सरकारले चीनबाट उद्धार गरेर ल्याउने नागरिकलाई राख्ने ठाउँ (क्वारेन्टाइन) को टुंगो मंगलबार लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा सेना र प्रहरीका चिकित्सकसमेतको पाँच सदस्यीय टोलीले सोमबार सम्भावित २५ स्थानको अवलोकन गरेको छ । तर, निर्णय भइनसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए ।
‘प्रधानमन्त्रीले दिएको समय मंगलबार सकिँदै छ, त्यसैअनुसार हामीले द्रुत गतिमा काम गरिरहेका छौँ,’ प्रवक्ता श्रेष्ठले भने, ‘मंगलबार कहाँ राख्ने भन्ने निर्णय हुन्छ ।’ उनका अनुसार सरकारले बढीमा चार दिनभित्र चीनबाट नागरिक ल्याउने तयारी गरेको छ । यस्तो समस्यामा के गर्ने भन्ने पूर्वतयारी अभावका कारण क्वारेन्टाइनको टुंगो लाग्न समय लागेको उनले बताए ।
सरकारले चीनबाट फर्किनेहरूलाई एउटा कोठामा तीनजनाका दरले राख्ने प्रबन्ध गर्दै छ । उनीहरूका लागि बेड, लुुगाजस्ता विभिन्न ३७ थरी सामग्री आवश्यक पर्ने चिकित्सकको भनाइ छ । सोमबार मुख्यसचिवको कार्यालयमा भएको छलफलमा सेनाको सैनिक स्वास्थ्य महानिर्देशक डा. सुनीलकुमार सिंहलगायतको टोलीले आवश्यक मेडिकल सामग्री जुट्नुपर्नेमा जोड दिएका थिए । ‘कहाँ राख्ने भन्दा पनि सामग्री व्यवस्थापन मुख्य हो, यसको व्यवस्थापन भएपछि ठाउँका लागि समय लाग्दैन,’ स्रोतका अनुसार सैनिक चिकित्सकहरूले मुख्यसचिव लोकदर्शन रेग्मीसहितको टोलीलाई सुझाब दिएका थिए ।
चीनको हुबेई प्रान्तबाट फर्काइनेहरूलाई राखिने विभिन्न स्थानका विषयमा सेनाले तयारी गरिरहेको र मंगलबार प्रधानमन्त्री कार्यालयमा विस्तृत ब्रिफिङ गरिने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । ‘सोमबार विभिन्न मेडिकल उपकरण र सामग्रीका विषयमा छलफल भयो, मंगलबार हामी विस्तृत योजना प्रस्तुत गर्दै छौँ,’ पाण्डेले नयाँ पत्रिकासँग भने, ‘त्यसपछि सरकारले निर्णय गरेर दिने जिम्मेवारी हामी दु्रत गतिमा पूरा गर्छौँ । सेना सक्रियतापूर्वक आफ्नो तयारीमा लागेको छ ।’
क्वारेन्टाइनसहितको प्रबन्ध सुनिश्चित भएपछि सरकारले उडानसहितको सम्पूर्ण विवरण चीनलाई पठाउनेछ । त्यसपछि नेपालीहरू फिर्ता हुनेछन् । बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले सोमबार टेलिफोनमा भने, ‘सरकारले आवश्यक प्रबन्ध गर्दै छ भन्ने जानकारी आएको छ । त्यसपछि विस्तृत विवरण चीनलाई दिइनेछ र नेपालीहरू फिर्ताका लागि प्रक्रिया सुरु हुनेछ ।’ नेपाल फर्किन आइतबार नै एक सय ८० जनाले फारम भरेर दूतावासमा पठाइसकेका छन् । नेपाल वायु सेवा निगमको वाइडबडी विमान उद्धारका लागि तयारी अवस्थामा राखिएको छ । नयाँ पत्रिकाबाट





















प्रतिक्रिया