Logo

पत्रपत्रिका

विशिष्ट कर्मचारीको गैरजिम्मेवारीपन : सचिव पद छाडेर पैसाका लागि अन्तराष्ट्रिय संस्थाको जागिरे



कृषिसचिव डा. युवकध्वज जिसीले संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) मा जागिर खान पदबाट राजीनामा बुझाएका छन् । सेवा अवधि झन्डै दुई वर्ष बाँकी छँदै उनले राष्ट्रसंघको जागिरका लागि मुख्यसचिव लोकदर्शन रेग्मीलाई राजीनामा बुझाएका हुन् । उनले एफएओमा क्षेत्रीय प्रमुखका रूपमा काम गर्न आवेदन दिएका थिए । एफएओले छनोट गरेपछि उनले विशिष्ट श्रेणीको कर्मचारीबाट राजीनामा दिएका हुन् । तर, सरकारले उनको राजीनामा स्वीकृत गरिसकेको छैन ।

सचिवको कार्यकाल दुई वर्ष बाँकी छँदै स्वास्थ्यसचिव डा. पुष्पा चौधरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा जागिरे कर्मचारीका रूपमा आबद्ध भइन् । सरकारले राजीनामा स्वीकृत नगर्दै उनले डब्लुएचओमा जागिर सुरु गरिन् । यतिवेला चौधरी भारतको नयाँदिल्लीस्थित डब्लुएचओको ‘कन्ट्री अफिस’को पी–फाइभ (सहसचिव तह)मा कार्यरत छिन् । त्यही जागिरका लागि उनले १३ कात्तिकमा सचिवबाट राजीनामा बुझाएकी थिइन् ।

तर, सुरुमा उनको राजीनामा मन्त्रिपरिषद्ले अस्वीकृत गरेको थियो । आफ्नो राजीनामा अस्वीकृत गर्ने निर्णय पुनर्विचार गरिदिन निवेदन दिएर चौधरी पुनः सम्पर्कविहीन भएकी थिइन् । सरकारसँगको सम्पर्कबाहिर पुगेकी उनले राजीनामा स्वीकृत नहुँदै डब्लुएचओमा काम थालिन् । चौधरीले डब्लुएचओमा जागिर खान थालेको तथ्य सार्वजनिक हुँदा दुई महिना बितिसकेको थियो । गत २७ पुसमा मात्र सरकारले उनको राजीनामा स्वीकृत गरेको थियो ।

मुख्यसचिवबाट राजीनामा दिएर एडिबीको वैकल्पिक निर्देशक

मुख्यसचिव छँदै डा. सोमलाल सुवेदी राजीनामा दिएर एसियाली विकास बैंक (एडिबी)को जागिर खान फिलिपिन्स गएका थिए । एडिबीका लागि सरकारले नै उनलाई मनोनयन गरेको थियो । मुख्यसचिवबाट राजीनामा दिएर सुवेदी १ साउन ०७४ मा नेपालको तर्फबाट एडिबीको वैकल्पिक निर्देशक बनेर फिलिपिन्सको मनिला गएका थिए । मुख्यसचिवका लागि करिब एक वर्ष समय बाँकी छँदै सरकारले उनलाई एडिबीको वैकल्पिक निर्देशक पदका लागि मनोनयन गरेको थियो ।

एक वर्ष नपुग्दै ३१ जेठ ०७५ मा बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई एडिबीबाट फिर्ता बोलाउने निर्णय गर्‍यो । डा। सुधा शर्मा पनि बीचमै राजीनामा दिएर बाहिरिने विशिष्ट श्रेणीको कर्मचारी हुन् । उनले ०६८ पुसमा पदबाट राजीनामा दिएकी थिइन् । साढे दुई वर्ष कार्यकाल बाँकी छँदै शर्मा स्वास्थ्यसचिवबाट राजीनामा दिएर युनिसेफको तान्जानियास्थित स्वास्थ्य तथा पोषण प्रमुखका रूपमा ‘पी–फाइभ’ तहमा काम गर्न गएकी थिइन् ।

एक–दुई वर्ष ‘कुलिङ पिरियड’ राख्नुपर्छ : विमल कोइराला,पूर्वमुख्यसचिव

सरकारी सेवाको आकर्षक पद छाडेर कुनै संघ–संस्थामा जागिर खान जाने भन्ने विषयमा मूलतः दुईवटा पक्ष देखिन्छन् । एउटा, आर्थिक पक्ष हो । यसमा अन्तर्राष्ट्रिय संघ–संस्थामा आकर्षक तलब र सेवा–सुविधा पाउने विषय जोडिन्छ । अर्को, व्यावसायिक विकासको पक्ष पनि हो । अन्तर्राष्ट्रिय संघ–संस्थामा काम गर्दा व्यावसायिक विकास हुने लालचले पनि उनीहरू त्यतातिर आकर्षित हुन्छन् ।

नेपालमा सरकारी सेवावधि सकिएपछिको भविष्य नदेखेपछि र उमेर बाँकी नै हुँदा उनीहरूले विकल्प खोजिरहेका हुन्छन् । यो विषयलाई व्यक्ति आफैँ र सरकारले पनि सोच्ने अवस्था आएको छ । विशिष्ट श्रेणीको व्यक्ति नै सरकारी सेवा छाडेर गएपछि यसले सरकारी सेवाको समग्र वातावरणमै असर गर्छ । यो नितान्त व्यक्तिगत विषय पनि हो, सँगसँगै सरकारले पनि सोच्ने विषय हो । सरकार आफैँले अघिल्लो दिन राजीनामा दिन लगाएर भोलिपल्ट संवैधानिक अंगमा नियुक्त गरेको उदाहरण पनि छ । सरकारले गरेको चाहिँ नैतिक हुने, व्यक्तिले गरेको अनैतिक हुने भन्ने पनि हुँदैन । सेवानिवृत्त भएपछि एक–दुई वर्ष ‘कुलिङ पिरियड’ राख्यो भने पनि यसले थिति बसाउन मद्दत गर्छ । यसर्थ, यसका लागि एउटा प्रणाली नै बसाउनु जरुरी छ ।

विशिष्ट श्रेणीका कर्मचारीले बीचमै किन छाड्छन् जागिर ?

निजामती सेवामा सबैभन्दा ठूलो पद मुख्यसचिव हो । त्यसपछि सचिव हुन्छ । तर, विशिष्ट श्रेणीको कर्मचारी भएकै अवस्थामा जागिर छाडेर विदेशी संघ–संस्थामा काम गर्न जाने प्रवृत्ति बढेको छ । पूर्वमुख्यसचिव विमल कोइराला सेवानिवृत्त भएपछि एक–दुई वर्ष ‘कुलिङ पिरियड’ राख्न सके यस्ता प्रवृत्ति निरुत्साहित हुने बताउँछन् । जागिरे समय सकिएपछि भविष्य नदेखेर जानेहरू पनि प्रशस्तै रहेको उनको भनाइ छ ।

पूर्वसचिव शान्तराज सुवेदी बहालवाला कर्मचारी बीचैमा छाडेर युएन, एजेन्सीलगायतमा जागिर खान जानु राम्रो नहुने बताउँछन् । ‘जिम्मेवारीमै रहेको कर्मचारी एकैपटक राजीनामा बुझाएर जाँदा त्यहाँ सरकारको गोपनीयता भंग हुने विषय आउँछ । देश र जनताको सेवाका लागि शपथ खाएको व्यक्ति बीचैमा छाडेर अन्तर्राष्ट्रिय संघ–संस्थामा जागिर खान जानु गैरजिम्मेवारीपन हो,’ सुवेदीले भने ।

समय छँदै राजीनामा दिएर जाने मुख्यसचिव तथा सचिवहरू

कर्णध्वज अधिकारी : मुख्यसचिव त्यागेर एडिबीमा जागिरे

तत्कालीन मुख्यसचिव कर्णध्वज अधिकारी नेपाल सरकारका मुख्यसचिव थिए । उनी पनि कार्यावधि बाँकी रहँदा मुख्यसचिवको जागिर छाडेर एसिया डेभलपमेन्ट बैंकमा सहसचिवस्तरको जागिर खान गए ।

नवराज भण्डारी : राजस्वसचिवबाट राजीनामा दिएर अमेरिकाको डिभी

नेपाल सरकारका राजस्वसचिव नवराज भण्डारीले २५ साउन ०७२ मा राजीनामा दिए । सचिवका रूपमा समयावधि कायमै रहँदा राजीनामा दिएर उनी निस्केका हुन् । सरकारले डिभी–पिआर भएका कर्मचारीले कि सेवा छाड्नुपर्ने कि डिभी–पिआर छाड्नुपर्ने गरी कानुन संशोधन गरेलगत्तै भण्डारीले राजस्वसचिवबाट राजीनामा दिएर अमेरिकाको डिभी रोजेका थिए ।

विष्णुप्रसाद धिताल : कृषिसचिव त्यागेर विश्व खाद्य कार्यक्रममा

कृषिसचिवको जिम्मेवारीमा रहेका विष्णुप्रसाद धिताल पनि सेवाअवधि बाँकी रहँदै जागिर छाडेर विश्व खाद्य संगठनमा काम गर्न पुगेका थिए । कृषि समूहका उनी मन्त्रालयमा खाद्य क्षेत्रको नेतृत्व गर्दै सचिव भएका थिए ।

भेषबहादुर थापा : अर्थसचिव छाडेर सिडामा

परराष्ट्रविद्का रूपमा चिनिएका भेषबहादुर थापा नेपाल सरकारको अर्थसचिव थिए । थापाले सचिव पदमा भन्दा क्यानडाको एउटा प्रोजेक्टमा आकर्षण देखे । उनी क्यानडाको सिडा भन्ने प्रोजेक्टको उपाध्यक्ष भएर गए । पछि उनी परराष्ट्र मन्त्री बनेका थिए ।

भरतबहादुर प्रधान : अर्थसचिवबाट राजीनामा दिएर विश्व बैंक

अर्थसचिव भएकै वेला भरतबहादुर प्रधान पनि राजीनामा दिएर हिँडेका थिए । उनले सरकारको अर्थसचिवको जागिरभन्दा विश्व बैंकको जागिर रोजे ।

रामविनोद भट्टराई : अर्थसचिवभन्दा एडिबी प्यारो

अर्थसचिवमै रहेका वेला रामविनोद भट्टराईले पनि सरकारले दिएको जिम्मेवारी बीचमै लत्याएका थिए । उनी अर्थसचिवको जिम्मेवारीबाट राजीनामा दिएर एसियाली विकास बैंकमा काम गर्न गएका हुन् । नयाँ पत्रिकाबाट

प्रकाशित मिति : २१ माघ २०७६, मंगलवार ०८:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।