बर्दिया खाद्यान्न उत्पादनमा प्रदेशकै अब्बल जिल्ला देखिएको छ । सरकारी तथ्यांक अनुसार बर्दिया खाद्यान्न उत्पादनमा प्रदशमैै पहिलो स्थानमा रहेको पाईएको हो ।
कुल ४ लाख ५० हजार ४ सय ७० जनसंख्या रहेको यस जिल्लामा १ लाख ४३ हजार २ सय २८ टन खाद्यान्न उत्पादन हुँदै आएको छ । यसले ६१ हजार ६ सय ९३ टन खाद्यान्न अन्य जिल्लामा निर्यात गर्ने गरेको मन्त्रालयको तथ्यांक छ ।
दोस्रो अब्बल जिल्लामा रूपन्देही देखिएको छ । यसले २ लाख १४ हजार ९ सय टन उत्पादन गरेको छ । यसबाट ३७ हजार ३ सय २६ टन खाद्यान्न निर्यात गर्ने गरेको छ । कपिलवस्तुले २५ हजार ५ सय २, अर्घाखाँचीले २२ हजार २८, गुल्मीले १२ हजार २ सय ९ टन खाद्यान्न निर्यात गर्ने गरेका छन् । दाङले ७ हजार ६५, पाल्पाले ५ हजार ९ सय ४२ र पूर्वी रुकुमले ३ हजार १ सय २१ टन खाद्यान्न बाहिरी जिल्ला पठाउने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
प्रदेश ५ का १२ मध्ये ४ जिल्लाले आफूलाई आवश्यक पर्ने खाद्यान्न उत्पादन गर्न नसकेको तथ्यांक बाहिर आएको छ । प्यूठान, रोल्पा, बाँके र पश्चिम नवलपरासी त्यस्ता जिल्लामा परेका छन् ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उत्पादन भएको खाद्यान्नको अनुपात जनसंख्याको अनुपातमा संयोजन गरी तथ्यांक निकालेको हो । त्यसमा सबैभन्दा कमजोर पश्चिम नवलपरासी देखिएको छ । तथ्यांकअनुसार पश्चिम नवलपरासीमा ६ हजार २ सय ५ टन खाद्यान्न अझै अपुग छ । ३ लाख ४४ हजार ५० जनसंख्या रहेकोयस जिल्लामा वार्षिक रूपमा ५६ हजार ६८ टन खाद्यान्न उत्पादन हुने गरेको छ ।
रोल्पामा २ हजार ५ सय २० टन खाद्यान्न अपुग छ । २ लाख ३२ हजार १ सय ५४ जनसंख्या रहेको यस जिल्लामा प्रतिवर्ष ४४ हजार १ सय ४३ टन खाद्यान्न उत्पादन हुँदै आएको छ । बाँकेमा १ हजार ७ सय ६७ टन खाद्यान्न कम उत्पादन हुने गरेको छ । प्रतिवर्ष ९८ हजार ५ सय ९९ टन खाद्यान्न उत्पादन हुँदै आएकामा जिल्लामा सबै जनसंख्यालाई पुग्न १ लाख ३ सय ६६ टन आवश्यक पर्छ । पहाडी जिल्ला प्यूठानमा समेत १ हजार ७ सय ३० टन खाद्यान्न अपुग छ । यहाँ वार्षिक ४५ हजार ७ सय ७५ टन खाद्यान्न उत्पादन हुने गरेको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेश ५ मा १९ लाख ६९ हजार ७ सय ७६ हेक्टर खेतीयोग्य जमिन छ । त्यसमा २२ लाख ७४ हजार ६ सय ३२ टन खाद्यान्न उत्पादन हुन्छ । क्षेत्रका हिसाबले भने धेरै खेतीयोग्य जमिन भएको प्रदेशमा यो तेस्रो नम्बरमा पर्छ । ३८ लाख २० हजार मानिस कृषिकर्ममा संलग्न छन् ।
खाद्यान्नमा आत्मनिर्भर मात्र होइन, यसले प्रदेश बाहिरसमेत निर्यात गर्ने गरेको छ । तथ्यांकअनुसार ४८ लाख २१ हजार २८ जनसंख्या भएको प्रदेशले प्रतिवर्ष १ लाख ६३ हजार ६ सय ६४ टन खाद्यान्न निर्यात गर्ने गरेको छ । सरकारले सार्वजनिक गरेको स्थितिपत्रअनुसार प्रदेश धान र तेलहन उत्पादनमा देशमै पहिलो स्थानमा पर्छ ।
प्रतिक्रिया