भारत, बंगलादेश, अमेरिका, बेलायत, दक्षिण कोरिया, अस्ट्रेलिया, जापानलगायत देशले वुहानबाट नागरिक फिर्ता गरेर बेग्लै ठाउँ व्यवस्थापन गरी विशेष निगरानीमा राखेका छन् । तर, चीनबाट उद्धार गरेर ल्याएपछि नागरिकलाई घर पठाउने वा अलग्गै राख्ने भन्ने स्पष्ट छैन । चीनबाट नागरिक ल्याउने र उनीहरूको सुरक्षित व्यवस्थापन प्रबन्ध गर्ने प्रक्रियाको संयोजन गर्न मुख्यसचिव लोकदर्शन रेग्मीलाई जिम्मा दिइएको छ ।
नागरिक उद्धार र सुरक्षित व्यवस्थापनबारे छलफल गर्न शनिबार प्रधानमन्त्री केपी ओलीले सरोकारवाला मन्त्रालयका मन्त्री र अधिकारीहरूलाई बालुवाटार बोलाएका थिए । ‘वुहानमा भएका विद्यार्थी र तिनका अभिभावकको चिन्ता र चासो सम्बोधन गर्न प्रधानमन्त्रीले आज एक किसिमको आकस्मिक बैठक बोलाउनुभएको थियो । नेपाली विद्यार्थीलाई वुहानबाट फिर्ता ल्याउने भन्ने त स्पष्ट नै छ, तर तयारी के–कसरी गर्ने भन्ने विषयमा बैठकमा छलफल भयो,’ सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भने ।
वुहानबाट नागरिकलाई ल्याएपछि उनीहरूको क्वारेन्टाइन जाँच गर्ने, आइसोलेसनमा (अलग्गै) राख्ने, आवश्यक परेमा उपचारको व्यवस्था गर्ने विषयमा बैठकमा छलफल भएको सञ्चारमन्त्री बाँस्कोटाले बताए । ‘सरकारकै निर्देशनअनुसार बेइजिङस्थित दूतावासले वुहान र वरिपरिका विद्यार्थीको विवरण संकलन गर्दै छ । यसका लागि सूचना निकालेर फारम भर्न लगाइएको छ,’ उनले भने, ‘विद्यार्थीको स्वास्थ्य र अभिभावकको चिन्ताप्रति सरकार गम्भीर छ । आवश्यक सम्पूर्ण दायित्व पूरा गर्न सरकार प्रतिबद्ध छ । त्यसैको तयारीका लागि प्रधानमन्त्रीले सरोकारवाला मन्त्रालय र विभागलाई स्पष्ट निर्देशन दिनुभएको छ ।’ नयाँ पत्रिकाबाट





















प्रतिक्रिया