिविधिलाई अध्ययन गर्ने हो भने प्रधानमन्त्री बेलगाम अघि बढेका छन ।अघिल्लो वर्षको जेठ २ गते पार्टी एकीकरणको निर्णय हुँदा दुई अध्यक्षले सहमतिका आधारमा सरकारको आलोपालो नेतृत्व गर्ने सहमति गरेका थिए । तर त्यसलाई ओलीले धोती लगाई दिएका छन ।

त्यस्तै मन्त्रिपरिषद् पुनर्गठन, बिभिन्न संबैधानिक आयोग एवं राजदूत नियुक्तिमा पार्टीका अन्य नेताहरुसँग छलफल वा परामर्श नगरी प्रधानमन्त्री ओलीले एकल निर्णयको आधारमा गर्ने गरेका छन । जबकी यस्ता विषयमा दुई अध्यक्षबीच छलफलबाट हुने सहमति भएको थियो ।शुरुमा ओलीलाई साथ दिएका दाहालका पछिल्ला गतिविधिलाई हेर्ने हो भने कुनैपनि बेला नेकपामा ठूलै भूईँचालो नजाला भन्न सकिन्न ।

अब के गर्लान केपी ओलीले ?

अहिलेसम्मको गतिविधिलाई हेर्ने हो भने ओलीले त्यति सजिलै दुइमध्ये एक पद छाड्नेवाला छैनन् । ओलीलाई नजिकबाट चिन्नेहरु भन्छन– चुनावमा पार्टीले जितेको दम्म अझै पनि उनमा छ । त्यसैगरी तत्कालिन माओवादी केन्द्रसँग भएको एकताको श्रेय पनि उनी आफैंलाई दिन्छन । त्यहाँमाथि बहुमत प्राप्त सरकारको नेतृत्व गरेका उनले पार्टीमा आफू सरह कसैलाई पनि देख्दैनन् ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा महिला काण्डमा मुछिएपछि ओली थप बलियो भएको कतिपय बताउँछन । त्यस्तै मन्त्रीपरिषदमा तत्कालिन माओवादीका पक्षबाट मन्त्री भएकाहरुको कार्यसन्तोषजनक नदेखिएपछि अर्का अध्यक्ष दाहाल तल परेको अनुमान अगाउनेहरुपनि धेरै छन ।

प्रचण्डलाई धोका ?

प्रधानमन्त्री ओलीले सहमतिलाई कार्यान्वयन नगर्दा भोग्नु परेको पिडा लामो समयसम्म मनमा दबाएर राखेका दाहाललाई भने यतिबेला उकुसमुकुस भएको छ । त्यसैको परिणाम हो उनका पछिल्ला गतिबिधिहरु । छोटै समयमा उनले पार्टीका अन्य नेताहरुसँग धेरै वटा छलफल गरिसकेका छन । तर अरु नेताहरुले पनि दाहाललाई त्यति सहजै विश्वास गर्ने आधार देखिदैन ।

पार्टीमा ओलीसँग टक्कर लिन सक्ने माधवकुमार नेपाल मात्रै हुन । तर पार्टी सचिवालयको अघिल्ला बैठकहरुमा दाहालले नेपालको साथ दिएका थिएनन् । ती बैठकहरुमा नै नेता नेपालले प्रधानमन्त्री ओलीले दुई पदमध्ये एक छाड्नु पर्ने अडान राखेका थिए । त्यसबेला प्रधानमन्त्री ओली र नेपाल बीच चर्काचर्की नै पर्यो । तर नेपाललाई कसैले पनि साथ दिएनन् । अहिले प्रचण्ड त्यही विषय लिएर नेता नेपाल कहाँ धाउने गरेका छन । यसैले पनि दाहालले सहजै अरु नेताको विश्वास पाइहाल्ने वातावरण देखिदैन ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार ०९:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।