संखुवासभामा केही दिन अघि पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता कारागार चलान भएका छन् ।पाँचखपन नगरपालिका–६ का बाबुराम राई ‘विवश’लाई धरौटी बापतको रकम नबुझाएको भन्दै कारागार चलान गरिएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी गोविन्द कार्कीले बताए ।
उनले विप्लव कार्यकर्ता राईलाई संगठित रुपमा हातहतियार खरखजाना तथा विष्फोटक पदार्थ ओसारपसार, सार्वजनिक सम्पत्तिमा विस्फोटन र संगठित रुपमा आगजनी गरेको आरोप लागेको थियो । सात हजार रुपैयाँ धरौटी बुझाउन नसकेकाले कारागार चलान गरिएको सूचना अधिकारी कार्कीले जानकारी दिए ।
राईलाई सार्वजनिक सम्पत्तिमा विस्फोटनलगायत अन्य दुई वटा मुद्दामा साधारण तारिख तोकिएको छ । विप्लवका कार्यकर्ता राईलाई प्रहरीले गएको असार ५ गते सदरमुकाम खाँदबारीबाट पक्राउ गरेको थियो । राई विप्लव समूहको राष्ट्रिय युवा जनस्वंय सेवक केन्द्रीय अध्यक्ष तथा कोशी ब्यूरो सदस्य रहेका थिए ।
परिवारको भनाइ अनुसार उनी पछिल्लो समय पार्टीबाट राजिनामा दिएर निष्कृय रुपमा घर परिवारसँग बस्दै आएका थिए । व्यक्तिगत कामका सिलसिलामा सदरमुकाम खाँदबारी आएको बेला प्रहरीले पक्राउ गरेको परिवारको आरोप छ । राईको घर पाँचखपन नगरपालिका भए पनि उनी अहिले परिवारसँग सुनसरीको इटहरी बस्दै आएका थिए ।
राई तत्कालीन सशस्त्र द्वन्द्वमा सहभागी हुँदा टाउकोमा गोली लागेर घाइते भएका थिए । राई जिल्ला प्रशासन कार्यालय संखुवासभाको अभिलेख अनुसार घाइते अपाङ्गको ‘क’ वर्गको सूचीबाट मासिक भत्ता पाउने व्यक्तिसमेत हुन् ।




















प्रतिक्रिया