Logo

पत्रपत्रिका

बिपी स्वास्थ्य प्रतिष्ठानका पूर्वउपकुलपति दाससहित आठविरुद्ध १६ करोडको भ्रष्टाचार मुद्दा



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपतिसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सस्तो दररेटको प्रस्तावलाई बेवास्ता गरी ठेकेदारसँग मिलेर महँगो दररेटको स्वास्थ्यसम्बन्धी सामग्री खरिद गरेको आरोपमा तत्कालीन उपकुलपति बलभद्रप्रसाद दास बिपी दास सहित आठजनाविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा १५ करोड ७७ लाखभन्दा माथिको बिगोसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उपकुलपति दाससहित अस्पतालका निर्देशक अरविन्दकुमार सिन्हा, तत्कालीन रजिस्ट्रार नन्दकुमार थापा र रजिस्ट्रार तुलबहादुर श्रेष्ठ, लेखा प्रमुख दिनेशराज दाहाल र डेपुटी मेनेजर अमित श्रीवास्तवविरुद्ध मुद्दा दायर भएको हो । उपकरण सप्लायर्स प्रोसिजन मेडिकल प्रालि र वायोमेड इन्टरनेसनल प्रालिका प्रोप्राइटर चेतन अग्रवाल र उपकरण सप्लायर्स सर्जिकेम डिस्ट्रिब्युटर्सका प्रोप्राइटर उमेश अग्रवालविरुद्धसमेत मुद्दा दायर भएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

चार करोड अनियमितता गरेको आरोप

बोलपत्रसम्बन्धी कागजमा उल्लेखित प्राविधिक स्पेसिफिकेसन र सोही कागजमा संलग्न खरिद सम्झौताका सर्तअनुरूप बोलपत्र सारभूत रूपमा प्रभावग्राही भए वा नभएको स्पष्ट खुलाउनुपर्ने व्यवस्था उल्लंघन गरी भ्रष्टाचार गरेको आयोगले जनाएको छ । न्यून रकम कबोल गर्ने कम्पनीको बोलपत्रको पर्याप्त आधार र तथ्यगत कुराको विश्लेषण नगरी बढी कबोल गर्ने कम्पनीको बोलपत्र स्वीकृति गरी चार करोड नौ लाख ९८ हजार १९ रुपैयाँ अनियमितता भएको अख्तियारको ठहर छ ।

आयोगले तत्कालीन उपकुलपति दासलाई चार करोड आठ लाख ९८ हजार १९ रुपैयाँ, तत्कालीन अस्पतालका निर्देशक सिन्हालाई तीन करोड ७५ लाख ३० हजार ६ सय १९, तत्कालीन रजिस्ट्रार थापालाई एक करोड ९६ लाख नौ हजार आठ सय ८० रुपैयाँ, रजिस्ट्रार श्रेष्ठलाई ५६ लाख ७७ हजार चार सय पाँच रुपैयाँ बिगोदाबी गरी मुद्दा दायर गरिएको छ । प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाललाई दुई करोड ३४ लाख, ८१ हजार आठ सय १९ तथा डेपुटी मेनेजर अमित श्रीवास्तवसँग एक करोड ७४ लाख १६ हजार दुई सय रुपैयाँ बिगो लिइएको छ । उनीहरूलाई बिगो असुल गरी बिगोबराबर जरिवाना र तीन वर्षसम्म कैद सजाय माग गरिएको छ ।

विशिष्ट श्रेणीका कर्मचारी भएकाले थप तीन वर्ष कैद सजाय माग

उनीहरूलाई बिगो असुलउपर गरी बिगोअनुसार जरिवाना र ६ वर्षसम्म कैद सजाय माग दाबी गरिएको छ । उनीहरू विशिष्ट श्रेणीका कर्मचारी भएकाले थप तीन वर्ष कैद सजाय हुने प्रावधान भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ अनुसारसमेत सजाय मागदाबी गरिएको छ । प्रतिष्ठानलाई उपकरण बेच्ने प्रोसिजन मेडिकल प्रालि र वायोमेड इन्टरनेसनल प्रालिका प्रोप्राइटर चेतन अग्रवालविरुद्ध एक करोड चार लाख १६ हजार सात सय ८७ रुपैयाँ बिगोदाबी लिइएको छ ।

त्यस्तै, सर्जिकेम डिस्ट्रिब्युटर्सका प्रोप्राइटर उमेश अग्रवालविरुद्ध ६० लाख ६३ हजार तीन सय ४३ रुपैयाँ बिगो दाबी गरिएको छ । उनीहरूले प्रतिष्ठानका अधिकारीलाई प्रभावमा पारी महँगो दररेटमा आफ्नो सामान बिक्री गरेका थिए । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अत्यधिक भ्रष्टाचार हुने निकायमा पर्दछ । प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियार गत बिहीबार आठ लाख घुससहित पक्राउ परेका थिए ।

 नयाँपत्रिका दैनिक बाट

प्रकाशित मिति : ३१ असार २०७६, मंगलवार ००:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।