नेपालको प्रमुख पर्यटकीय गन्तव्यहरु मध्ये पछिल्लो समय लोकप्रिय मानिएको लाङटाङ पदमार्गमा क्रमिकरूपले चहलपहल बढ्न थालेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण पाहुनाको आगमन बन्द भएपछि सुनसान रहेको पदमार्गमा पछिल्लो समय फाट्टफुट्टरूपले आन्तरिक एवं वाह्य पर्यटकको आगमन हुन थालेसँगै थप चहलपहल बढ्दै गएको छ ।
बर्षायामका महिनाहरु जस्तै: असार, साउन एवं भदौ महिनाबाहेक अन्य समयमा यहाँको मौसम प्रायः सफा रहने, राजधानी काठमाडौंबाट नजिक, अन्य क्षेत्रको तुलनामा कम खर्चमा घुम्न सकिने र प्राकृतिक छटा अवलोकनले मन प्रफुल्ल बनाउने भएका कारण अधिकांश पाहुना रसुवा केन्द्रीत हुने गरेका छन् । रसुवाका पाँच गाउँपालिकामध्ये गोसाइँकुण्ड गाउँपालिकाले आफ्नो कार्यक्षेत्रका सबै बिद्यालय सञ्चालनमा ल्याएपछि मानिसको मनोबल बढ्न गई पर्यटकको समेत आगमन हुन थालेको पर्यटन व्यवसायीले बताएका छन् ।
गोसाइँकुण्ड गाउँपालिका क्षेत्रभित्र पछिल्लो समय कोरोना सङ्क्रमणको प्रभाव शून्यमा झरेको स्वास्थ्यकर्मीले बताएपछि पर्यटकीय एवं धार्मिक क्षेत्रमा रहेका सबै होटल तथा लज पुुनः सञ्चालनमा आइसकेको चन्दनबारीका पर्यटन व्यवसायी पासाङयुर्मी तामाङले बताए । यस क्षेत्रमा रहेका सयौँ होटल तथा लज पुनः सञ्चालनमा आइसकेका छन् । यस्तै पवित्र तीर्थ एवं पर्यटकीयस्थल गोसाइँकुण्ड जाने यात्रु पनि फाट्टफुट्टरूपमा ओहरदोहर गर्न थालेको धार्मिक मार्गका होटल व्यवसायीले जानकारी दिएका छन् ।
कोभिड–१९ को असरले यस आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म ९८९ पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको इलाकामा पर्ने लाङटाङ तथा गोसाइँकुण्डको हिमशृङ्खला, कुण्ड तथा ताल, झर्ना र यहाँका जैविक विविधताको अवलोकन गरेका थिए ।
गत वर्षको यसै अवधिमा भने १४ हजार ९३३ पर्यटक आएको अभिलेखबाट देखिँदा कोरोनाको असरले पर्यटकको आगमन सङ्ख्या यस वर्षको पाँच महिनामा ९३ प्रतिशतले कमी भएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।
यस आर्थिक वर्षमा आएका पर्यटकमा ६६ विदेशी र ९२३ स्वदेशी रहेको निकुञ्जको तथ्याङ्कले देखाएको छ। विस्तारै पर्यटकको आगमन बढ्न थालेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन्। (रासस)




















प्रतिक्रिया