पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप नौं जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले उपत्यकामा नौं जनामा कोरोना पुष्टि भएको जानकारी दिएका छन् । प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरमा दुई, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ललितपुरका एक र काठमाडौंमा दुई जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै पाटन अस्पतालमा काठमाडौंका तीन र स्टार अस्पताल सानेपामा ललितपुरका एक जनामा कोरोना पोजिटिभ देखिएको छ । आज (बिहीबार) थपिएका १४७ संक्रमितमध्ये काठमाडौं उपत्यकाका नौं जना रहेको मन्त्रालयले जनाएको छ ।
आज कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १८ हजार २४१ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ ।
बिहीबार थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १२ हजार ८४० जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।




















प्रतिक्रिया