Logo

प्रवास

लिबियाबाट सन्तोषको शव ल्याउन प्रक्रिया झन्झट, युरोपमा छुट्टै विवाद



गएको मंगलबार राति लिबियामा आप्रवासीको शिविरमा गरिएको आक्रमणमा मारिएका नेपाली नागरिक सन्तोष श्रेष्ठको शव नेपाल ल्याउन अझै केही समय लाग्ने भएको छ । सो घटनामा नेपालीसमेत ५३ जना आप्रवासीको मृत्यु भएको थियो ।

लिबिया मामिलासमेत हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुजन बिडारीले सोमबार बाह्रखरीसँगको कुराकानीमा शव नेपाल पठाउने प्रक्रिया लामो भएकोले केही समय लाग्ने बताए । उनले शव पठाउन सहयोगका लागि नेपाली दूतावास कायरोले इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) र अन्तरराष्ट्रिय रेडक्रसलाई अनुरोध गरेको तथा उनीहरुले सकारात्मक जवाफ दिएको जानकारी दिए ।

गत महिना जोर्डनमा बार्दली सफा गर्न जाने क्रममा एक नेपाली महिलाको मृत्यु भएकोमा अझै शव पठाउने प्रक्रिया पूरा भइनसकेको जनाउँदै उनले भने, ‘‘यसका लागि प्रक्रिया पूरा गर्न नै ढिला हुने रहेछ । तर, प्रक्रिया अगाडि बढेको छ । लिबियाको सन्दर्भमा पनि केही समय लाग्न सक्छ ।’’

लिबियामा अनेकथरी समस्या भएको जनाउँदै कार्यवाहक राजदूत बिडारीले लिबियालीहरु नै देश छोडेर बाहिर जान इच्छुक भएको र कैयौं युरोप छिर्ने क्रममा डुंगा दुर्घटनामा पनि परेको उल्लेख गरे । यो मामिला आईओएम र रेडक्रसले नै हेरिरहेकाले आफूहरुले दबाब दिने अवस्था पनि नरहेको उनले बताए ।

कार्यवाहक राजदूत बिडारीले शव नेपाल पठाउन कन्सुलरको कार्यालयका तर्फबाट सन्तोषका परिवारका सदस्यले आवेदन हालिसकेको र परिवारका सदस्य सम्पर्कमै रहेको समेत जानकारी दिए । लमजुङ जिल्लाको चिती—८ तीनपिप्ले घर भएका सन्तोष इटाली जाने क्रममा लिबियामा रोकिएको बेलामा नै गएको मंगलबार त्यहाँको विद्रोही समूहको आक्रमणमा परी मारिएका हुन् । उनी इटाली जाने भनेर सन् २०१९ को जनवरी १६ का दिन लिबिया पुगेका थिए ।

सो घटनापछि ८ जना नेपाली फर्किसकेका छन् भने शिव बीके, अर्पण अधिकारी, चित्र ओली, ललित साउद, राजकुमार बस्नेत र रमेशकुमार मिश्र समेतका ६ जना फर्कने तयारीमा छन् । कार्यवाहक राजदूत बिडारीले फर्किन लागेका ६ जनाको हकमा कुनै समस्या नभएको र उनीहरुको उडान मिलेपछि आईओएमको सहयोगमा नै फर्किने बताए । ‘‘उहाँहरुलाई आईओएमले सस्तो फ्लाइट मिलेको बेलामा पठाइदिन्छ । चिन्ता गर्नुपर्ने अवस्था छैन,’’ उनले भने ।

युरोपमा छुट्टै विवाद

बीबीसीले जनाएअनुसार माल्टाले ६५ जना आप्रवासीको समूहलाई लिबियाबाट आफ्नो भूमि हुँदै उद्धार गर्न अनुमति दिएको छ । प्रधानमन्त्री जोसेफ मस्कटले युरोपेली आयोग र जर्मन सरकारसँगको सल्लाहमा उनीहरुलाई युरोपका अन्य भागमा लगिने जनाएका छन् । यसैगरी माल्टाले अन्य ५० जना आप्रवासीको पनि उद्धार गरेको जनाएको छ ।

जर्मनीका आन्तरिक मामिला सम्बन्धी मन्त्री होस्र्ट सीहोफरले बढीमा ४० जना आप्रवासीलाई आफूले लिने जनाएका छन् । मानवीय हिसाबले बन्दरगाह खोल्न समेत उनले आफ्ना इटालीका समकक्षीलाई आग्रह गरेका छन् । तर, इटालीले भने असन्तोष प्रकट गरेको छ । इटालीले आफूले बन्दरगाह नखोल्ने जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार ०९:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।