Logo

बाबातालमा पर्यटकीय आकर्षण बढ्दै गएपछि भ्यू टावर निर्माण



सिरहाको कर्जन्हा गाउँपालिका– १ बन्दीपुरस्थित बाबाताल पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएपछि भ्यू टावर निर्माण गरिएको छ ।

पूर्व–पश्चिम राजमार्गस्थित सिराहको बन्दीपुर बजारबाट करिब दुई किलोमिटर उत्तरमा रहेको बाबाताल वरिपरिको वन, वनभोजस्थल, शिव मन्दिर र पार्कका कारण पर्यटकको रोजाइमा परेको यहाँ भ्यू टावर निर्माण गरिएको हो । पर्यटन बोर्डले बनाएको भ्यू टावरको उच्चस्तरीय प्रशासन सुधार आयोगका अध्यक्ष काशीराज दाहाल, प्रदेशसभा सदस्य दिलीप शाह र सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले सयुक्त रुपमा उद्घाटन गरेका छन् । भ्यू टावरबाट बाबातालको मनोरम दृश्य अवलोकन गर्न सकिने अध्यक्ष दाहालले बताए । दृश्यावलोकनलाई अहिले दैनिक १०० देखि १५० सम्म आन्तरिक पर्यटक आउने गरेको ताल संरक्षण सम्बद्र्धन समितिका केशव पोखरेलले बताए ।

पोखरेलका अनुसार चुरे क्षेत्र नजिकै रहेको उक्त तालमा घुम्न गर्मीमा भन्दा कार्तिकदेखि माघ महिनासम्म बढी पर्यटक आउँछन् । वर्षेनी खेतीयोग्य जग्गालाई बगरमा परिणत गर्ने चुरेको फेदबाट बग्दै आएको खहरे खोलालाई घेराबार गरी आर्थिक वर्ष २०६०÷६१ सालमा भू–संरक्षण कार्यालयबाट निर्माण गरिएको बाबाताल क्षेत्रमा आर्थिक वर्ष २०७१÷७२ मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत उदयपुरको बेलसोथस्थित नेपाली सेनाको राष्ट्र विकास गणले वनभोजस्थल, शिव मन्दिर र बालपार्क बनाएर व्यवस्थित बनाएको थियो ।

सर्वसाधारणदेखि देशका विभिन्न जिल्लाबाट विद्यालय तथा कलेजका विद्यार्थी आउने गरेको पोखरेलको भनाइ छ । नयाँ वर्ष तथा चाडपर्वका बेला तालमा पर्यटकको बढी घुइँचो लाग्छ । “ताल क्षेत्रभित्र नेपाली, मैथिली तथा भोजपुरी चलचित्र छायाकङ्न हुन थालेको छ”, ताल क्षेत्रमै पसल सञ्चालन गर्दै आएकी कोपिला दाहालले भनिन्,“दैनिकजसो कलाकार आउने, छायाङ्कन गर्ने गरेका छन् ।” प्रवेश शुल्क रु १० र तालमा आधा घण्टा डुङ्गा शयर गर्ने पर्यटकका लागि रु १५ लाग्छ । त्यहाँको आकर्षण बढाउन बगैँचा र बालउद्यान निर्माण गरिएको छ । भ्यू टावर निर्माणपछि बाह्य पर्यटक आउने अपेक्षा गरिएको समितिका अध्यक्ष अञ्जनी यादवले बताईन् । करिब सात हेक्टरमा फैलिएको बाबाताल घुम्न आउने पर्यटकको सुविधालाई दृष्टिगत गरी ताल क्षेत्रभित्रै धर्मशालासमेत बनाइएको छ ।

उक्त ताल क्षेत्रभित्र स्थानीयवासीले होमस्टे सञ्चालन गर्ने तयारी भइरहेको अध्यक्ष दाहालको भनाइ छ । राजमार्गदेखि तालसम्मको ग्राभेल बाटो कालोपत्र गर्ने र केबुलकार सञ्चालन गर्ने समितिको योजना छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार १६:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।