प्रधानमन्त्री केपी शर्माओलीले नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष हुने व्यवस्थाको मोडालिटि परिर्वतन गरेर प्रत्यक्ष निर्वाचित अध्यक्षको व्यवस्था गर्न आग्रह गरेका छन् । महासंघमा नयाँ नेतृत्व आएपछि सरकार प्रमुखलाई भेट्ने परम्परालाई अनुसरण गर्दै महासंघको टोली बुधबार साँझ प्रधानमन्त्री भेट्न गएको थियो, त्यहिबीचमा प्रधानमन्त्रीले यस्तो प्रस्ताव राखेका हुन् । उनले भने ‘बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने महासंघको विधान परिवर्तन गर्नुस र प्रत्यक्ष निर्वाचिन अध्यक्ष हुने व्यवस्था मिलाउनुहोस्,’ प्रधानमन्त्रीले सुझाए, ‘बरिष्ठ उपाध्यक्ष निर्वाचित भएको व्यक्तिले नराम्रो काम गर्यो भने पनि स्वत अध्यक्ष मान्नुपर्ने अवस्था आउन सक्छ, जुन त्यति उपयुक्त होइन ।’
ओलीेले भने कठिन परिस्थितिमा फुटेर भन्दा जुटेर अघि बढ्नुपर्ने आवश्यकता रहेको प्रधानमन्त्रीले भने । उनले निजी क्षेत्रलाई एकतावद्ध बनाएर लैजान महासंघका पदाधिकारीलाई सुझाए ।
यसरी प्रधानमन्त्री ओलीले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघलाई आपसमा एकीकरण हुन समेत सुझाव दिएका छन् । ‘चेम्बर अफ कमर्शको उदेश्य केही फरक भए पनि महासंघ र परिसंघको उदेश्य समान रहेको बताउँदै एकिकरण भएर अघि बढेमा निजी क्षेत्र अझ सबल, सक्षम र मजबुत रहने निवर्तमान अध्यक्ष भवानी राणाले बताईन् ।
त्यस्तै सरकार र निजी क्षेत्रबीच लामो समयदेखि सहकार्य भएको स्मरण गर्दै ओलीले आफ्नो सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न सदैब तयार रहेको बताए ।
‘सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प छैन, निजी क्षेत्रलाई काम गर्न सजिलो हुनेगरी सरकारले कुन कुन कानूनमा के कस्तो परिवर्तन गर्नुपर्छ, लेखेर दिनुस् त्यो गर्न सरकार तयार छ,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै बैठकमा सहभागी महासंघका विशिष्ट सदस्य पशुपति मुरारकाले भने ।
प्रधानमन्त्रीले निजी क्षेत्रलाई आन्तरिक उत्पादन, कृषि, निर्यात र रोजगारी बढाउन महत्वपूर्ण भूमिका खेल्न आह्वान पनि गरे ।
‘स्वदेशमै उत्पादन हुने वस्तु किन बाहिरबाट किन्ने ?’ प्रधानमन्त्रीले प्रश्न गरे ।
स्वदेशी उद्योगहरुलाई प्रोत्साहन गर्ने प्रतिवद्धता दोहोर्याएको भेटमा सहभागी वस्तुतग उपाध्यक्ष अञ्जन श्रेष्ठले जानकारी दिए । कर्मचारीतन्त्रले अलि घुमाउने गरेकाले निजी क्षेत्रले दुखः पाएको पनि प्रधानमन्त्रीले सुनाए ।
यसरी आफ्ना गुनासो सुनाउन र विभिन्न माग राख्न गएका व्यवसायीका कुरा सुन्नुभन्दा पनि प्रधानमन्त्रीले व्यवसायीलाई आफ्ना कुरा सुनाएर पठाएका हुन् ।
प्रधानमन्त्रीले सबै पदाधिकारीलाई बधाई दिए । खासगरी, महासंघ अध्यक्ष शेखर गोल्छा, बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र निवर्तमान अध्यक्ष पशुपति मुरारकालाई नामै लिएर बधाई दिए ।
प्रधानमन्त्रीसंगको भेटघाटमा अध्यक्ष गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा, विशिष्ठ सदस्य पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ, एसोसियट उपाध्यक्ष रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन उपस्थित थिए ।




















प्रतिक्रिया