Logo

बेरुतमा बिस्फोटको एक महिनापछि भग्नावशेषभित्र ‘जीवनको संकेत’



एक महिना अघि  लेबननको बेरुतमा भएको शक्तिशाली बिस्फोटको भग्नावशेषभित्र अझै पनि जीवनको संकेत भेटिएको चिलीका उद्धारकर्ताले बताएका छन् ।

उद्धारकार्यमा खटेको टोपोस चिलीका एक सदस्यले अल जजिरासँगको कुराकानीमा स्क्यानिङ मसिन प्रयोग गरेर हेर्दा बिस्फोट भएको भवनको भुइँ तल्लामा ‘पल्स’ र ‘सास फेरिरहेको’ संकेत भेटिएको जानकारी दिए ।

उनले त्यो विशेषगरी बालकको हुनसक्ने आशंका गरेका छन् ।गत अगस्ट ४ मा भएको बिस्फोटमा १ सय ९१ जनाको मृत्यु भएको छ भने ६ हजारभन्दा बढी घाइते भएका छन् ।

चिलीको उद्धार समूह पुनर्निर्माण चरण अघि भवनलाई सुरक्षित गर्ने मिशन स्वरुप राजधानीको सडकमा यात्रा गरिरहेका छन् । त्यति नै बेला उनीहरुको तालिम प्राप्त कुकुर एक भवनतर्फ दौडिएर त्यहाँ मानवको उपस्थितीबारे जानकारी दिएको अक्रम नेहमीले बताए । अक्रम आच्राफिह २०२० एनजिओका एक सदस्य हुन् जसले टोपोस चिलीलाई बेरुत ल्याउन सहयोग गरे ।

लिभ लभ लेबनन नामका एनजीओका एक सदस्य एड्वर्ड बिटारका अनुसार उनीहरुले सेन्सर प्रयोग गरेर भग्नावशेषबाट एक मिनेटमा १७ ब्रेथ साइकल भेटेको बताए ।

‘हामीले हाम्रो आशालाई कम नै राखेका छौं । यदि कोही भेटिए, त्यो चमत्कार नै हुनेछ,’ बिटारले भने ।बिटारले भवनका मालिकलाई पक्राउ गरिएको बताए । उक्त भवनका मालिकले भवनमा कोही पनि नभएको बताएका थिए ।

उक्त भवनको भग्नावशेषबाट दुर्गन्ध निस्किएपछि थुप्रै मानिसहरुले सुरक्षाकर्मीलाई जानकारी दिएका थिए । यद्यपि, सुरक्षाकर्मीले उक्त भग्नावशेषमा कुनै पनि अनुसन्धान नगरेको बताइएको छ ।

बिहिबार बिहानैदेखि स्वयंसेवकहरुले उक्त भग्नावशेषबाट एउटा एउटा गरी ढुङ्गा हटाउन थालिएको छ । उक्त उद्धारकार्यमा लेबनन क्लाइम्बर्स, फायरफाइटर्स र नागरिक सुरक्षा कार्यकर्ताको सहभागिता रह्यो ।

उद्धारकर्मीले भग्नावशेषमा जीवनको संकेत पत्ता लगाउनका लागि  अत्यधिक मानिसहरुको सहभागिता रहेको उक्त उद्धारकार्यको बीचबीचमा पूर्ण रुपमा मौनता कायम गर्न लगाइएको थियो ।

बेरुत बिस्फोटको एक महिनापछि बिहिबार लेबननको सैनिकले आफूहरुले बेरुत पोर्टको प्रवेशद्वारमा अमोनियम नाइट्रेटको ४।३५ टन भेटेको घोषणा गरे ।

प्रकाशित : १९ भाद्र २०७७, शुक्रबार