पक्की धावनमार्ग बनेको ७ वर्षपछि गत भदौ २७ गते हिमाली जिल्ला मनाङमा जहाज अवतरण भयो । समिट एयरको परीक्षण उडानबाट हुम्डे विमानस्थल ओर्लिएका गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले असोज १० गतेदेखि मनाङमा नियमित उडान हुने बताए ।
भाषण गरेको चार महिना बित्दा पनि विमानस्थलमा त्यसपछि जहाज नआएको ङिस्याङ गाउँपालिका–४, हुम्डे मनाङकी विष्णु गुरुङले बताइन् । मन्त्री लम्सालले नियमित उडानसँगै मनाङमा चारदिने प्याकेज बनाउने घोषणा गरेका थिए । आन्तरिक पर्यटन वर्ष २०१९ र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर मनाङको हुम्डे विमानस्थलमा नियमित उडान गरिने उनको भनाइ थियो । तर, मन्त्रीको कुरा भाषणमै सीमित भयो । पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले उडान नहुँदा मनाङवासी समस्यामा परेको बताए । ‘हामीलाई पटक–पटक झुक्याइयो,’ उनले भने, ‘बरु, नसक्ने भए सकिँदैन भन्दा राम्रो हुन्छ ।’
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले मनाङमा जहाज लाने पहल भइरहेको बताएका छन् । ‘यसअघि विविध कारणले भएन । हामी छलफलमै छौँ,’ उनले भने । नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष ०६९÷७० मा ९ करोड रुपैयाँ खर्च गरेर धुले धावनमार्गलाई विस्तार गरी कालोपत्रे बनाएको थियो । ६ सय मिटरको धावनमार्ग ९ सय मिटर बनाइएको छ । तत्कालीन मन्त्री तथा प्राधिकरणका अधिकारी चढेर मंसिरमा धावनमार्गमा जहाज परीक्षण गरिएको थियो । त्यसयता वायुसेवा निगमको जहाज मनाङ पुगेकै छैन । नयाँ पत्रिकाबाट





















प्रतिक्रिया