Logo

पत्रपत्रिका

पछि हटे देउवा : १४औँ महाधिवेशनको कार्यतालिका संशोधन हुने



प्रमुख प्रतिपक्षी दल कांग्रेसमा देखिएको किचलो मत्थर हुने भएको छ । पौडेल–सिटौला समूहको दबाब थेग्न नसकेपछि गत ११ पुसमा गरिएको बहुमतको निर्णयबाट सभापति शेरबहादुर देउवा पछाडि हटेका छन् । २६ मंसिरमा केन्द्रीय समिति बैठक सुरु भएदेखि नै पौडेल–सिटौला पक्षको बहिष्कारका बीच संस्थापनले बहुमतबाट १४औँ महाधिवेशनको कार्यतालिका, विभाग गठन, क्रियाशील सदस्यका विषयमा विधानको धारा निलम्बनजस्ता महत्वपूर्ण निर्णय गरेको थियो । यसपछि कांग्रेसमा आपसी तिक्तता झन् बढेर गएको थियो ।

एक महिना लामो कसरतपछि बहुमतको निर्णयलाई सच्याउँदै महाधिवेशन गर्ने मुख्य मिति ९२०७७ फागुन ७ देखि १०० बाहेकका कार्यतालिकाका अरू विषयमा परिमार्जन गर्न सभापति देउवा तयार भएका हुन् । महामन्त्रीद्वय डा। शशांक कोइराला, पूर्णबहादुर खड्का, नेताहरू डा। मीनेन्द्र रिजाल र रमेश लेखकले महाधिवेशनको बाँकी कार्यविधि र कार्यतालिकालाई परिमार्जन गरेर १३ माघमा बस्ने केन्द्रीय समितिको बैठकमा प्रस्ताव पेस गर्नेछन् ।

देउवानिवास बूढानीलकण्ठमा शुक्रबार दिनभर भएको शीर्ष तहको वार्तामा नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा। शशांक कोइराला, पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा। मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए । ‘१४औँ महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म गर्ने र बाँकी विषयमा कार्यविधि र कार्यतालिकामा छलफल गरी परिमार्जनको प्रस्ताव १३ माघमा बस्ने केन्द्रीय समितिको बैठकमा पेस गर्छौँ,’ महामन्त्री पूर्णबहादुर खड्काले नयाँ पत्रिकासँग भने, ‘क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने र यसअघि केन्द्रीय समितिको निर्णयअनुसार नेविसंघको तदर्थ समिति गठन गर्ने समझदारी भएको छ ।

छलफलमा सहभागी नेता सिटौलाले निष्पक्ष महाधिवेशन हुने गरी कार्यतालिका परिमार्जन गरी केन्द्रीय समितिमा प्रस्ताव पेस गर्ने समझदारी भएको जानकारी दिए । ‘फागुन ७ ऐतिहासिक दिन भएकाले पनि महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म गर्ने, तर महाधिवेशन निष्पक्ष, सुनिश्चित हुने ग्यारेन्टीका लागि क्रियाशील सदस्यता छानबिन समिति गठन गर्न र कार्यतालिका परिमार्जनसम्बन्धी प्रस्ताव केन्द्रीय समितिमा ल्याउने समझदारी भएको छ,’ सिटौलाले भने, ‘बहुमतको निर्णयले संकट गहिरिएर गएको थियो । अब प्रतिस्पर्धा स्वच्छ महाधिवेशन निष्पक्ष बनाएर एकताको महाधिवेशनमा जानुपर्छ ।’

छलफलमा सहभागी नेता रजालले अब १३ माघसम्म परिमार्जनको प्रस्ताव केन्द्रीय समितिको बैठकमा पेस हुने जानकारी दिए । ‘हामीसँग अझै तीन दिन बाँकी छ । यसबीचमा महाधिवेशको मुख्य मितिबाहेक कार्यविधि र कार्यतालिकालाई संशोधन गर्ने गरी हामी प्रस्ताव तयार गर्न लाग्छौँ ।’

१२७ सदस्यीय नेविसंघ : तीन पक्षबीच भागबन्डा

नेताहरूबीच संस्थापन, पौडेल र सिटौला पक्षबीच भागबन्डा गरेर नेविसंघमा तदर्थ समिति गठन गर्ने समझदारी बनेको छ । भागबन्डामा सहमति भएपछि पौडेल र सिटौला पक्षले ३२ वर्ष उमेरहदको अडान छाडेका छन् । छलफलमा सहभागी नेता रमेश लेखकले १३ माघमै नेविसंघ समिति गठन गर्न लाग्ने जानकारी दिए । नैनसिंह महरले राजीनामा दिएपछि नेविसंघ नेतृत्व खाली भएको एक वर्ष बितिसकेको छ ।

सभापति देउवाले तदर्थ समिति गठन गर्दा ३२ वर्षमाथि गठन गर्न सक्ने भएका छन् । तर, महाधिवेशन गर्न बन्ने तदर्थ समितिमा बसेकाहरू १२औँ महाधिवेशनमा उम्मेदवार बन्न नपाउने भएका छन् । महरले राजीनामा दिएको दिनसम्म ३२ वर्ष उमेर ननाघेकाले १२औँ महाधिवेशनमा उम्मेदवार बन्न पाउने गरी सहमति भएको नेता डा। मीनेन्द्र रिजालले जानकारी दिए । नेविसंघको अध्यक्षमा सभापति देउवाले राजीव ढुंगानालाई बनाउन खोजेका छन् । बाँकी पदाधिकारी तीन गुटबीच भागबन्डामा तय हुनेछन् । संस्थापनले ६० प्रतिशत राखेर बाँकी ४० प्रतिशत दुई पक्षलाई भागबन्डामा दिनेछ ।

४८ केन्द्रीय विभाग यथावत्

कार्यतालिका सच्याउन संस्थापन तयार भएपछि बहुमतका आधारमा बढाइएका विभागको संख्या यथावत् रहने भएका छन् । ‘समझदारी बनेको कसैले केही छोड्ने र कसैले केही लिएपछि हुने हो । कार्यतालिका सच्याउनेसहितका विषयमा समझदारी भएपछि केन्द्रीय विभाग ४८ नै रहने भएका छन्,’ लेखकले नयाँ पत्रिकासित भने, ‘संख्यामा सहमति भएपछि अब सहमतिमा विभाग गठन हुन्छन् ।’

संस्थापन इतर पक्षले महाधिवेशनको सुनिश्चितताका लागि क्रियाशील सदस्यता छानबिन समिति गठनको माग गरेको थियो । बैठकले सात सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । जसले सदस्यताको वितरण र नवीकरण भएपछि आएका उजुरी र विवादको विषयलाई मिलाउने जानकारी लेखकले दिए । ‘सदस्यताको छानबिन गर्न सात सदस्यीय समिति गठनको समझदारी भएको छ । यो समितिले यसअघि भएको नरहरि आचार्य नेतृत्वको समितिको कार्यादेशअनुसार काम गर्छ,’ लेखकले भने, ‘सदस्यता वितरण र नवीकरणपछि आएका उजुरी र विवादलाई यसले हेरेर छानबिन गर्छ ।’ नयाँ पत्रिकाबाट

प्रकाशित मिति : माघ ११, २०७६ शनिबार  ८ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।