Logo

समाचार

उदयपुरमा कोरोना संक्रमितको संख्या ६० पुग्यो



उदयपुरमा ३ महिलासहित ७ जना कोरोना संक्रमित थपिएका छन् । सातै जना त्रियुगा जनता वहुमुखी क्याम्पस मोतिगडाको क्वारेन्टाईनमा बस्दै आएका हुन् । बिराटनगरस्थित कोसी अञ्चल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरुलाई कोरोना पुष्टि भएको हो ।
संक्रमितहरुमध्ये दुई जना तेस्रो मुलुक कुबेत, एक जना दुबई र चार जना छिमेकी मुलुक भारतबाट आएका हुन् । उनीहरु सबै त्रियुगा नगरबासी हुन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुबेदीका अनुसार तीन महिलामध्ये त्रिनपा ६ की ३०, वडानं. ९ की ३० र वडानं. १० का ५३ वर्षिय महिला रहेका छन् ।

त्रिनपा ६ की महिला कुबेतबाट असार ९ गते आएकी थिईन् । त्रिनपा ९ की महिला भारतबाट जेष्ठ ३२ गते नेपालको लौवागढी नाकाबाट नेपाल प्रवेश गरेकी थिईन् । त्यस्तै त्रिनपा १० की महिला पनि भारतको दिल्लीबाट असार ९ गते विराटनगरको जोगवनी नाकाबाट नेपाल प्रवेश गरेकी हुन् ।

त्यस्तै पुरुषतर्फ त्रियुगा नपा २ का ३०, वडानं. ६ का ३५, वडानं. ८ का २३ र वडानं. १० का २६ वर्षिय पुरुष रहेकाछन् । त्रिनपा २ का पुरुष असार ९ गते कुबेतबाट नेपाल आएका हुन् । त्रियुगा ६ का पुरुष भारतको युपी राज्यबाट नेपालको लौवागढी नाकाबाट असार ९ गते, त्रिनपा ८ का पुरुष असार ९ गते दुबईबाट र त्रिनपा १० का पुरुष दिल्लीबाट सिरहाको माडर हुँदै नेपाल असार ५ गते प्रवेश गरेका थिए ।

योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ । अहिले सम्म उदयपुरमा १४ जना महिला सहित ६० जनामा कोरोना पुष्टि भएको छ । जसमा त्रियुगा नगरपालिकामा ४९ जना, बेलका नगरपालिकामा ५ जना, कटारी नगरपालिकामा २ जना, उदयपुरगढी गाउँपालिकामा २ जना, चौदण्डीगढी नगरपालिकामा १ जना र ताप्ली गाउँपालिकामा १ रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

संक्रमित मध्ये अहिलेसम्म ३९ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । संक्रमण देखिएका उनीहरुलाई नेपाल आउने बित्तिकै त्रियुगा नगरपालिकाले त्रियुगा जनता बहुमुखी क्याम्पस मोतीगडामा बनाएको क्वारेन्टाइनमा राखेको थियो । संक्रमितहरुमध्ये भारतबाट आएकाहरु नेपाल भारत सीमा क्षेत्रबाट उद्दार गरी ल्याइएका हुन भने खाँडी मुलूकबाट काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल हुँदै आएकाहरुलाई सीधै क्वारेन्टाईनमा ल्याइएको थियो ।

स्वास्थ्य प्रमुख सुवेदीका अनुसार हालसम्म १ सय ५१ जना महिलासहित तीन हजार ५ सय ५१ ले पिसिआर परीक्षण गरिसकेका छन् । त्यसमध्ये ३ हजार १ सय ३० जनाको रिर्पोट आईसकेको छ । त्यस्तै १ सय ६२ जना महिलासहित ८ सय ८ जनाको आरडिटी टेष्ट भईसकेको छ । त्यसमध्ये २ जना पुरुष १ जना महिलामा पोजेटिभ देखिएको छ भने बाँकी सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य प्रमुख सुबेदीले बताए ।

कार्यालयकाअनुसार ३७ जना महिला र १ सय ६० जना पुरुष गरी १ सय ९७ जना क्वारेन्टाईनमा रहेका छन् भने १४ जना महिला र ४ सय ४६ जना पुरुष गरी ४ सय ६० जना होमक्वारेन्टाईनमा रहेका छन् ।

प्रकाशित मिति : १४ असार २०७७, आईतवार ११:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।