Logo

समाचार

बाग्लुङमा बाढीले बस्ती बगायो, १२ जना बेपत्ता



बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा बाढीले बगाएर १२ जना बेपत्ता भएका छन्। सुकुर्दुङ खोलामा आएको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको स्थानीयले बताएका छन्।

अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्क विहीन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए।

‘रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन’, भण्डारीले भने, ‘अहिले उद्दारको काम भइरहेकोछ, बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान छ।’

बाढीका कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए। उनले राति नै घटनास्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको जानकारी दिए। घटनाको विषयमा बुझ्न प्रमुख जिल्ला अधिकारीको टोली ढोरपाटन जान लागेको छ।

स्थानीयका अनुसार ढोरपाटन शिकार आरक्षको प्रवेशद्वार मानिने देउराली पहाडबाट पहिरो पनि खसेर गाउँमा क्षति पुर्याएको स्थानीयले बताएका छन्।

लाकुरीबोटमा ३ जना, दुनेपधेँरीमा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना सम्पर्कविहीन भएका छन्। लाँकुरीबोटका ११ घर, दुनेपधेँरीका ५ घर, घट्टबोटमा ८ घर, भसुन्डेमा १ घर बगेका छन्।

यसैगरी सकुरदुङको सरस्वती आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि र बोबाङका तीनवटा जलविद्युत आयोजना र तीन वटा झोलुङ्गे पुलसमेत बगेको छ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार ०९:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।