Logo

म्यानचेस्टर युनाइटेडको शानदार जित



इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्‍न खेलमा म्यानचेस्टर युनाइटेडले उत्कृस्ट प्रदशन गर्दै शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा युनाइटेडले लिड्स युनाइटेडलाई ६-२ गोलको फराकिलो अन्तरले हराएको हो ।

युनाइटेडको जीतमा स्कट म्याकटोमिने र ब्रुनो फर्नान्डेसले २-२ तथा डानियल जेम्स र भिक्टर लिन्डेलफ १-१ गोल गरे । लिड्सका लियाम कूपर र स्टुआर्ट डलासले १-१ गोल फर्काए ।

म्याकटोमिनेले खेलको सुरुवाती ३ मिनेटभित्रै २ गोल गरेपछि युनाइटेडले २-० को अग्रताका साथ अघि बढेको थियो । २०औं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई ३–० को सहज स्थितिमा अघि बढाए ।
 
३७औं मिनेटमा लिन्डेलफले मार्सियालको पासमा गोल गरेपछि युनाइटेड ४–० को आरामदायी स्थितिमा पुग्यो । ४१औं मिनेटमा रापिन्हाको पासमा कूपरले गोल गर्दै गोलअन्तर ४–१ मा झारे ।

६६औं मिनेटमा म्याकटोमिनेको पासमा ड्यानियल जेम्सले गोल गरेपछि युनाइटेड फराकिलो जीततर्फ अग्रसर भएको थियो । ७०औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई ६–१ ले अघि बढाए । स्ट्रजिकले मार्सियाललाई पेनाल्टी बक्समा फल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो । 

७३औं मिनेटेमा रापिन्हाको पासमा डलासले गोल गर्दै खेललाई ६–२ को अवस्थामा ल्याए ।

जीतसँगै युनाइटेड १३ खेलबाट २६ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । एक खेल बढी खेलको शीर्षस्थानको लिभरपुलको ३१ तथा लेस्टर सिटीको २७ अंक छ । पराजित लिड्स १७ अंक जोडेर १४औं स्थानमा छ ।

 

प्रकाशित मिति : ६ पुष २०७७, सोमबार ११:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।