२० वर्ष उमेर नपुगी बिवाह गर्नु गराउनु कानुनी रुपमा अपराध मानिन्छ तर छोरीको विवाह १६ वर्षमै गर्न पाउ भन्ने केही महिलाहरुले माग गरेका छन् ।
बाँकेको नेपालगञ्जमा छोरीको विवाह १६ वर्षमै गर्न पाउनु पर्ने भन्दै महिलाहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना समेत दिएका छन् । मधेसी समुदायका केही महिलाहरूले १६ वर्षमै छोरीको विवाह गर्न पाउनुपर्ने माग गर्दै प्रशासन धाउन थालेको एक महिना भइसकेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।
उनका अनुसार २० वर्षमा छोरीको विवाह गर्दा विवाहपछि दुई वर्ष माइतमा बस्ने आफ्नो चलन मान्न नसकिने भन्दै उनीहरूले १६ वर्षमै छोरीको विवाह गर्न माग गरेका हुन । २० वर्षसम्म विवाह नगर्दा छोरीचेलीहरू आफैंले विवाह गर्छन् र ढिला बिहे भयो भने आफूहरूलाई नै छोरीको लागि वर खोज्न अप्ठ्यारो हुने भन्दै उनीहरूलेप्रमुख जिल्ला अधिकारी भुजेलमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पनि बुझाएको उनले बताए ।
भुजेलले भने, ‘उनीहरूको मुख्य माग अहिलेको कानुन संशोधन होस् र आफूहरूलाई कारबाही नहोस् भन्ने छ । उनले कानुनको पालना सबैले गर्नु पर्ने, नगरे दोषीलाई कानुनअनुसार कारबाही हुने बताउँदै ऐन संशोधनबारे पठाइएको ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पठाइसकेको बताएका छन् ।
यो पनि पढ्नुहोस्
सुदूरपश्चिम प्रदेस सरकारले “सानै छुँ म बढ्न देऊ, बाल विवाह होइन पढ्न देऊ“ अभियान चलाउने
सुदूरपश्चिम प्रदेश सरकारले बाल विवाह अन्त्य गर्ने उद्देश्य सहित “सानै छु म बढ्न देउ, बाल विवाह होइन पढ्न देऊ“ अभियान सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले आज ल्याएको अगमाी आर्थिक वर्षको बजेटमा उक्त अभियान सञ्चालन गर्ने घोषणा गरेको हो ।
सरकारले प्रदेशसभा सदस्य, स्थानीय तहका पदाधिकारी, सामाजिक संघ संस्था, आमा समूह, बाल क्लब समेतको संलग्नतामा अभियान सञ्चालन गरिने जनाएको छ । नमूनाको रुपमा बाजुरा र दार्चुला जिल्लाबाट अभियान सुरु गरिने बजेट वक्तव्य उल्लेख गरिएको छ । अभियानका लागि आवश्यक बजेटको व्यवस्था गरिएको अर्थमन्त्री झपट बहादुर बोहोराले जनाए ।




















प्रतिक्रिया