Logo

पत्रपत्रिका

कोरोनाले ठूला मिडियाका पत्रकारको विचल्ली



विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण नेपालका ठूला मिडियामा काम गर्ने पत्रकारहरुको विचल्ली भएको छ । नीजि क्षेत्रको पहिलो मिडिया भन्ने कान्तिपुर पब्लिकेशनले पत्रकार र कर्मचारी गरी दुई सय बढिलाई बेतलवी विदामा राखेको छ ।

बैशाख पहिलो साता बैशाख महिनाभरका लागि भनेर टेलिफोनबाट जानकारी गराएको कान्तिपुर पब्लिकेशनको व्यवस्थापनले अहिलेसम्म कसैलाई पनि काममा फर्काएको छैन ।

पब्लिकेशनले सहप्रकाशन, नेपाल म्यागजिन, साप्ताहिक र नारी पत्रिका सधैका लागि लकडाउनकै समयमा बन्द गरेको जानकारी पत्रकार र कर्मचारीलाई गराएको छ । तर, बन्दको औपचारिक घोषणा भने गरेको छैन ।

अर्को ठूलो रिपब्लिक मिडियाले प्रकाशन गर्दै आएको अग्रेजी दैनिक रिपब्लिका बन्द गरेको छ । नेपाली दैनिक नागरिक सञ्चालन गरिरहेपनि त्यहाँ काम गरिरहेका पत्रकार कर्मचारीले फागुन महिनादेखिको पारिश्रमिक पाएका छैनन् ।

अन्नपूर्णपोष्ट दैनिकको व्यवस्थापनले पत्रकारलाई ५० प्रतिशत मात्रै पारिश्रमिक दिने बताएपछि प्रधानसम्पादक हरिबहादुर थापाले असन्तुष्टि जनाएर असार एक गतेबाट लागू हुनेगरी राजीनामा दिए ।

उनीसंगै सम्पादक विकास थापा, समाचार संयोजक चन्द्रशेखर अधिकारी र अर्थ व्यूरो प्रमुख पुष्प आचार्यले पनि राजीनामा दिए । थापाले राजीनामा दिएपछि अन्नपूर्णको व्यवस्थापनले पत्रकार कर्मचारीलाई चैत महिनाको ५० प्रतिशत मात्रै पारिश्रमिक उपलव्ध गराएको जानकारी प्राप्त भएको छ ।

अहिलेसम्म त्यहाँका पत्रकार कर्मचारीले बैशाख र जेठको पारिश्रमिक पाएका छैनन् । थापाले राजीनामा दिएपछि सम्पादक बनेका अखण्ड भण्डारीले १४ पत्रकारको जिम्मेबारी खोसेका छन् ।

र, मौजुदा रहेका सबै व्यूरो खारेज गरेका छन् । यसले त्यहाँ तनावको अवस्था सिर्जना भएको बताइन्छ ।

नयाँ पत्रिका दैनिकले पत्रकार र कर्मचारी गरी ५५ जनालाई बेलतवी बिदामा राखेको त्यहाँ कार्यरत पत्रकार कर्मचारीहरुले बताएका छन् ।

त्यस्तै उज्यालो, बाह्रखरी, सेतोपाटी, रातोपाटी, केन्द्रका सबै टेलिभिजनले पनि केही पत्रकारलाई विदाबारी र धेरलाई वेतलवीमा राखेको जानकारी आएको छ । अभियान टाइम्सका साथमा ।

प्रकाशित मिति : २१ असार २०७७, आईतवार १०:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।