Logo

अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा मे १८ मा चुनाव, सत्तारुढ दललाई साख जाेगाउने चुनाै‌ती



अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले मे १८ मा संसदको चुनाव गरिने बिहीबार घोषणा गरेका छन्।यस पटकको निर्वाचनमा सत्तारुढ दलले तेस्रो कार्यकालका लागि प्रयत्न गर्नेछ। सङ्घर्षरत वर्तमान प्रधानमन्त्री मरिसनले चुनाव जित्न निकै मिहिनेत गर्नुपर्ने मत सर्वेक्षणहरुले देखाएका छन्।

अस्ट्रेलियाको चुनावमा सामान्यतया दुई पार्टीबीच निकै प्रतिस्पर्धी हुने गरेको छ। मत सर्वेक्षणहरुमा लिबरल पार्टीका नेता स्कट मरिसन र लेबर पार्टीका नेता बिल शोर्टेन दुबैको स्वीकार्य दर कम देखिएको छ। दुबै नेताले आमजनतालाई आफूतर्फ आकर्षित गर्न प्रयास गरिरेका छन्।

मरिसन करिब एक वर्षअघि लिबरल पार्टीभित्र विद्रोह गरी प्रधानमन्त्री पदमा पुगेका हुन्। पार्टीका नरमपन्थी र राष्ट्रवादीहरु बीचको विभाजनलाई मत्थर बनाउनु पनि मरिसनका लागि अर्को चुनौती हो। उनले चुनावी प्रचारका क्रममा यो विभाजनलाई रोक्न प्रयास गरेको देखिएको छ।

हामी विश्वकै सबैभन्दा राम्रो देशमा बसोबास गरिरहेका छौ, मरिसनले क्यानबेरामा आयोजित समारोहमा चुनावको घोषणा गर्दै भने, हाम्रो भविष्य बलियो अर्थतन्त्रमै टिक्नेछ।चुनावको मिति घोषणा नहुँदै ‍अस्ट्रेलियामा चुनावी प्रचार अभियान सुरु भइसकेका थिए। अमेरिकामा झैं हप्तौंदेखि चुनावी विज्ञापनहरु देखिन थालिसकेका थिए।

गत साता मरिसनको अल्पमतको सरकारले मतदातालाई प्रभावित तुल्याउन कर कटौतीको प्रस्ताव अघि सारेको थियो। लेबर पार्टी विजयी भएमा करका दर बढ्ने र आर्थिक वृद्धि कम हुने प्रधानमन्त्री मरिसन र उनको दलले आरोप लगाउँदै आएको छ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार ०७:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।