‘अहिलेको स्थितिमा नेकपाले पार्टी, नेताकार्यकर्ता र जनताको जिम्मा कसरी लिन सक्छ ? हाम्रो जीवनशैली र रहनसहन सुधार्न चाहेनौं भने अन्तर्रा्ष्ट्रिय कम्युनिस्ट आन्दोलनको नकारात्मकतासँग नेकपाको भविष्य नजोडिएला भन्ने ग्यारेन्टी के छ ?
सत्तारूढ नेकपाको पार्टी केन्द्रीय समिति बैठकमा शुक्रबार समूह नेता बनेर रिपोर्टिङ राख्ने क्रममा युवा नेता लेखनाथ न्यौपानेले उठाएका प्रश्न हुन् यी । उनले गुटले पार्टीलाई भित्रभित्रै खाइसकेको भन्दै शीर्ष नेतृत्वले नै दिवंगत भइसकेका राष्ट्रिय|अन्तराष्ट्रिय नेताका नाममा गुट परिचालन गरिरहेको बताए । पार्टी अध्यक्षकै राजनीतिक प्रतिवेदनमा अनुशासनको स्थान गुट अनुशासनले लिन थालेको उल्लेख भएको उनको भनाइ छ ।
‘गुटले पार्टी खायो । यो पार्टी हो कि होइन अब थाहा भइहाल्छ । गुटको नेतृत्व माथिबाट भयो । गुट परिचालन मरेका राष्ट्रिय–अन्तराष्ट्रिय नेताहरूका नाममा भइरहेका छन् । त्यसको मूल्यांकन कसरी गर्ने ? ’, न्यौपानेले प्रश्न गरे ।
प्रदेशको पार्टी संगठनात्मक अवस्थाबारे शुक्रबार बोलेका प्रदेश अध्यक्षहरूले पनि गुटबन्दी अन्त्यमा नेतृत्वले ध्यान नदिएको टिप्पणी गरे । सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले भने, ‘पार्टी कामको एउटा कार्ययोजना बन्छ । तर त्यसलाई भत्काउने काममा गुट प्रभावशाली हुने गरेको छ । यसले तलका कमिटी लथालिंग बन्ने समस्या छ । यस्तो समस्या भत्काउने कसरी ? नेतृत्वबाटै उपाय चाहियो ? ’
विधानतः ६ महिनामा बस्नुपर्ने पार्टी केन्द्रीय समिति बैठक २१ महिनामा बोलाइएको, विधानअनुसार पोलिटब्युरो गठन नभएको, पार्टीलाई नेताहरुले निजी निवास, होटल र पार्टी प्यालेसबाट सञ्चालन गरेको भन्दै नेताहरूले असन्तुष्टि पोख्न थालेका छन् ।
प्रदेश २ को संगठनात्मक अवस्थाको रिपोर्टिङ राखेका नेता प्रभु साहले प्रदेशभित्र माथिल्लो तहबाटै गुटबन्दी गरिएको गम्भीर आरोप लगाए । ‘पार्टी विधान र निर्देशनको अधीनमा रही व्यापक छलफलसहित हामीले हरेक निर्णय सर्वसम्मत गरेका छौँ । त्यसमा कुनै पनि विवाद छैन’, अध्यक्ष साहले बैठकमा भने, ‘तर सबै विवाद बनावटी र माथिल्लो तहकै नेतृत्वबाट निर्देशित छ । जसका कारण केही जिल्ला कमिटीमा अझै शपथ ग्रहण हुन सकेको छैन ।’
साहले बैठक हलभित्र प्रदेशको संगठनात्मक अवस्थाको रिपोर्टिङ गरिरहँदा मधेसकै दुई नेता रामचन्द्र झा र रघुवीर महासेठबीच भने राष्ट्रियसभा गृहको देब्रेपट्टि कुनामा चर्काचर्की परेको थियो । अन्नपूर्ण पोस्टबाट





















प्रतिक्रिया