सत्तारूढ नेकपाको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वयले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्ने प्रस्ताव गरेका छन्। पार्टी एकताको २१ महिनापछि बुधबार काठमाडौंमा सुरु भएको बैठकमा संयुक्त राजनीतिक प्रस्ताव पेस गर्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले घुमाउरो भाषामा यस्तो प्रस्ताव गरेका हुन्।
एमसीसीबारे राजनीतिक दस्तावेजमा केही उल्लेख नगरिए पनि राष्ट्रिय हितलाई सर्वाेपरि राखी ‘संयुक्त राज्य अमेरिकालगायत संसारका सबै देशसँग पारस्परिक हितका आधारमा आर्थिक सहयोग र विकास कार्यमा साझेदारी गर्न तत्पर रहने’ उल्लेख गरेर ओली–दाहालले एमसीसी स्वीकार गर्ने संकेत गरेका हुन्।
प्रधानमन्त्री ओली एमसीसी प्रतिनिधिसभाबाट अविलम्ब पारित गर्नुपर्ने पक्षमा छन्। पार्टीका केही नेताहरूले एमसीसी इन्डो–प्यासिफिक रणनीतिकै अंग भए÷नभएको प्रश्न उठाइरहेका बेला अध्यक्षद्वयले एमसीसी र इन्डो प्यासिफिक अलग रहेको देखाउन दस्तावेजमै प्रयास गरेका छन्।
नेपाल सरकार र पार्टी बाह्य सैन्य गठबन्धनको हिस्सा कहिल्यै नबनेको भन्दै ओली–दाहालले सैन्य रणनीतिका रूपमा कुनै पनि आर्थिक र राजनीतिक सहयोगको कुरा अगाडि आएमा स्वीकार नगर्ने प्रस्ट्याएका छन्।
‘हाम्रो पार्टी र सरकारले आफू कुनै पनि बाह्य सैन्य गठबन्धन र सैन्य रणनीतिको हिस्सा कहिल्यै नभएको र हुन पनि नसक्ने स्पष्ट गरेको छ। सैन्य रणनीतिकै रूपमा अन्य कुनै पनि आर्थिक र राजनीतिक सहयोगको प्रस्ताव अगाडि आएमा नेपालले त्यस प्रकारका कुनै पनि सहयोग प्रस्ताव मञ्जुर गर्न सक्दैन,’ राजनीतिक प्रतिवेदनको पृष्ठ ८ मा छ, ‘तर नेपालको राष्ट्रिय हितलाई सर्वाेपरि राखी संयुक्त राज्य अमेरिकालगायत संसारका सबै देशसँग पारस्परिक हितका आधारमा आर्थिक सहयोग र विकास कार्यमा साक्षेदारी गर्न नेपाल सधैँ तत्पर छ।’
अमेरिकाको इन्डो प्यासिफिक रणनीति उसको हिन्द महासागर वरिपरिका क्षेत्रहरूमा आफ्नो प्रभाव विस्तार गर्ने, प्रभुत्व कायम गर्ने, पहिलो आर्थिक शक्तिका रूपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्ने सैन्य रणनीतिका रूपमा अगाडि आएको दस्तावेजमा उल्लेख छ।
प्रधानमन्त्री ओलीले अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटेजी र अमेरिकाले नेपालमा गर्न खोजेको सहयोग परियोजना एमसीसी फरक रहेको पार्टी बैठकको उद्घाटन मन्तव्य दिने क्रममा बताएका थिए। उनले भने, ‘एमसीसीका विषयमा अनावश्यक विवाद भयो। यसभित्र नेपाललाई होच्याउने कुरा छैन। यो अन्य कुनै स्ट्राटेजीसँग साइनो छैन। इन्डो प्यासिफिकसँग जोडिएको भन्नु बेकारको कुरा हो, त्योसँग जोडिएको छैन।’ अन्नपूर्ण पोस्टबाट





















प्रतिक्रिया