पार्टीको आन्तरिक जीवनमा दीर्धकालीन महत्व राख्ने निर्णय गर्दै नेकपाको पाँच दिनसम्म चलेको केन्द्रीय कमिटी बैठक आइतबार सकिएको छ । तर, बैठकमा केन्द्रीय सदस्यहरूले उठाएका मूर्त प्रश्नमा नेतृत्वको भने अमूर्त जवाफ आएको छ । बैठकमा उठेका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिए भने अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समापन मन्तव्य राखे ।
संगठनात्मक प्रतिवेदन र विधान संशोधनका विषयमा उठेका प्रश्नको महासचिव विष्णु पौडेलले जवाफ दिए । बैठकमा पेस भएका राजनीतिक एवं संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । विधान संशोधन प्रस्ताव पारित भएसँगै वामदेव गौतम उपाध्यक्ष भएका छन् भने विवादमा रहेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे अध्ययन कार्यदल बनाउने मध्यमार्गी बाटो अपनाइएको छ ।
त्यस्तै, नेकपाको एकता महाधिवेशन २५–३० चैत ०७७ मा गर्ने निर्णय गरिएको छ भने त्यसअघि जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्नेगरी तयारी गर्ने बैठकको निर्णय छ । आगामी १५ दिनभित्रै केन्द्रीय निकायको सांगठनिक एकीकरण सम्पन्न गर्ने, फागुनबाट तीनमहिने संगठनात्मक तथा जनपरिचालनको विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
लिम्पियाधुरा, कालापानी, लिपुलेकसहित नेपालको सबै भूभाग समेटिएको नक्सा प्रकाशित गर्न सरकारलाई विशेष अनुरोध गर्ने, आगामी अधिवेशन र महाधिवेशनबाट सबै कमिटीहरूमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने, पार्टी सदस्य आचारसंहितालाई परिमार्जनसहित पारित गर्ने, पोलिटब्युरो कमिटी छिट्टै गठन गर्ने पनि बैठकले निर्णय गरेको छ । पार्टीभित्र अध्ययन, बहस र छलफललाई प्रोत्साहित गर्ने, निर्वाचन प्रणालीलाई कम खर्चिलो, जनमुखी बनाउन बहस आरम्भ गर्ने र पार्टीलाई अझ बढी अनुशासित बनाउनेसहितका निर्णय पनि भएका छन् । अध्यक्षद्वय ओली र प्रचण्डले सम्बोधनमा बैठकबाट पार्टीलाई अझ सुदृढ, एकताबद्ध बनाउन बल पुगेको बताएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यससँगै बैठकले ११ बुँदे समसामयिक प्रस्ताव पनि पारित गरेको छ । तीन महिनाभित्र शिलान्यास गर्ने गरी पार्टी केन्द्रीय कार्यालय निर्माणको काम अगाडि बढाउने नेकपाको निर्णय छ । भवन निर्माण गर्न पार्टीका सम्पूर्ण सदस्यहरूले न्यूनतम एक दिनको तलब वा आम्दानीबराबरको सहयोग गर्न र शुभेच्छुकहरूलाई दिल खोलेर सहयोग गर्न नेकपाले अपिल गरेको छ । एकताका बाँकी काम पूरा गर्ने, पार्टीलाई जनताको माझमा पुर्याउने र अझ सशक्त बनाउने, सरकारलाई अझ प्रभावकारी बनाउने संकल्पसहित देशको शक्तिशाली पार्टी बनाउने भावनात्मक एकतासहित बैठक सम्पन्न भएको शीर्ष नेताहरूको निष्कर्ष छ । तर, सत्तारुढ दलको केन्द्रीय समितिको बैठकमा शिक्षा, स्वास्थ्य, रोजगारी र महँगीलगायतका जनसरोकारका विषयमा चाहिँ व्यापक छलफल हुन सकेन । नयाँ पत्रिकाबाट





















प्रतिक्रिया