Logo

बैंकिंग

अब काठमाडौँ महानगरमा राजस्व निर्धारण तथा संकलन अनलाइनबाट



काठमाडौं महानगरका १० वटा वडाले राजस्व निर्धारण तथा संकलन अनलाइनबाट गर्न सक्ने भएका छन् । महानगरले आजदेखि राजस्व निर्धारण तथा संकलन कार्यलाई अनलाइन प्रणालीमा लगेको हो । 

आज वडा २६ बाट सेवासुरु गरिएकोमा प्रणाली सञ्चालन गर्न कर्मचारीको क्षमता बिकास गर्दै आउँदो हप्ताभित्र सबै वडामा लागु गर्ने योजना रहेको छ । 

वडा कार्यालयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले स्थानीय करदाता सरस्वती सापकोटालाई प्रणालीबाट प्राप्त भएको रसिद हस्तान्तरण गर्दै सेवा शुभारम्भ गरे ।

सापकोटाले भूमिकर शीर्षकमा विवरण भरेकी थिइन । सेवा शुभारम्भ गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले — महानगरका हरेक सेवालाई विद्युतीय प्रणालीमा रुपान्तरण गर्दै लगेको बताए  । ‘राजस्व प्रशासनमा करदातालाई बिश्वाश दिलाउनु पर्छ । करदातामा सार्वजनिक निकायप्रति बिश्वाश भयो भने राजस्व संकलन बढ्दै जान्छ ।’, अर्यालले भने । 

राजस्व बिभागका निर्देशक शिवराज अधिकारीले आजबाट १, २, ३, ४, १०, १५, २६, ३० र ३१ मा प्रणाली प्रयोगमा आइसकेको बताए । ‘राजस्व व्यवस्थापनका लागि स्थानीय तहहरुमा काठमाडौं महानगरले पहिलो पटक प्रयोगमा ल्याएको प्रणाली हो । यसको प्रयोगबाट सुशासनमा टेवा पुग्नेछ ।’ अधिकारीले भने । यो कम्प्युटर सफ्टवेयरमा आधारित प्रणाली हो । यसलाई नेपाल सरकारले सञ्चालनमा ल्याउन लागेको नागरिक एपमा इन्टिग्रेसन गराइसकिएको छ । यस प्रणालीको मुख्य काम कर तथा राजस्वको अभिलेखन, कर निर्धारण तथा असुली सम्बन्धी कामलाई स्वचालित बनाउनु हो । विद्युतीय सुशासनलाई स्थानीयकरणको पूर्वाधार बनाउनु यसको कार्यान्वयनपछि प्राप्त हुने उपलब्धी हो । 

प्रणालीमा दुईवटा पोर्टल बनाइएको छ । जसमा पब्लिक पोर्टल करदाताका लागि हो भने कोर पोर्टल कार्यालयमा बस्ने अधिकारीका लागि हो । पब्लिक पोर्टलमा सम्पत्ति कर, व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर, घर नक्सापास दस्तुरलगायतका सम्पूर्ण कर र दस्तुरका बारेमा विवरण भर्ने, प्रारम्भिक करको अङ्क प्राप्त गर्नेलगायत सुबिधा लिन सक्छन् । 

करदाताले अनलाइन कर प्रणालीको पब्लिक पोर्टलमा गएर  सम्बन्धित र सोधिएका÷माग गरिएका विवरण भरेपछि प्रणाली आफैंले करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजस्वको अङ्क देखाउँछ । यसबाट महानगरलाई कति रकम तिर्नु पर्ने हो ? करदातालाई थाहा हुन्छ । 

करदाताको विवरण पेस भएपछि कर मूल्याङ्कन अधिकृतले प्रचलित कानुन र दररेटका आधारमा कर मुल्याङ्कनलाई रुजु गरी स्वीकृत गर्नेछन् । त्यसपछि करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली (ईसेवा, कनेक्टआईपीएस, खल्ती, फोनपे, आईएमईपे, प्रभु पेलगायत) बाट भुक्तानी गर्न सक्नेछन् । यसरी भुक्तानी गरिएको रकम सम्बन्धि सूचना एसएमएसबाट पनि प्राप्त हुनेछ । 

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  २ : ५० बजे