युइएफए च्याम्पियन्स लिग अन्तर्गत जर्मन क्लब बोरुसिया डर्टमुन्ड समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको छ ।
गएराति रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गमाथि २–१ को पूनरागमन जित निकाल्दै डर्टमुन्ड समूह ‘एफ’ को विजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको हो ।
उक्त समूहबाट इटालियन क्लब लाजियाले पनि समूह उपविजेताको रुपमा अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । डर्टमुन्डले ६ खेलबाट १३ अंक जोड्यो ।
सेवास्टिन ड्रिउसीको गोलबाट डर्टमुन्ड खेलको १६औं मिनेटमा पछि परेको थियो । उनले एलेक्सेइ सुतोरमिनको पासमा गोल गरेका थिए । एक गोलले पछि परेको डर्टमुन्डले त्यसपछि घरेलु टोलीलाई लगातार दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।
६८औं मिनेटमा लुकास्ज पिसेस्चेकले गोल गर्दै डर्टमुन्डलाई खेलमा फर्काए । ७८औं मिनेटमा जाडोन सान्चोको पासमा एक्सेल विस्टेलले गोल गर्दै डर्टमुन्डलाई २–१ को अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा डर्टमुन्ड विजयी हुन सफल भयो ।




















प्रतिक्रिया