काठमाडौं, कास्की, स्याङ्जा र सुनसरीका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-३ स्थित जगडोलडाँडाबाट करिब ९ सय ८० ग्राम अवैध लागूऔषध पोल्याण्ड सहित काठमाडौं महानगरपालिका-६ रामहिटी बस्ने सिन्धुपाल्चोक थामपालधाम गाउँपालिका-३ घर भएका २५ वर्षीय हरि रामदामलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-४ गणेशटोलबाट नियन्त्रित लागूऔषध १ सय १३ एम्पुल नुर्फिन, १ सय १३ एम्पुल डाईजापाम र १ सय १३ एम्पुल फेनारगन सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३३ वर्षीय कुमार श्रेष्ठ र काठमाडौं घर भएका ४७ वर्षीय कृष्ण लक्ष्मी भाछिमा महर्जन रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कास्की, पोखरा महानगरपालिका-८ न्यूरोडबाट नियन्त्रित लागूऔषध १ सय एम्पुल डाईजापाम, १ सय एम्पुल फेनारगन, १ सय एम्पुल ब्रुफिनर्फिन र १ थान मोवाईल सहित सोही ठाउँ बस्ने तनहुँ व्यास नगरपालिका-८ घर भएका ३० वर्षीय अशोक वाचे मगरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले मगरको कोठामा लुकाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
स्याङ्जा, फेदीखोला गाउँपालिका-३ स्थित काहुलेबाट करिब ४ सय ८० ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने २८ वर्षीय सन्तोष रानाभाटलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी फेदीखोलाबाट खटिएको प्रहरीले रानाभाटको घरमा खानतलासी गर्ने क्रममा लुकाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
सुनसरी, दुहबी नगरपालिका-९ मुसहरी टोलबाट करिब १ केजी अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ५८ वर्षीय पुष्पलाल ऋषिदेवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ऋषिदेवले आफ्नै घरमा लागूऔषध गाँजा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया