Logo

अर्थ

बजारमा लुट: दैनिक उपभोग्य वस्तुको मूल्य दिनकै वृद्धि



बढ्दो महँगीका कारण लेटाङ–९ मोरङकी पायल श्रेष्ठलाई राजधानीको बसाइ कष्टकर बन्न थालेको छ । उनका पति किरण श्रेष्ठ त्रिपुरेश्वरस्थित चुन कारखानामा काम गर्छन् । पतिको मासिक २५ हजार रुपैयाँले घरभाडा, खाना, छोराछोरीको पढाइ खर्च र औषधिउपचार गर्न हम्मे परेको उनी बताउँछिन् । श्रेष्ठको चारजनाको परिवार अनामनगरमा डेरा लिएर बसेको छ ।

परिवारको सामान्य गर्जो टार्न ३० हजार खर्च हुँदै आएको पायल बताउँछिन् । उनी भन्छिन्, ‘छोराको शिक्षा र पतिको जागिरका कारण राजधानी बसेका छौं । महँगीले गाउँ फर्कनुपर्ने अवस्था आयो ।’

झापाकी निर्मला दाहाल दैनिक उपभोग्य वस्तुको मूल्य दिनप्रतिदिन बढिरहेको बताउँछिन् । उनी भन्छिन्, ‘चामल, दाल, तरकारी, घरभाडा बढेको बढ्यै छ । एकजनाको आम्दानीले राजधानीमा बाँच्न असहज भयो ।’ उनका अनुसार यातायात, औषधिउपचार, लुगाफाटो र मनोरञ्जनबाहेक घरखर्च धान्न मासिक न्यूनतम ३५ हजार खर्च हुन्छ ।

पायल र निर्मलाले अनुभव गरेजस्तै बजार निकै अराजक बनेको छ । कार्टेलिङ, सिन्डिकेट, कालोबजारी र माफियाका कारण मूल्यवृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् ।

पछिल्लो २५ दिनमा चामल, खाने तेल, पिठो, आँटा, दाल, लसुन, अण्डा, मासुको मूल्य न्यूनतम दुई रुपैयाँदेखि चार सय ७० रुपैयाँसम्म बढेको छ । फलामे रडमा प्रतिकिलो ८ आठ रुपैयाँ र सिमेन्ट प्रतिबोरा ५० रुपैयाँसम्म मूल्य बढेको छ ।

सरकारले कुन तहमा कति नाफा लिने विषयमा संरचना निर्धारण नगरेका कारण व्यवसायी र उद्योगीले आफूखुसी मूल्यवृद्धि गरेका हुन् ।

‘वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गरे पनि सर्वसाधारण उपभोक्ताले भने राहत अनुभव गर्न पाएनन्,’ उपभोक्तावादी प्रेमलाल महर्जनले भने, ‘बजारलाई नियन्त्रण गर्न नसक्ने हो भने विभाग चाहिँदैन ।’ महर्जनले शुक्रबार मात्रै अनुचित व्यापारिक क्रियाकलाप गरी कालोबजारी गर्ने व्यवसायीमाथि कारबाही गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् । अन्नपूर्ण पोस्टबाट

प्रकाशित मिति : २६ माघ २०७६, आईतवार ०७:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।